मोहन भट्टराई
मोरङ । बचतका थोपा–थोपा जोड्दै उनीहरूले पैसा मात्र जम्मा गरेनन्, आत्मविश्वास पनि जम्मा गरे । मोरङका विभिन्न ठाउँमा सहकारीको नेतृत्व गरिरहेका महिलाको यात्रा हेर्दा त्यो आत्मविश्वास विस्तारै संस्थागत जिम्मेवारीमा बदलिएको देखिन्छ ।
घर, परिवार र समाजको जिम्मेवारीसँगै अघि बढेका उनीहरू अहिले निर्णय गर्ने तहमा छन् । उसबेला कसैको हातमा पासबुक थियो, कसैको हातमा घरको जिम्मेवारी । आज उनीहरूकै हातमा सहकारीको नेतृत्व छ । तर, केही दशकअघिसम्म महिलाले घरको चौघेरो नाघेर सार्वजनिक क्षेत्रमा आफ्नो उपस्थिति देखाउनु नै ठूलो चुनौती थियो ।
यही परिवेशमा गाउँ–टोलमा खुलेका महिला बचत तथा ऋण सहकारीहरूले महिलालाई सानो रकम बचत गर्ने बानी बसाल्ने ठाउँ मात्र दिएनन्, उनीहरूलाई बोल्न, बैठकमा बस्न, निर्णय गर्न, ऋण लिन, व्यवसाय सुरु गर्न र अन्ततः नेतृत्व गर्न सिकाए । सहकारीको यही यात्राले धेरै महिलालाई घरको चौघेराबाट समुदायको नेतृत्वसम्म ल्याएको छ ।
मोरङमा अहिले महिलाको नेतृत्वमा सञ्चालित करिब ३५ देखि ४० वटा सहकारी सफलतापूर्वक चलिरहेका छन् । तर महिला र पुरुष दुवै शेयर सदस्य भएका ठूला तथा मिश्रित प्रकृतिका सहकारीमा महिला अध्यक्ष हुने अवस्था अझै दुर्लभ छ ।
नेतृत्वमा इच्छाशक्ति, सहकारीमा उत्साहः विन्दु राई
पथरीशनिश्चरेस्थित उत्साही साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष विन्दु राई हुन् । विन्दु महिला नेतृत्वको सम्भावनाको एउटा उदाहरण हो । करिब एक हजार नौ सय शेयर सदस्य रहेको संस्थाको अध्यक्षका रूपमा उनी दोस्रो कार्यकाल सम्हालिरहेकी छन् । यसअघि उनी कार्यसमितिमा थिइन् भने लेखा समितिको सदस्यका रूपमा पनि काम गरिसकेकी थिइन् । दुवै कार्यकालमा उनी सर्वसम्मत रूपमा अध्यक्ष चुनिइन् ।
राईका लागि नेतृत्वको सबैभन्दा ठूलो चुनौती घर र सार्वजनिक जिम्मेवारीबीचको सन्तुलन हो । ‘घरको सबै कुरा भ्याएर हिँड्नुपर्ने हुन्छ’– उनी भन्छिन् । उनका अनुसार महिलाले घरका सबै काम पूरा गरेर मात्र बाहिर निस्कनुपर्ने अवस्था अझै छ । तर नेतृत्वमा आउन सबैभन्दा पहिले इच्छाशक्ति आवश्यक पर्छ । ‘महिलाहरूको इच्छाशक्ति अलिकति कमजोर छ’– उनी भन्छिन् ‘तर चाहने हो भने महिला अध्यक्ष बन्न नसक्ने कुनै कारण छैन ।’
घरको चौघेराबाट सहकारीको अध्यक्षसम्मः चन्द्रकला खनाल
रातुवामाई–४ की चन्द्रकला खनालको सहकारी यात्रा अझ फरक छ । उनको सामाजिक नेतृत्व कुनै योजनाबद्ध राजनीतिक वा संस्थागत यात्राबाट सुरु भएको थिएन । घरपरिवार, छोराछोरी, खेतीपाती र गाईवस्तुको जिम्मेवारी सम्हाल्दै आएकी खनाल समयसँगै सामाजिक क्षेत्रमा जोडिइन् ।
घरका जिम्मेवारीहरू घट्दै गएपछि उनलाई ‘अब बाँकी समय समाजका लागि पनि दिनुपर्छ’ भन्ने लाग्यो । त्यही सोचले उनलाई सहकारी हुँदै विभिन्न सामाजिक संस्थामा पु¥यायो । उन्नति महिला साकोसमा उनी सुरुमा सदस्य बनिन् । एक कार्यकाल सदस्य र दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिले अध्यक्षको पहिलो कार्यकालमा छिन् । सहकारीसँगै उनी विश्वनाथ मन्दिर समितिको सञ्चालक र राधाकृष्ण मन्दिरको कोषाध्यक्षको भूमिकामा समेत सक्रिय छिन् ।
पहिले मानिसहरूसँग प्रत्यक्ष भेटेर दुई–चार शब्द बोल्नसमेत मुश्किल हुन्थ्यो । तर निरन्तर बाहिर निस्किँदै जाँदा उनको आत्मविश्वास बढ्दै गयो । ‘पहिले त मानिसहरूसँग फेस–टु–फेस दुई–चार शब्द बोल्ने कुरा पनि थिएन’– उनी भन्छिन् ‘अलिअलि बाहिर निस्किँदै जाँदा सक्षम भइयो । नभए घरपरिवार, गाईवस्तु, खेतीपातीले नै जेलेको थियो ।’
उनका अनुसार महिलाले नेतृत्व लिन खोज्दा समाजमा प्रश्न उठ्ने, आलोचना हुने वा उनीहरूको कामलाई पुरुषको तुलनामा फरक ढंगले हेर्ने प्रवृत्ति अझै बाँकी छ । पुरुषले गरेको काम र महिलाले गरेको कामलाई समान दृष्टिले हेर्न नसक्ने सामाजिक सोचले महिला नेतृत्वलाई थप कठिन बनाउने गरेको उनी बताउँछिन् ।
उनी अरू महिलालाई पनि सामाजिक क्षेत्रमा आउन आग्रह गर्छिन् । ‘आउनुहोस्, गर्नुहोस् । ओतमा बसेर हेर्नुहोस्’– उनी भन्छिन् ‘हामीले पनि सामाजिक बन्नुपर्छ । धेरै कुरा सिकिन्छ, जानिन्छ, बुझिन्छ ।’
‘खुट्टा तान्ने होइन, महिलाको हात समातेर अगाडि बढाऔः दुर्गा सुबेदी दंगाल
सडकमा कुनै महिलाले आत्मविश्वासका साथ टेम्पो गुडाउँदै गरेको देख्दा धेरैको नजर सामान्य हुनसक्छ, तर पथरी शनिश्चरेकी दुर्गा सुवेदीको मन भने खुसीले गद्गद् हुन्छ । उनी त्यो टेम्पो ओझेल नपरुन्जेल हेरिरहन्छिन् । ‘एउटा महिलाले टेम्पो चलाएर हिँडेको देख्दा पनि मलाई असाध्यै गर्व लाग्छ, मन खुसी हुन्छ’– उनी भन्छिन् ‘महिलाहरू उच्च पदमा पुगेको, आत्मनिर्भर बनेको र नेतृत्व सम्हालेको हेर्न हामी सबै लालायित हुनुपर्छ । महिलाले महिलाको खुट्टा तान्ने होइन, हात समातेर अगाडि बढाउने संस्कार बसाल्नुपर्छ ।’
दुर्गा केवल विचारमा मात्र होइन, व्यवहारमै महिला सशक्तीकरण र सामाजिक रूपान्तरणको पर्याय बनेकी छिन् । पूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा जन्मी–हुर्किएकी दुर्गाले विगत दुई दशकभन्दा बढी समयदेखि सहकारी, शिक्षा, राजनीति र समाजसेवाको क्षेत्रमा आफूलाई अविचलित रूपमा समर्पित गर्दै आएकी छिन् ।
आजभन्दा २२ वर्षअघि पथरी क्षेत्रका सचेत महिलाहरू संगठित भएर एउटा वित्तीय संस्थाको परिकल्पना गरे, जसको नाम राखियो ‘अष्टलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था’ । सुरुआतका १८ वर्षसम्म निरन्तर संस्थाको सचिव पदमा रहेर संस्थाको जग बलियो बनाउने काम दुर्गाले गरिन् भने विगत ४ वर्षदेखि उनी संस्थाको अध्यक्षको रूपमा नेतृत्व सम्हालिरहेकी छिन् ।
भाडाको सानो कोठाबाट सुरु भएको अष्टलक्ष्मी साकोसले २०६२ सालमै पथरी बजारको मुटुमा साढे १६ धुर जग्गा खरिद गरी दुई तले पक्की भवन निर्माण ग¥यो । आफ्नै भवनबाट आधुनिक सेवा दिइरहेको यस सहकारीमा हाल २ हजार १ सय ३१ जना महिला शेयर सदस्य आबद्ध छन् । संस्था पूर्ण रूपमा महिलाहरूद्वारा नै सञ्चालित छ ।
सहकारी क्षेत्रमा पछिल्लो समय राज्यले ल्याएका कतिपय नीतिगत फेरबदल र अव्यवहारिक प्रावधानले काम गर्न निकै कठिन बनाएको अनुभव सुवेदीको छ । सरकार फेरिएपिच्छे नीति फेरिने र व्यवहारिक कठिनाइलाई नबुझी एकपक्षीय रूपमा कडा प्रावधानहरू लादिने गरेको उनको गुनासो छ । ‘पहिले सहकारीको चिटिक्क परेको आफ्नै भवन हुनुपर्छ भन्ने अवधारणा ल्याइयो । हामीले पनि ऋण लगानी गर्ने पैसा बचाएर आफ्नै भवन बनायौँ । तर अहिले आएर सहकारीले घरजग्गा र भवन बनाउनु हुँदैन भन्ने नीति आयो’– उनी नीतिगत विरोधाभास औँल्याउँछिन् ।
सहकारी बाहेक दुर्गा सुवेदी पथरी बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्य, आफ्नै न्यू प्यागोडा माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष, दंगाल वंश उत्थान समिति तथा नेकपा एमाले मोरङ जिल्ला कमिटीको दोस्रो कार्यकालको सदस्यका रूपमा सक्रिय छिन् ।
गत स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे नगरपालिकाको उपमेयर पदका लागि पार्टीबाट सिफारिस हुने प्रमुख आकांक्षीहरूमध्ये उनी दोस्रो नम्बरमा थिइन् । तर, पार्टीले अग्रज नेतृ देवीमाया काफ्लेलाई टिकट दिएपछि उनले कुनै असन्तुष्टि जनाइनन् । बरु निष्ठावान् सिपाही बनेर १० वटै वडामा खटिएर देवीमायालाई जिताउन अहोरात्र लागिन् । ‘म यही माटोमा जन्मेकी, यहीँ हुर्किएकी र यहीँका मानिसहरूको दुःख–सुख बुझेकी मान्छे हुँ । भोलिका दिनमा समुदाय र पार्टीले विश्वास गरेर अवसर दियो भने राजनीति मार्फत पनि यस क्षेत्रको समग्र विकास र महिला सशक्तीकरणमा अझ बृहत योगदान दिने मेरो भित्री चाहना छ’– उनी आफ्नो राजनीतिक सोच व्यक्त गर्छिन् ।
बचतदेखि सामाजिक सशक्तीकरणसम्मः गोमा नेपाल
मोरङको उर्लाबारीस्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष गोमा नेपाल हुन् ।
२०६३ सालमा स्थापना भएको नारी संकल्प सहकारीमा हाल ३ हजार ६ सय १२ शेयर सदस्य छन् । संस्थाको सुरुवातदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी नेपाल अहिले पहिलो कार्यकालको अध्यक्षको जिम्मेवारी पूरा गर्ने चरणमा छिन् । उनले लेखा संयोजक, सचिव र उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेकी हुन् । जिल्लाको बचत संघमा सञ्चालक, उपाध्यक्ष तथा लेखा संयोजकको जिम्मेवारीसमेत सम्हालेकी नेपाल नेफ्स्कूनको सञ्चालक समितिमा दुई कार्यकाल रहिसकेकी छन् ।
महिलाले नेतृत्व गरेको सहकारीमा काम गर्नु व्यक्तिगत र संस्थागत दुवै हिसाबले चुनौतीपूर्ण भए पनि यसले महिलालाई नेतृत्वको अभ्यास गर्ने अवसर दिएको नेपालको अनुभव छ । घरपरिवार, छोराछोरी र अन्य जिम्मेवारी सम्हाल्दै सहकारीको नेतृत्वमा लाग्नुपर्ने भएकाले महिलाका लागि चुनौती रहेको उनी बताउँछिन् । तर यही चुनौतीबीच सहकारी महिलाको नेतृत्व विकासको महत्वपूर्ण ‘फोरम’ बनेको उनको बुझाइ छ । स्थानीय तहदेखि प्रदेश र संघीय राजनीतिसम्म नेतृत्व गर्न चाहने महिलाका लागि सहकारी एउटा खुड्किलो बन्न सक्ने उनको भनाइ छ ।
तर मोरङमा महिलाले नेतृत्व गरेका सहकारीको संख्या अझै कम रहेको उनी स्वीकार्छिन् । यसको एउटा कारण महिलाहरू आफैँ नेतृत्व लिन अघि सर्न हिच्किचाउने अवस्था रहेको उनको अनुभव छ । अर्कोतर्फ, समुदायमा अझै पनि महिलाले धेरै जिम्मेवारी सम्हाल्न नसक्ने भन्ने धारणा पाइने र पुरुषबीच नेतृत्वका लागि हुने प्रतिस्पर्धाका कारण पनि महिलाहरू पछाडि पर्ने गरेको उनी बताउँछिन् । ‘सक्षम हुँदाहुँदै पनि डोमिनेट गर्ने, ‘के गर्छन् र तिनीहरू, यताउता भ्याउँदैनन्’ भनिदिन्छ समुदायले’– नेपाल भन्छिन् । यद्यपि पछिल्लो समय सदस्य हुँदै पदाधिकारी र त्यसपछि अध्यक्षसम्म पुग्ने महिलाको चाहना बढ्दै गएको उनको अनुभव छ ।
मिश्रित सहकारीमा भने महिलाको निर्णय प्रक्रियामा सहभागिता अझै प्रभावकारी बन्न नसकेको उनको बुझाइ छ । महिला र पुरुषको संयुक्त सहभागिताले कामको परिणाम राम्रो ल्याउन सक्ने भए पनि अवसर र निर्णय प्रक्रियामा पुरुषको प्रभाव तुलनात्मक रूपमा बढी हुने गरेको उनी बताउँछिन् ।
सहकारीले महिलाहरूलाई केवल आर्थिक रूपमा मात्र होइन, सामाजिक र राजनीतिक नेतृत्वका लागि समेत अब्बल बनाएको छ । गोमा नेपाल सहकारीलाई महिला नेतृत्व विकासको ‘मजबुत खुड्किलो’ मान्छिन् । ‘सहकारीमा बसेर काम गर्दा महिलाहरूको पब्लिक रिलेसन र चिनजानको दायरा निकै फराकिलो हुन्छ । संस्था सञ्चालन गर्दा बोल्ने कला, व्यवस्थापकीय सीप र निर्णय क्षमताको विकास हुन्छ । त्यहीँबाट खारिएका महिलाहरू पछि स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा समेत प्रभावकारी नेतृत्व दिन सफल भएका छन्’– नेपाल भन्छिन् ।
तल्लो तहदेखि खारिँदै नेतृत्वसम्मको यात्राः कमला योञ्जन
कानेपोखरीकी कमला योञ्जनको यात्रा पनि सहकारी, आदिवासी जनजाति आन्दोलन र सामाजिक अभियानसँग जोडिएको छ ।
सहकारी क्षेत्रमा कमला योञ्जनको यात्रा एकाएक शिखरमा पुगेको होइन । उनी संस्थाको तल्लो तहदेखि क्रमशः अनुभव बटुल्दै नेतृत्वमा पुगेकी नेतृ हुन् । बयरवन महिला साकोसमा सुरुमा एक कार्यकाल ऋण उपसमिति सदस्य भएर काम गरेकी उनले त्यसपछि लगातार तीन कार्यकाल (झण्डै १२ वर्ष) कुशलतापूर्वक कोषाध्यक्षको जिम्मेवारी सम्हालिन् । त्यसपछि २०८१ सालदेखि उनी संस्थाको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएर हाल तेस्रो वर्षमा सफलतापूर्वक नेतृत्व गरिरहेकी छिन् ।
त्यसअघि उनले दिगोपन महिला सहकारीमा तीन कार्यकाल अध्यक्ष भएर सफल नेतृत्व प्रदान गरिसकेकी थिइन् भने रमाइलो जनएकता सहकारीको शिक्षा उपसमितिमा समेत रहेर काम गरिन् । सहकारीका अतिरिक्त उनी हाल नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरी गाउँ समन्वय परिषद्को सचिव पदमा रहेर जातीय तथा सामाजिक अधिकारको आन्दोलनमा समेत सक्रिय छिन् ।
उनका अनुसार पुरुषप्रधान समाजले महिलालाई ३३ प्रतिशत अधिकार दिने सवालमा समेत अझै पनि कन्जुस्याइँ गर्ने र ‘तिमीहरूले सक्दैनौ, जान्दैनौ, भ्याउँदैनौ’ भन्दै पर्दा पछाडिबाट दबाउन खोज्ने प्रवृत्ति कायमै छ । ‘तर हामीले आफ्नो कर्तव्य र क्षमता निरन्तर देखाउँदै गएपछि बिस्तारै त्यो विभेदपूर्ण वातावरण हट्दै जाँदो रहेछ’– उनी सुनाउँछिन् ।
बयरवन महिला साकोसको अध्यक्षको जिम्मेवारी सम्हालेपछि कमलाले संस्थालाई परम्परागत ढड्डा प्रणालीबाट आधुनिक प्रविधिमैत्री बनाउन विशेष जोड दिएकी छिन् । संस्थामा कम्प्युटर, ल्यापटप तथा आधुनिक सफ्टवेयर जडान गरी कर्मचारीहरूलाई जिल्ला र केन्द्रस्तरका क्षमता विकास तालिमहरूमा अनिवार्य सहभागी गराइएको छ ।
‘मेरो कार्यकाल सकिएपछि संस्थालाई चलाउने नयाँ पुस्ता पहिल्यै तयार हुनुपर्छ । म नै सबैथोक हुँ भनेर कुर्सीमा टाँसिएर बस्नुहुँदैन’– कमला प्रष्ट पार्छिन् ‘हाम्रो पालामा जसोतसो पढियो, तर अबको पुस्ता प्रविधिमा दक्ष र पढेलेखेको हुनुपर्छ । त्यसैले हामीले अहिलेदेखि नै युवा पुस्ताका नयाँ दिदीबहिनीहरूलाई अगाडि सारेर नेतृत्वका लागि तयार पारिरहेका छौँ ।’
बयरवन महिला साकोस केवल बचत र ऋण कारोबार गर्ने वित्तीय संस्था मात्र होइन, स्थानीय समुदायको सुख–दुःखको साथी पनि हो । संस्थाले समाजमा महिलामाथि हुने घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरूमा प्रत्यक्ष हस्तक्षेप गरी पीडित महिलाको पक्षमा कानुनी र सामाजिक वकालत गर्ने काम समेत गर्दै आएको छ । ‘जहाँ–जहाँ महिला दिदीबहिनीहरूमाथि अन्याय र हिंसा भएको हुन्छ, त्यहाँ हाम्रो सहकारीको टिम पुगेर उनीहरूको पक्षमा बोलिदिने, सम्झाउने र न्याय दिलाउने काम गर्छौँ’– उनी गर्वका साथ सुनाउँछिन् ।
‘घर–परिवार र थरथर काम्ने डरलाई जितेर नेतृत्वमा पुगेका छौः मिना कार्की
मोरङको उत्तरी पहाडी तथा चुरे क्षेत्रमा अवस्थित मिक्लाजुङ गाउँपालिका–३ टाँडी स्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लि. की अध्यक्ष मिना कार्की हुन् । चुरेको फेदीमा रहेका पिछडिएका, विपन्न र सामान्य घरायसी काममा अल्झिएका महिलाहरूलाई संगठित गरी वित्तीय पहुँच, सीप विकास र नेतृत्वको अग्रपंक्तिमा उभ्याउने अभियानमा मिनाले लामो समयदेखि अविचलित योगदान पु¥याउँदै आएकी छिन् ।
आजभन्दा करिब डेढ दशकअघि उत्तरी मोरङको पहाडी र दुर्गम भेगका महिलाहरूको जीवन निकै कष्टकर थियो । आर्थिक परनिर्भरता, सामाजिक पछौटेपन र चुलोचौकोको सीमितताबाट महिलाहरूलाई बाहिर निकाल्न २०६४ सालतिर चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लि. विधिवत् रूपमा दर्ता भई सञ्चालनमा आएको संस्था हो ।
यही संस्थाको जगबाट मिना कार्कीको सामाजिक यात्रा सुरु भयो । सुरुवाती दिनमा २–३ कार्यकाल निरन्तर संस्थाको कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हालेकी मिना हाल दोस्रो कार्यकालका लागि संस्थाको अध्यक्ष पदमा निर्वाचित भएर सफलतापूर्वक नेतृत्व गरिरहेकी छिन् । यसका साथै उनी मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ (जिल्ला संघ) को सञ्चालक सदस्य र स्थानीय कालिका सामुदायिक विद्यालयको शिक्षक–अभिभावक संघमा समेत रहेर सामाजिक क्षेत्रमा सक्रिय छिन् ।
महिलालाई राज्य र कानुनले जतिसुकै अधिकार दिए पनि व्यवहारमा पुरुषप्रधान सोच अझै बाधक बनिरहेको कार्कीको गहिरो अनुभव छ । ‘महिलाहरू आफैँमा आत्मनिर्भर र सक्षम नभएसम्म पुरुषहरूले सजिलै नेतृत्व सुम्पिँदैनन् । त्यसैले महिला दिदीबहिनीहरू आफैँ अघि सरेर प्रतिस्पर्धा गर्न सक्नुपर्छ’– कार्कीको दृढ भनाइ छ ।
‘जतिसुकै महिलालाई ५० वा ५१ प्रतिशत अधिकार दिनुपर्छ, महिलाले अवसर पाउनुपर्छ भनेर भाषण गरिए पनि व्यवहारमा पुरुष सरह हुन अझै निकै गाह्रो छ’– उनी भन्छिन्, ‘पुरुषहरूलाई घर छाडेर सामाजिक काममा हिँड्न जति सहज हुन्छ, महिलालाई त्यसको तुलनामा निकै चुनौतीपूर्ण छ । महिलाले बिहान–बेलुकाको घरधन्दा, परिवार र छोराछोरीको जिम्मेवारी पूरा गरेर मात्र बाहिर निस्कनुपर्छ ।’
सहकारी स्थापना हुनुभन्दा अघिको मिक्लाजुङका महिलाहरूको अवस्था र आजको अवस्थाबीच तुलना गर्दा ‘आकाश–पातालको फरक’ आएको कार्की बताउँछिन् । ‘हिजो घरको ढोकाबाट बाहिर निस्कन डराउने, आफ्नो नाम भन्न लजाउने र दुईजना मान्छे देख्दा थरथर काम्ने महिलाहरू आज आफ्ना अधिकारका कुरा निर्धक्क राख्न सक्ने भएका छन्’– उनी भन्छिन्, ‘उनीहरू सहकारीको बैठक, साधारणसभा, विद्यालयका भेला र गाउँका सामाजिक कार्यक्रमहरूमा अगाडि बसेर आफ्ना विचार राख्छन् । योभन्दा ठूलो परिवर्तन गाउँका लागि अरू के हुनसक्छ ?’
