पञ्चवर्षे योजना जस्तै सय दिने कार्यक्रम ! - Pahilo Online

पञ्चवर्षे योजना जस्तै सय दिने कार्यक्रम !

यस्ता छन्, १ नं. प्रदेश सरकारका प्राथमिकता (पूर्णपाठसहित)

writer

विराटनगर । १ नम्बर प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम पेश गरेको शैलीमा सय दिने काम सार्वजनिक गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्यक्रममा सय दिनमा सम्पन्न गर्ने काम भने खुलाइएको छैन ।

कानुन निर्माण, कर्मचारी व्यवस्थापन र अन्य नीतिगत काममा अन्य प्रदेश सरकारभन्दा पछि देखिएको १ नम्बर प्रदेश सरकारले सय दिने कार्यक्रम सार्वजनिक गर्दा ती विषयलाई प्राथमिकता दिएको छैन । कार्यक्रममा सय दिनभित्र निर्माण हुने कानुन, कर्मचारी व्यवस्थापन, सरकारका कार्यालय रहने स्थानको भौतिक पूर्वाधार व्यवस्थापन, सरकारको पूर्णता, प्रदेशको राजधानी र नामाकरण जस्ता महत्वपूर्ण विषय भने समावेश गरिएको छैन ।

सय दिने कार्यक्रममा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा १५ सय आवास इकाईको हस्तान्तरण गर्ने उल्लेख छ । सय दिनमा कसरी आवास बन्छन् भन्ने विषय भने कार्यक्रममा खुलाइएको छैन । यस्तै आगामी बजेटबाट नमुना विद्यालय छानेर सुचना प्रविधिमैत्री अध्यापन थाल्ने कार्यक्रममा समेटिएको छ । तर, आगामी बजेट कार्यान्वयन नहुँदै सरकारको सय दिन पुरा हुन्छ ।

सय दिने कार्यक्रम भन्दै सार्वजनिक ११८ बुँदे  कार्यक्रममा आगामी बजेटमा समावेश गर्ने विषयदेखि दिर्घकालिन नीति समेटिएको छ । कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री शेरधन राईले यो सरकारको गाईडलाईन भएको बताउनुभयो । ‘कार्यक्रम सय दिनमा सम्पन्न हुने र सुरु हुने कार्यक्रमको खाका हो’ उहाँले भन्नुभयो, ‘यसकै जगमा सरकारले आफ्नो काम अगाडि बढाउनेछ र आगामी बजेट तथा नीति कार्यक्रमको आधार पनि यही बन्नेछ ।’

कार्यक्रममा सय दिनमा गरिने ठोस कार्यक्रमको योजना नआएको सञ्चारकर्मीको प्रश्नमा मुख्यमन्त्री राईले सरकारसँग अहिले बजेट, कानुन र पूर्वाधारको पनि अभाब भएकोले नीतिगत विषय समेटिएको बताउनुभयो । ‘कानुन निर्माण र अन्य सरकारले गर्नुपर्ने काम पनि अगाडि बढिरहेको छ’ उहाँले भन्नुभयो, ‘प्रदेशको नाम र राजधानीको विषय प्रदेशसभाले टुंगो लगाउने भएकोले कार्यक्रममा समेटिएको छैन ।’

के–के छन्, कार्यक्रममा ?

सरकारले पेश गरेको कार्यक्रममा मुख्यमन्त्रीको कार्यालयसहित अन्य मन्त्रालयका प्राथमिकताहरु समेटिएको छ । कार्यक्रममा मुख्यमन्त्रीको कार्यालयका ११, भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ६, सामाजिक विकास मन्त्रालयको १५, भौतिक पूर्वाधार विकास मन्त्रालयको २२, आर्थिक मामिला तथा योजना मन्त्रालयको ५, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३५ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २४ वटा बुँदा समेटिएको छ ।

कार्यक्रममा प्रदेशभित्र मदिरा तथा सूर्तीजन्य पदार्थको उत्पादन, विक्री वितरण, भण्डारण र प्रयोगमा नियमन र नियन्त्रण गर्ने उल्लेख छ । यस्तै प्रत्येक सरकारी अस्पताल, स्वास्थ केन्द्र र शैक्षिक संस्थामा इन्टरनेट सुविधा पु¥याउन आवश्यक तयारी थालिने बताइएको छ । यस्तै कार्यक्रमा निजी विद्यालयहरुको मनोमानी शुल्क निर्धारण रोक्ने उल्लेख गरिएको छ ।

कार्यक्रम प्रस्तुत गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की ।

स्थानीय निकायसँग समन्वय गरी ‘एक घर पाँच बिरुवा’को कार्यक्रमलाई अनिवार्यरुपमा कार्यन्वयन गराउने, ‘उज्यालो अभियान’ कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न सौर्य उर्जालाई विस्तार गर्ने, ठूला जलविद्युत् आयोजना छिटो सक्न संघीय सरकारसँग पहल गर्ने उल्लेख छ ।

आर्थिक क्षेत्रमा ‘कर तिरे विकास हुन्छ’ भन्ने भावना जगाई इमान्दारितापूर्वक उच्च कर तिर्ने करदातालाई सम्मान गर्ने, कर प्रणालीलाई सुदृढ गरी करको दायरा फराकिलो पार्ने, प्रदेशको समग्र आर्थिक स्रोत र साधनको पहिचान गरी अगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने उल्लेख छ ।

प्रदेशमा शान्ति सुरक्षा कायम गर्नका लागि ‘कानूनको रक्षा, जीउ–धनको सुरक्षा’ कार्यक्रम लागू गर्ने, प्रदेशको लागि आवश्यक पर्ने कानूनहरुको पहिचान गरी विषयगत अध्यादेश, ऐन, नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड तयार गर्ने, सहरहरुमा सिसिटिभी क्यामेराको माध्यमबाट प्रविधिमैत्री सुरक्षामा जोड दिइने कार्यक्रममा उल्लेख छ । यस्तै ‘प्रहरी मेरो साथी’ कार्यक्रमअन्तर्गत फोन, इमेल, फ्याक्स, स्थानलगायतका आवश्यक सूचनासहितको स्टिकर बनाई प्रत्येक घरदैलोमा टाँसिने व्यवस्था मिलाउने पनि सय दिने कार्यक्रम राखिएको छ ।

‘सुरक्षित प्रदेश, पर्यटकको आधार’ कार्यक्रमअन्तर्गत पर्यटकको सुरक्षाको प्रत्याभूति गर्ने, कालो बजारी, ठगी, खाद्यान्न मिसावट, कृतिम अभाब तथा महंगीलाई नियन्त्रण गर्ने, सीमामा हुने अपराधलाई पूर्ण निस्तेज पार्ने पनि कार्यक्रममा उल्लेख छ । सरकारका कार्यक्रममा अन्तराष्ट्रियस्तरको औद्योगिक प्रर्दशनी केन्द्रको स्थापना गर्न आवश्यक अध्ययन थालनी गर्ने, फिल्म नगरी (फिल्म सिटी)को विकासकोलागि अध्ययन सुरु गर्ने, प्रदेशस्तरको एक बृहत जातीय तथा सांस्कृतिक संग्राहलयको स्थापनाको लागि आवश्यक अध्ययन थाल्ने बताइएको छ ।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्न तत्काल आवश्यक जग्गा अधिग्रहण र विस्तारको लागि संघीय सरकारसँग पहल गर्ने पनि कार्यक्रममा उल्लेख छ । यस्तै विराटनगरबाट प्रदेशभित्रका सबै हवाई मैदानमा उडान भर्न आवश्यक पहल गर्ने, विराटनगर एअरपोर्टबाट हेलिकप्टर सेवा सञ्चालन गर्न नीजि क्षेत्रसँग आवश्यक समन्वय गर्ने तथा इलाम, तेह्रथुम, पाँचथर, धनकुटा, धरान, उदयपुरलगायतका ठाउँमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन कार्यको थालनी गर्ने पनि सय दिने कार्यक्रममा उल्लेख छ ।

केवुलकार सञ्चालन, भ्यू टावर निर्माण र पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमा आवश्यक पूर्वाधार निर्माणको लागि अध्ययन कार्यको थालनी गरिने पनि सय दिनमा गर्ने काममा उल्लेख गरिएको छ । यस्तै प्रदेशस्तरीय आम सञ्चार प्रतिष्ठान स्थापना गर्ने, वरिष्ठ पत्रकारलाई सम्मान गर्ने र समानुपातिक विज्ञापन नीति लागू गर्ने पनि कार्यक्रममा उल्लेख छ ।

कार्यक्रमको पूर्णपाठ सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बाचन गर्नुभएको थियो । कार्यक्रममा सरकारका सबैजना मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पूर्णपाठः

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes