सामाजिक सेवामा सक्रिय बन्दै पिपलडाँडा सामुदायिक क्लब - Pahilo Online

सामाजिक सेवामा सक्रिय बन्दै पिपलडाँडा सामुदायिक क्लब

writer

मोहन भट्टराई

मोहन भट्टराई
शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–९ स्थित पिपलडाँडा सामुदायिक क्लबले मनोरञ्जनात्मक कार्यक्रमसँगै सामाजिक सेवा र समुदाय केन्द्रित अभियानलाई निरन्तरता दिँदै आएको छ । विपन्न तथा बिरामी परिवारलाई आर्थिक सहयोग, रक्तदान, वातावरण संरक्षण, सांस्कृतिक कार्यक्रम, खेलकुद तथा सामुदायिक वन संरक्षणजस्ता गतिविधिमार्फत क्लबले स्थानीयस्तरमा आफ्नो सामाजिक उपस्थिति बढाउँदै गएको हो ।


क्लबले पछिल्लो समय पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वनमा रोपिएका फलफूलका बिरुवाको गोडमेल तथा संरक्षणको कामलाई प्राथमिकता दिएको छ । क्लबका सक्रिय सदस्य तथा युवाहरूले वन क्षेत्रमा पुगेर यसअघि रोपिएका विरुवाको गोडमेल, सरसफाइ तथा संरक्षणमा जुट्दै आएका छन् । वृक्षरोपण गरेर मात्र नहुने भएकाले रोपिएका बिरुवाको नियमित संरक्षण र हुर्काउने जिम्मेवारीसमेत समुदायले लिनुपर्ने सन्देश दिन क्लबले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ ।


क्लबले सामाजिक अभियानकै क्रममा बिरामी तथा आर्थिक अभावमा परेका स्थानीय परिवारलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ । पथरीशनिश्चरे–९ का इन्द्रजित पाङदेनकी पत्नीको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएपछि लामो समयदेखि भारतको दिल्लीमा उपचार भइरहेको अवस्थामा उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले पिपलडाँडा सामुदायिक क्लबका सदस्यबाट रकम संकलन गरी ५७ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।


त्यस्तै, सोही वडाका कुसे निवासी सन्तोष बस्नेत बिरामी भएर आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि क्लब तथा पिपलडाँडा सामुदायिक ल्लबको कोषमार्फत आर्थिक सहयोग गरिएको थियो । क्लबले आर्थिक सहयोग सानो भए पनि समस्यामा परेका व्यक्तिको उपचारमा केही राहत पुग्ने विश्वासका साथ सामाजिक अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
पथरीशनिश्चरे–९ का भरत कार्कीडोलीको स्वास्थ्य अवस्था गम्भीर भएपछि स्थानीय बासिन्दाको पहलमा १० हजार १०० रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो ।

रक्तदानदेखि वातावरण संरक्षणसम्म
पिपलडाँडा सामुदायिक क्लबले स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा पनि काम गर्दै आएको छ । २०८० भदौ १३ गते क्लबको आयोजनामा खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । प्रतिकूल मौसमका बाबजुद भएको कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको क्लबले जनाएको छ ।


रक्तदान कार्यक्रमलाई क्लबले नियमित सामाजिक सेवाको महत्वपूर्ण अभियानका रूपमा अघि बढाएको देखिन्छ । आपत्कालीन अवस्थामा रगतको अभाव हुन नदिन स्थानीयस्तरमै रक्तदानको संस्कृति विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको क्लबले जनाएको थियो ।


चाडपर्वलाई सामाजिक तथा सांस्कृतिक गतिविधिसँग जोड्दै
क्लबले सामाजिक सेवासँगै स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई पनि प्राथमिकता दिँदै आएको छ । नयाँ वर्षको अवसरमा हरेक वर्ष पथरीशनिश्चरे–९ को हाटखोलामा सांगीतिक साँझ तथा शुभकामना कार्यक्रम आयोजना गर्ने गरिएको छ । कार्यक्रममा स्थानीय कलाकारले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए । जसले गर्दा स्थानीय प्रतिभा पहिचान तथा व्यक्तित्व विकासमा टेवा पुगेको छ ।

त्यसैगरी, होली पर्वका अवसरमा क्लबका सदस्यहरूबीच होली कार्यक्रम आयोजना गरी आपसमा खुसी साटासाट गरिएको थियो । यस्ता कार्यक्रमले स्थानीय युवाबीच आपसी सम्बन्ध, सहकार्य र सामुदायिक भावनालाई बलियो बनाउने क्लबको विश्वास छ ।


तिहारका अवसरमा क्लबले देउसी–भैलो कार्यक्रमसमेत सञ्चालन गरेको थियो । पिपलडाँडा चोकबाट सुरु भएको देउसी नाच हाटखोला बजार, शनिश्चरे चोक, सशस्त्र बेस क्याम्प र रेडक्रस चोकसम्म पुगेर कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमअघि सहभागी कलाकारका अभिभावकसँग देउसी नाच तथा कार्यक्रम व्यवस्थापनका विषयमा छलफल र अन्तरक्रियासमेत गरिएको क्लबले जनाएको थियो ।

दसैँ तथा तिहारका अवसरमा क्लबले स्थानीय युवालाई लक्षित गरी खेलकुद गतिविधिसमेत आयोजना गर्दै आएको छ । २०८० सालको बडादसैँको फूलपातीका दिन डाँसखोला डाँडा झोलुङ्गे पुलको प्राङ्गणमा ‘ढल्के जोवन फुटबल खेल’ आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम पुरस्कारका रूपमा १० किलो टर्की र द्वितीय पुरस्कारका रूपमा पाँच किलो राजहाँस राखिएको थियो । विदेश तथा देशका विभिन्न स्थानमा रहेका क्लबमा आबद्ध सदस्यहरु समेत कार्यक्रममा सहभागी भएका थिए ।