‘आफूले चाहे कसैको अवरोधले छेक्दैनः राममाया तामाङ
राममाया तामाङ, कोशी प्रदेशको राजधानी तथा औद्योगिक नगरी विराटनगरस्थित समृद्धि महिला बचत तथा ऋण सहकारी संस्था लि. की अध्यक्ष हुन् । उनी विराटनगर महानगरपालिकाका विभिन्न वडाहरूमा छरिएर रहेका गृहिणी, न्यून आय भएका तथा साना व्यवसायी महिलाहरूलाई संगठित गरी आर्थिक स्वावलम्बनको बाटोमा डो¥याइ रहेकी छन् ।
सहरी विपन्न वर्ग र महिलाहरूको उत्थानका लागि काम गर्ने गैरसरकारी संस्था ‘लुमन्ती’ को सामुदायिक परिचालन अभियानबाट राममाया तामाङको सामाजिक जीवनले नयाँ मोड लिएको थियो । सुरुवाती दिनमा लुमन्ती संस्थाका सहजकर्ताहरू बस्तीमा आएर महिलाहरूलाई समूहमा आबद्ध गराउने, सानो–सानो बचत गर्न सिकाउने र आफ्ना समस्या समाधानका लागि आफैँ संगठित हुनुपर्छ भन्ने चेतना जगाउने काम गरेका थिए । ‘हामीलाई सबैभन्दा पहिले समूहमा बस्न र बचत गर्न लुमन्तीले नै सिकायो । उहाँहरूले दिएको प्रेरणा र सिकाएकै जगमा उभिएर हामी महिलाहरूले आफ्नै सहकारी संस्था जन्मायौँ’– राममाया विगत सम्झिन्छिन् ।
संस्थाको स्थापनापछि राममाया एकाएक अध्यक्ष बनेकी होइनन् । उनले संस्थागत नेतृत्वको हरेक खुड्किलो पार गरेकी छिन् । सुरुमा साधारण सदस्य हुँदै सञ्चालक समिति सदस्य, त्यसपछि उपाध्यक्ष र अन्ततः आफ्नै कार्यकुशलता र सदस्यहरूको विश्वासका आधारमा उनी अध्यक्षको जिम्मेवारीमा पुगिन् । हाल उनी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा रहेर संस्थाको कुशल नेतृत्व गरिरहेकी छिन्, जसको कार्यकाल आगामी वर्ष पूरा हुँदैछ ।
राममायाका अनुसार महिलाहरूले बाहिर निस्किएर काम गर्दा सबैभन्दा ठूलो चुनौती पारिवारिक व्यवस्थापन र समाजको दृष्टिकोण नै हुने गर्छ । ‘पुरुषहरूलाई बाहिर निस्कन र निर्णय लिन जति सजिलो छ, महिलालाई त्यति सहज छैन । महिलाले घरको सम्पूर्ण जिम्मेवारी सम्हालेर मात्र बाहिरको काम गर्नुपर्छ’– उनी भन्छिन्, ‘त्यसमाथि राजनीतिको गति र परिवेश पनि महिलामैत्री छैन । तर, यदि महिला आफैँमा इच्छाशक्ति छ र परिवारले पूर्ण साथ दिन्छ भने महिलाहरूले पनि पुरुष सरह नै अब्बल नेतृत्व दिन सक्छन् ।’
सहकारीको नेतृत्वमा आउन चाहने नयाँ पुस्ताका युवा तथा महिलाहरूलाई अध्यक्ष राममायाको सटिक र प्रेरणादायी सन्देश छ ः ‘सबैभन्दा पहिले आफ्नो भित्री इच्छाशक्ति हुनुपर्छ । अरूले धकेलेर वा करकापले कोही पनि असल नेता बन्न सक्दैन ।’
संस्थाले महिला सदस्यहरूलाई लक्षित गरी निःशुल्क महिला स्वास्थ्य तथा पाठेघर (गाइनो) सम्बन्धी विशेष स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको छ । त्यस्तै, ज्येष्ठ नागरिक तथा बालबालिकालाई लक्षित गरी आँखा जाँच शिविर र निःशुल्क औषधि वितरण जस्ता कार्यक्रमहरू पनि सम्पन्न गरिसकेको छ । यस्ता सामाजिक र स्वास्थ्यमूलक कार्यक्रमहरूले समुदायमा सहकारीको औचित्य र महत्वलाई थप स्थापित गराएको छ ।
‘पहिल्यै जानेर कोही जन्मि“दैन, आ“ट गरेर काम गर्दै सिक्ने होः रेवती मगर
चारैतिर हरियाली डाँडाकाँडा, पर्यटकीय गन्तव्य राजारानी तालको काख र चुरे पहाडको फेदीमा अवस्थित लेटाङको भोगटेनी क्षेत्रमा महिलाहरूलाई संगठित गर्दै वित्तीय पहुँच, सामुदायिक वन संरक्षण र ग्रामीण पर्यटन (होमस्टे) मार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन रेवती मगरले लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन् । उनी भोगटेनी महिला बचत तथा ऋण सहकारी संस्था लि. की अध्यक्ष हुन् ।
भोगटेनी महिला साकोसको स्थापनाकालमै उनी पहिलो कोषाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनले संस्थाको सचिवको जिम्मेवारी सम्हालिन् । संस्थालाई कर्मचारीको खाँचो पर्दा उनले केही समय व्यवस्थापक बनेर समेत वित्तीय हिसाबकिताब र दैनिक प्रशासनिक काम आफैँ सञ्चालन गरिन् । व्यवस्थापकीय जिम्मेवारीपछि उनी संस्थाको लेखा सुपरीवेक्षण समितिमा पुगिन् र अन्ततः आफ्नै निरन्तरको योगदान, निष्ठा र अनुभवको जगमा हाल उनी संस्थाको अध्यक्ष पदमा निर्वाचित भएर कुशलतापूर्वक संस्था हाँकिरहेकी छिन् ।
संस्थाको हरेक पदमा काम गरेको अनुभवबारे उनी ठट्यौली शैलीमा भन्छिन् –‘सुरुमा कोषाध्यक्ष भएँ, सचिव भएँ, व्यवस्थापक भएर पनि चलाएँ, लेखा समितिमा बसेँ र अहिले अध्यक्ष भएँ । धेरै बढुवा भइयो, अब त अवकाश पाउने बेला पो हुन लाग्यो !’ तर उनको यो अभिव्यक्तिभित्र संस्थालाई जगदेखि बुझेको एउटा परिपक्व नेतृत्वको आत्मविश्वास झल्किन्छ । ग्रामीण र पहाडी भूगोलमा सहकारी चलाउनु सहर–बजारको जस्तो सहज छैन । भोगटेनी महिला साकोसले सुरुवाती दिनहरूमा पहाडी ग्रामीण विकास संस्था (हर्डन) र प्लान नेपालको सहयोगमा गाउँ–गाउँमा महिला समूह गठन, बीउबिजन वितरण र किशोरी शिक्षा जस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको थियो ।
धेरै महिलाहरू परिवारको असहयोगका कारण घरभित्रै खुम्चिन बाध्य भइरहेको परिवेशमा रेवतीलाई भने आफ्नै परिवारको दरिलो साथ मिल्यो । मगर समुदायको खुला परिवेश र परिवारको सकारात्मक सोचले गर्दा उनलाई सामाजिक क्षेत्रमा काम गर्न सहज भयो । ‘हाम्रो समाजमा महिलालाई घरभित्रै मात्र थुनेर राख्नुपर्छ भन्ने संकीर्ण सोच छैन । मेरै घरको मान्छेले ‘छोरीमान्छेले पनि बाहिर निस्केर केही गर्नुपर्छ, ल गर न त’ भनेर सधैँ हौसला र प्रेरणा दिनुभयो’– उनी भन्छिन् ‘परिवारको यही विश्वास र समर्थनले गर्दा नै म आज सहकारी, सामुदायिक वन र होमस्टे जस्ता सामाजिक क्षेत्रमा निर्धक्क भएर काम गर्न सकेकी हुँ ।’
रेवतीको सक्रियता केवल सहकारीको वित्तीय कारोबारमा मात्र सीमित छैन । लेटाङको चर्चित प्राकृतिक तथा पर्यटकीय स्थल राजारानी क्षेत्रको संरक्षण र विकासमा पनि उनको उत्तिकै सक्रिय सहभागिता छ । उनी स्थानीय राजारानी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचित सचिवका रूपमा क्रियाशील छिन् । यसका साथै, ‘राजारानी होमस्टे’ सञ्चालन समितिको उनी संयोजक हुन् ।
सहकारी र सामाजिक नेतृत्वमा आउन नयाँ पुस्ताका युवती तथा महिलाहरूलाई रेवती आग्रह गर्छिन् । ‘हामीपछिको नयाँ पुस्तालाई हामीले अहिलेदेखि नै नेतृत्वका लागि तयार पार्नुपर्छ । कोही पनि मान्छे जन्मँदै जान्ने भएर आउँदैन । जे काम पनि सिक्दै जाने हो’– उनी भन्छिन्, ‘नयाँ पुस्ताका महिलाहरू अझ बढी पढेलेखेका र प्रविधि बुझेका छन् । उनीहरूले दृढ आत्मविश्वास र इमानदारीका साथ सामाजिक क्षेत्रमा पाइला टेक्न जरुरी छ ।’
उनी थप्छिन् –‘महिलाहरू हरेक क्षेत्रमा पुरुष सोसरह प्रतिस्पर्धामा उत्रिन सक्नुपर्छ । सहकारी मात्र होइन, भोलि यो देश हाँक्नका लागि पनि महिलाहरू सक्षम हुनुपर्छ र त्यसका लागि आजैदेखि गाउँ, समाज र संस्थाको नेतृत्वमा अगाडि सर्नुपर्छ ।’
‘पुरुष बिहान चिया खाएर निस्किए हुन्छ, महिलाले घर सम्हालेर मात्र निस्कनुपर्छः सावित्रा चापागाईं
करिव २ हजार महिला सदस्यहरूलाई एउटै वित्तीय छातामुनि गोलबद्ध गरेर कुशल नेतृत्व दिइरहेकी सावित्रा चापागाईं स्थानीय तहमा एक निडर, निष्ठावान् र अनुभवी महिला नेतृका रूपमा परिचित छिन् । चापागाई उक्त संस्था केराबारी नारी विकास सहकारीकी अध्यक्ष हुन् ।
सहकारी क्षेत्रमा सावित्रा चापागाईंको यात्रा आजभन्दा करिब डेढ दशकअघि सुरु भएको थियो । उनी संस्थाको स्थापनाकालतिर एक साधारण शेयर सदस्यका रूपमा नारी विकासमा जोडिएकी थिइन् । त्यसताका अहिलेको जस्तो ऐन–नियमको कडाइ थिएन । संस्थालाई अगाडि बढाउने इमानदार र सक्षम नेतृत्वको खोजी भइरहेका बेला सदस्यहरूको व्यापक समर्थनमा उनी सुरुमै अध्यक्षको जिम्मेवारीमा पुगिन् । ‘अहिलेभन्दा करिब १५–१६ वर्षअघि म पहिलोपटक संस्थाको अध्यक्ष बनेकी थिएँ’– सावित्रा विगत सम्झिन्छिन्, ‘त्यसपछि बीचमा मनिषा घिमिरे ढकाल दिदी लगातार तीन कार्यकाल अध्यक्ष हुनुभयो । उहाँको कार्यकाल सकिएपछि पुनः सदस्यहरूको विश्वास र आग्रहमा म दोस्रोपटक अध्यक्षको जिम्मेवारीमा आएँ ।’
सहकारीका अतिरिक्त उनी लामो समयदेखि गाउँमा महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा समेत अहोरात्र खटिँदै आएकी छिन् । उनी भन्छिन् –‘हाम्रो देशको राज्य संयन्त्रमै महिलालाई प्रमुख नेतृत्व दिन हिचकिचाउने सोच व्याप्त छ । स्थानीय तहको चुनाव हेर्नुहोस् न, पालिकाको प्रमुखमा पुरुष र उपप्रमुखमा महिला, वडामा अध्यक्ष पुरुष र सदस्यमा महिला बनाइन्छ । मिश्रित सहकारीहरूमा पनि त्यही प्रवृत्ति दोहोरिएको छ । अध्यक्ष जहिले पनि पुरुष र उपाध्यक्ष मात्र महिला बनाइन्छ ।’
महिलाहरू नेतृत्वमा आउन नसक्नुमा महिलाको अक्षमता नभई घरायसी जिम्मेवारीको असमान बाँडफाँड मुख्य कारण रहेको उनको बुझाइ छ । ‘महिलाहरू पारिवारिक र व्यवहारिक रूपमा बाँधिएका हुन्छन् । पुरुषहरू जस्तो फुर्सदिलो भएर जतिबेला पनि बाहिर निस्कन महिलालाई सजिलो छैन’– उनी भन्छिन् ।
सहकारी र सामाजिक नेतृत्वमा आउन चाहने नयाँ पुस्ताका महिलाहरूलाई उनको सुझाव छः ‘नयाँ पुस्ताका बहिनीहरूले घरव्यवहारलाई पनि सन्तुलनमा राख्दै, समयको कुशल व्यवस्थापन गरेर सामाजिक क्षेत्रमा पाइला चाल्नुपर्छ । पछाडि बसेर गुनासो गर्नुभन्दा अगाडि सरेर जिम्मेवारी लिनुपर्छ ।’
‘क्षमता भएपछि पछि हट्नुहु“दैनः उमा घिमिरे
ग्रामीण तथा अर्ध सहरी परिवेशमा हुर्किएकी उमा घिमिरे मोरङको ग्रामथान गाउँपालिकास्थित रेमिट बचत तथा ऋण सहकारी संस्था लि. की अध्यक्ष हुन् ।
महिला र पुरुष दुवै शेयर सदस्य भएका ‘मिश्रित सहकारी’ हरूमा महिला अध्यक्ष हुनु त परको कुरा, सञ्चालक समितिमा समेत महिलालाई ३३ प्रतिशतभन्दा माथि स्थान दिन पुरुषहरू हिचकिचाउने गर्छन् । तर, ग्रामथानको रेमिट साकोसले भने यो परम्परागत भाष्यलाई पूर्ण रूपमा भत्काइदिएको छ । संस्थामा महिला र पुरुष दुवै सदस्य भए पनि सञ्चालक समितिमा सबै महिलाहरू नै निर्वाचित भएका छन् र दैनिक कार्यसम्पादन गर्ने व्यवस्थापक पदमा पनि महिला कर्मचारी नै कार्यरत छिन् । ‘मिश्रित संस्था भए पनि हाम्रा पुरुष शेयर सदस्य दाजुभाइहरूले समेत महिलाहरूको कार्यकुशलता र इमानदारीमाथि पूर्ण विश्वास गरेर हामीलाई नै नेतृत्वको जिम्मा दिनुभएको हो’– अध्यक्ष घिमिरे भन्छिन्, ‘हामीले उहाँहरूको त्यो विश्वासलाई टुट्न दिएका छैनौँ ।’
घरको चौघेराभित्र मात्र सीमित रहने परम्परागत अभ्यासलाई तोडेर बाहिर निस्कँदा महिलाहरूले सामना गर्नुपर्ने व्यवहारिक कठिनाइहरू अझै कायमै छन् । उमा भन्छिन्, ‘महिलाले घरको भान्सा, बालबच्चा, वृद्ध सासू–ससुरा र घरायसी व्यवहारको सम्पूर्ण जिम्मेवारी पूरा गरेर मात्र सामाजिक काममा समय निकाल्नुपर्छ । कहिलेकाहीँ संस्थाको काममा अलि बढी खटिँदा घरपरिवार र समाजबाट सुन्नुपर्ने टिप्पणीहरूलाई झेल्दै आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने चुनौती महिलाहरूका अगाडि सधैँ रहन्छ ।’ तर, यस्ता चुनौतीहरूबाट डराएर भाग्नुको साटो समय व्यवस्थापन गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।
‘नयाँ पुस्ताका दिदीबहिनीहरूलाई घरव्यवहारलाई पनि नबिगारी, समय मिलाएर सामाजिक क्षेत्रमा अगाडि बढ्नुपर्छ । समाजले के भन्ला वा पुरुषहरूले के भन्लान् भनेर पछाडि हट्नुहुँदैन । जब महिलाहरू आफैँ अगाडि बढ्छन्, तब मात्र समाज र देशको वास्तविक रूपान्तरण सम्भव हुन्छ ।’ रेमिट बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष उमाको नेतृत्व यात्रा महिला सशक्तीकरणको एउटा प्रेरणादायी उदाहरण हो ।
‘महिला अघि बढ्न पारिवारिक साथ चाहिन्छः इन्दिरा दाहाल
