सुनसरीको मधुवनमा चौथो स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुँदै - Pahilo Online

सुनसरीको मधुवनमा चौथो स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुँदै

writer

पहिलो अनलाइन

विराटनगर । ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन र मौलिक खेलको प्रवर्धन’ भन्ने मूल नारासहित स्टोन स्किपिङ च्याम्पियनसिप नेपाल, २०२६ को चौथो संस्करण सुनसरीको वराहक्षेत्र नगरपालिका–११, मधुवनस्थित तीनटोलिया पोखरीमा आयोजना हुने भएको छ ।

चतरा हाइकिङ समूहको आयोजनामा आगामी कात्तिक २४ गते गोवर्धन पूजाका दिन बिहान १० बजेदेखि प्रतियोगिता सञ्चालन हुने विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस वर्षको प्रतियोगितामा मधुवन क्षेत्रको पर्यटन प्रवर्धनसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने लोपोन्मुख पानीचरा सीम तित्रा (स्वाम्प फ्रान्कोलिन) को प्रचारप्रसार र संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ ।

यसअघि सप्तकोशी नदी, चतरा नहर र अमाहा सिमसारमा प्रतियोगिता आयोजना गरिएको थियो । ती क्षेत्रको पर्यटकीय तथा जैविक महत्त्व उजागर गर्दै आएको समूहले यस वर्ष मधुवनको तीनटोलिया पोखरीलाई प्रतियोगिताको स्थल बनाएको हो ।

स्टोन स्किपिङ अर्थात् पानी सुल्के नदी, नहर, ताल वा पोखरीको सतहमा चप्टो ढुङ्गा फ्याँकेर पटक–पटक उफार्ने खेल हो । ढुङ्गा पानीमा कति पटक उफ्रिन्छ भन्ने आधारमा यस खेलको प्रतिस्पर्धा गरिन्छ । नेपालका जलस्रोत आसपासका समुदायमा परम्परागत रूपमा मनोरञ्जनका लागि खेलिँदै आएको यस गतिविधिलाई प्रतियोगितात्मक स्वरूप दिने पहल चतरा हाइकिङ समूहले गरेको हो ।

समूहले २०७९ सालदेखि चतरा आसपासका हाइकिङ मार्ग, ऐतिहासिक तथा पुरातात्त्विक स्थलको प्रचार र संरक्षणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । स्टोन स्किपिङ प्रतियोगिता पनि यही अभियानअन्तर्गत आयोजना हुँदै आएको हो ।

विश्वका विभिन्न देशमा खेलिने स्टोन स्किपिङको विश्व कीर्तिमान अमेरिकी नागरिक कर्ट स्टेइनरको नाममा छ । उनले सन् २०१३ मा ढुङ्गालाई पानीको सतहमा ८८ पटक उफारेर कीर्तिमान कायम गरेका थिए ।

आयोजकले खेलप्रेमी, प्रतियोगी, सरोकारवाला तथा सम्बद्ध संघसंस्थालाई प्रतियोगितामा सहभागी हुन र अवलोकन गर्न आमन्त्रण गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles