पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. १० ले डेंगु तथा स्क्रबटाइफस नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ ।
वडाको मंगलबारे क्षेत्रमा आज सञ्चालन गरिएको अभियानमा वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य तथा वडा सदस्य मिना तामाङ, वडा सदस्य वीरबहादुर बस्नेत, अहेव अर्जना खनाल, स्वास्थ्य स्वयंसेविकाद्वय हस्तमाया सुब्बा र दृश्या बगाले तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
अभियानका क्रममा डेंगु फैलाउने लामखुट्टेको सम्भावित प्रजननस्थलको खोजी गरी पानी जम्ने स्थान तथा फोहोरमैला हटाउने कार्य गरिएको थियो । साथै, स्क्रबटाइफसको जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा सरसफाइ तथा स्वास्थ्य सचेतनासमेत प्रदान गरिएको थियो ।
समुदायस्तरमा डेंगु र स्क्रबटाइफस रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको वडाध्यक्ष खतिवडाले बताउनुभयो। उहाँले रोग नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता र नियमित सरसफाइ आवश्यक रहेको बताउँदै ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