पूर्वी मोरङको सुन्दरहरैँचा नगरपालिकामा महिलाहरूद्वारा सञ्चालित ‘प्रकृति महिला कल्याण साकोस’ केवल एउटा वित्तीय संस्था मात्र होइन, यो महिलाहरूको सामूहिक सहकार्य, एकता र स्वावलम्बनको एउटा बलियो मञ्च हो । २०६४ सालमा सुन्दरहरैँचा–९ मा दर्ता भएको ‘प्रकृति महिला बचत तथा ऋण सहकारी संस्था’ र सुन्दरहरैँचा–१० खोर्सानेमा रहेको ‘महिला कल्याण बचत तथा ऋण सहकारी संस्था’ बीच २०७५÷७६ सालतिर ऐतिहासिक एकीकरण भएर हालको ‘प्रकृति महिला कल्याण साकोस’ बनेको हो । यस एकीकरण र संस्थाको समग्र नेतृत्वमा इन्दिरा दाहालले लामो समयदेखि अविचलित रूपमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएकी छिन् ।
सहकारीमा इन्दिरा दाहालको यात्रा एकीकरणपूर्वको प्रकृति महिला साकोसको अध्यक्षबाटै सुरु भएको थियो । एकीकरणपछि पहिलो कार्यकाल टिका भट्टराईले नेतृत्व सम्हालिन् भने त्यसपछिको कार्यकालमा पुनः इन्दिराले अध्यक्षको जिम्मेवारी पाइन् । यसका अतिरिक्त उनी मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघको सञ्चालक समिति सदस्य र सुन्दरहरैँचा नगरस्तरीय सहकारी सञ्जालकी सदस्यको रूपमा समेत सक्रिय छिन् ।
दाहालको व्यक्तिगत स्वभाव राजनीतिभन्दा बढी निष्ठापूर्ण समाजसेवामा केन्द्रित छ । समाज रूपान्तरणमा गहिरो चासो भए पनि दलीय राजनीतिका स्वार्थी खेलहरूबाट उनी सधैँ टाढै रहन रुचाउँछिन् । ‘राजनीतिक पाटो अलि रहस्यमय र स्वार्थले भरिएको हुँदो रहेछ । म निःस्वार्थ भावनाले समाजसेवा गर्न चाहने मान्छे भएकाले मेरो भावना राजनीतिसँग मेल खाएन’– उनी भन्छिन् । धार्मिक तथा सामाजिक सद्भावका कार्यक्रम र कीर्तन मण्डलीहरूमा समेत रमाउने इन्दिरा स्थानीय तहमा एक असल र निष्कलङ्क सामाजिक व्यक्तित्वका रूपमा परिचित छिन् ।
लामो समय महिला सहकारीको नेतृत्व र मिश्रित संस्थाको सञ्चालक समितिमा समेत काम गरिसकेकी दाहालको अनुभवमा महिलाहरूले सञ्चालन गरेका सहकारी संस्था र पुरुष बाहुल्य भएका संस्थाहरूको कार्यशैलीमा केही भिन्नता हुन्छ । ‘महिलाहरूले सञ्चालन गरेका संस्थामा कुनै पनि विषयमा व्यापक र खुला सामूहिक छलफल हुन्छ । सबैको कुरा धैर्यतापूर्वक सुनेर, साझा निष्कर्ष निकालेर मात्र निर्णय गरिन्छ’– उनी महिला नेतृत्वको विशेषता औँल्याउँछिन्, ‘तर पुरुषहरूको बाहुल्यता भएको संस्थामा दुई–चार जना टाठाबाठाले ‘ओके’ भनेपछि निर्णय लादिने प्रवृत्ति देखिन्छ । कतिपय ठाउँमा बैठकमा एउटा निर्णय हुने र बाहिर गएर अर्कै काम हुने तितो अनुभव पनि मैले बटुलेकी छु ।’
दाहालका अनुसार महिलाहरूमा आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता बढी हुने भएकाले महिलाले चलाएका सहकारीहरू तुलनात्मक रूपमा सुरक्षित र भरपर्दा हुन्छन् । उनी भन्छिन् –‘महिलाहरूमा क्षमता नभएर होइन, धेरै दिदीबहिनीहरू पढेलेखेका र सक्षम हुनुहुन्छ । तर हाम्रो समाज अझै पनि पुरुषप्रधान सोचबाट मुक्त हुन सकेको छैन ।’ परिवारबाट पूर्ण विश्वास र सपोर्ट भएन भने जतिसुकै क्षमता भए पनि महिलाले बाहिर नेतृत्व गर्न नसक्ने उनको तर्क छ ।
‘हाम्रो पुस्ताले सहकारीलाई यहाँसम्म ल्याउन आफ्नो खल्तीको पैसा खर्च गरेर, दिनरात नभनी पूर्णतः निःशुल्क सेवा दियो । तर, अब आउने नयाँ पुस्ताले हामीजस्तो स्वयंसेवी र निःशुल्क रूपमा समय दिन सक्दैन र मिल्दा पनि मिल्दैन’– उनी प्रष्ट पार्छिन्, ‘आजका युवाहरूलाई आफ्नो भविष्य, करिअर र पारिश्रमिक चाहिन्छ ।’ यसैले नयाँ पुस्तालाई सहकारीमा आकर्षित गर्न र संस्थालाई दिगो बनाउन ‘सहकारी एकीकरण’ नै एकमात्र विकल्प भएको उनको भनाई छ ।
सहकारी क्षेत्र महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणको महत्वपूर्ण माध्यम बन्दै गए पनि नेतृत्व तहमा महिलाको उपस्थिति अझै न्यून छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मोरङमा सुचिकृत भएका महिलाले नेतृत्व गरेका सहकारीको संख्या ३७ रहेको छ ।