तीजमा सामूहिक नृत्य प्रतियोगिता
क्लबले स्थानीय सांस्कृतिक प्रतिभाको पहिचान र प्रवद्र्धनका लागि तीज विशेष कार्यक्रमसमेत आयोजना गर्ने गरेको छ । २०८१ भदौ २१ गते शनिश्चरे चोकमा आयोजित खुला सामूहिक प्रतिस्पर्धात्मक नृत्य प्रतियोगितामा पथरीशनिश्चरे–४ र ९ लगायत आसपासका विभिन्न संघसंस्था, व्यवसायी, बुद्धिजीवी तथा समाजसेवीको सहकार्य रहेको थियो ।

यसले क्लबले चाडपर्वलाई केवल मनोरञ्जनमा सीमित नराखी स्थानीय कला तथा प्रतिभा प्रदर्शन गर्ने अवसरका रूपमा समेत उपयोग गर्दै आएको देखाउँछ ।

खेलदेखि सामाजिक सद्भावसम्म
क्लबले पछिल्लो समय ठूला खेलकुद प्रतियोगितालाई पनि सामुदायिक सहभागितासँग जोड्ने प्रयास गरेको छ । सन् २०२६ को फिफा विश्वकपका खेल स्थानीयवासीले सामूहिक रूपमा हेर्न सकून् भनेर क्लबको व्यवस्थापनमा ठूलो पर्दामा खेल प्रदर्शन गरिएको थियो । स्थानीय युवाको रुचि र सहभागितालाई ध्यानमा राखेर खेल हेर्ने सामूहिक वातावरण निर्माण गर्दा मनोरञ्जनसँगै सामाजिक सम्बन्ध विस्तार हुने क्लबको अपेक्षा छ । सामुदायिक क्लबले सामाजिक गतिविधिसँगै आफ्नो संस्थागत पक्षलाई समेत व्यवस्थित गर्दै आएको छ ।

‘समुदायमा मिलेर काम गरे असम्भव केही छैन’

क्लब स्थापना गर्नुको मुख्य उद्देश्य के हो र यसले समाजमा कस्तो भूमिका खेलिरहेको छ ?
हाम्रो पिपलडाँडा आसपासका नागरिक तथा स्थानीय समाजभित्र आइपर्ने कुनै पनि साह्रोगाह्रो वा समस्यामा एकले अर्कोलाई निःस्वार्थ सहयोग गर्नु नै क्लबको मुख्य उद्देश्य हो । कोही व्यक्ति बिरामी पर्दा, दुर्घटनामा पर्दा वा आपतविपद आइलाग्दा श्रम तथा आर्थिक रूपमा सम्भव भएसम्मको सहयोग हामी गर्दै आएका छौँ । गाउँलेहरू मिलेर सुख–दुःख बाँड्ने र समाजलाई संगठित राख्ने हाम्रो नीति छ ।
खेलकुद र युवा सहभागिताको क्षेत्रमा क्लबले के–कस्ता काम गरिरहेको छ ?

हरि कुमार शेर्मा (अध्यक्ष) पिपलडाँडा सामुदायिक क्लब

हाम्रो क्लब अन्तर्गत स्थानीय युवाहरू फुटबल र क्रिकेटमा निकै सक्रिय छन् । खेलकुदले युवाहरूलाई कुलतबाट जोगाउँछ र अनुशासन सिकाउँछ । क्लबले युवा खेलाडीहरूलाई जर्सी, फुटबल र खेल सामग्री सहयोग गर्दै आएको छ भने बेलाबेलामा मैत्रीपूर्ण खेलहरू पनि आयोजना गर्छौँ ।
सांस्कृतिक गतिविधि, विशेष गरी तिहारको देउसी–भैलोलाई क्लबले कसरी सञ्चालन गर्दै आएको छ ?
हामी देउसी–भैलोलाई मनोरञ्जनसँगै अनुशासन र राष्ट्रियतासँग जोडेर मनाउँछौँ । हाम्रो देउसी कार्यक्रम सुरु हुनुअघि अनिवार्य राष्ट्रिय गान बजाउँछौँ र मौलिक नृत्यहरू प्रस्तुत गर्छौँ । देउसीबाट संकलन भएको रकम पारदर्शी ढंगले क्लबको सामाजिक सेवा, खेल मैदान संरक्षण र आवश्यक सामग्री खरिदमा खर्च गरिन्छ ।
हाल क्लबका मुख्य चुनौती र आगामी योजनाहरू के–के हुन् ?
क्लबको स्थायी आम्दानीको स्रोत छैन, त्यसैले आर्थिक अभाव नै मुख्य चुनौती हो । तर पनि सीमित स्रोतका बीच हामीले खेल मैदानको स्तरोन्नति, क्लब भवनको व्यवस्थित मर्मत र वडास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौँ । वडा कार्यालय र नगरपालिकासँग पनि सहकार्यको प्रयास गरिरहेका छौँ ।
अन्त्यमा, पिपलडा“डा र पथरीशनिश्चरेवासीलाई तपाईंको के सन्देश छ ?
हामी सबै दाजुभाइ दिदीबहिनीहरू कुनै पनि काममा मिल्यौँ, सबैको हातेमालो र सहभागिता भयो भने जतिसुकै कठिन काम पनि सजिलै सम्पन्न हुन्छ । समाजमा कहिलेकाहीँ समस्या र मतभेद आउन सक्छन्, तर धैर्यताका साथ एकजुट भएर लाग्नुपर्छ । मिल्नुको कुनै विकल्प छैन, सहकार्य र एकता नै समृद्ध समाज निर्माणको आधार हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles