मुख्यमन्त्री शेरधन राईलाई खुलापत्र - Pahilo Online

मुख्यमन्त्री शेरधन राईलाई खुलापत्र

writer

रमेश हतुवाली

आदरणीय शेरधन कमरेड अभिवादन !
सर्वप्रथम प्रदेश नम्वर एकको पहिलो मुख्यमन्त्री पदमा निर्वाचित हुनु भएकोमा यहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि मंगलमय शुभकामना । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान वमोजिम तपाई यत्तिवेला मुख्यमन्त्रीको अत्यन्त उच्च र गरिमामय पदमा विराजमान हुनुभएको छ । यो पूर्वाञ्चलवासीहरुको लागि खुशी र गौरवको क्षण हो । विकासले दशकौंदेखि सौतेलो डाहा गरेको भोजपुरवासीहरुको लागि यो गर्वको विषय पनि हो । तपाई बाल्यकालमा हुर्किखेली बढेको पसलभञ्ज्याङ गाउँ, राँके बजारदेखि हतुवागढीसम्मका पात्लेघारी अनि त्यहि पाल्लेघारी र वनमारा घारीको छातीबाट उम्रिएर कलकल गर्दै वगेका कावा, छिरलिङ र एखुवाखोला, तपाईको त्यो लेकाली थिदिंखा गाउँदेखि वयाङ बजार, पूर्णेडाँडो, रानीवास, सिन्द्राङ, घोरेटार, हर्का र थामचौताराका सल्लेरी वनहरु अनि ति वनहरुमा सुसेली मार्दै ओरालो झर्दा खुत्रुक्क थाकेको ज्यानलाई सितलता प्रदान गर्ने मैयु र ट्याम्केबाट कलकल बग्दै अरुण नदीमा मिसिन हतार गर्दै झरेको पिखुवा खोला मात्र नभएर पारपानी दोभानदेखि टङटङे अनि पारपानी र पैयापानीको उकालो पनि आफ्ना पीडाहरुलाई भुल्दै एउटा संघर्षसिल छोराको उपल्लोस्तरको सफलतामा आज मुस्कुराउदैछन् भन्दा फरक नपर्ला ।

यो ऐतिहासिक सफलतासँगै तपाईको काँधमा ठूलो जिम्मेवारी पनि आएको छ । यतिबेला एक नम्बर प्रदेश र सिंगो मुलुकले तपाईबाट ठूलो आशा, अपेक्षा र भरोसा गरेको छ । त्यसैले आजैदेखि तपाईलाई अवसरभन्दा पनि विशाल देखिने चुनौतीका पहाडहरुले घेराबन्दीमा पार्दैछन् । मलाई विश्वास छ, तपाई ति चुनौतीका पहाडहरुसँग जुध्न आफ्नो काँधलाई अझ बलियो बनाउँदै अघि बढ्नुहुनेछ । मेरो अनुभवले भन्छ, अब शेरधन कमरेडले, अझै खुलेरै भनौ एक नम्वर प्रदेशका मुख्यमन्त्री राईले व्यक्ति, परिवार, नाताकुटुम्ब, पार्टी, साथीभाई, सत्ता, सम्पत्ति जस्ता स्वार्थका साङ्लाहरुलाई चुडाउँदै प्रदेशवासी र नेपाली जनताको समृद्धिको सपनालाई उच्च महत्व दिनुहुनेछ ।

प्रादेशिक शासन सञ्चालन हाम्रा लागि एकदमै नयाँ अनुभव हो । प्रादेशिक सत्ता सञ्चालनका क्रममा आईपर्ने कानूनी जटिलता, भौगोलिक चुनौती, जनसंख्या, साँस्कृतिक विविधता, विकास र समृद्धिका आधार, प्राकृतिक श्रोतसाधनहरुको उपयोग र वाँडफाँड, कर्मचारीतन्त्रसँगको समन्वय, अर्थ व्यवस्थापन, दक्ष जनशक्ति, सत्ता समिकरण, पदीय भागवण्डा, जनतामा वर्षौदेखि गुम्सिएर वसेको नयाँ नेपालको सुनौलो सपना जस्ता दर्जर्नौ विषयहरु तपाईको कार्यकालका महत्वपूर्ण चुनौतीहरु हुन् । तपाईले मुख्यमन्त्री पदको सपथ ग्रहण लिदै गर्दा तपाईलाई प्रत्यक्ष भेटेर वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिन भौतिक रुपमा असमर्थ भएकोले यो लोकप्रिय पत्रिकाको माध्यमबाट दु्रततर आर्थिक विकासको गतिमा हुईकिरहेको चिनियाँ भूमिबाट तपाईलाई शुभकामना दिँदै केही जिज्ञासाहरु कोर्दैछु । विश्वास छ, तपाईको अत्यन्त व्यस्त कार्यतालिकामा यस पत्रले पनि स्थान पाउनेछ ।

केही जिज्ञाशाहरु
१। तपाईले निर्वाचनको समयमा वारम्वार भन्ने गर्नुभएको प्रदेश नम्वर एकको समृद्धि के हो रु
२। संघीय शासनको अनुभूति जनतालाई दिलाउन तपाई के कस्ता कार्यक्रमहरु ल्याउँदै हुनुहुन्छ रु
३। शेरधन राईको शासनकाल विगतका शासकहरुको भन्दा पृथक छ भन्ने आधारहरु के के हुनेछन् रु
४।प्रदेशको समुुन्नतीसँग अन्योन्याश्रित सम्बन्ध राख्ने कृषि, पर्यटन, जलश्रोत र उद्योग स्थापना जस्ता पक्षको विकासको लागि कस्ता योजनाहरु तयार पार्दै हुनुहुन्छ ?
५।विकासका हिसावले दु्रतगतिमा अघि बढिरहेका छिमेकी राष्ट्रहरुसँग प्रदेशको सम्बन्धलाई कसरी जोड्नुहुन्छ रु
६। पूर्वी पहाडका वासिन्दाहरुले जीवन धान्नकै लागि सप्तकोशी किनारका अक्करे भिरहरुमा नुन र मट्टितेलले भरिएका ढाकर र कुम्लोहरु बोक्दा पटक–पटक ज्यान गुमाएका छन् । तपाईको कार्यकालमा पानीजहाज चढेर चतरादेखि मुलघाट हुँदै फिदिमसम्म, त्रिवेणी हुँदै भोजपुर, धनकुटा अनि संखुवासभासम्म, त्रिवेणी हुँदै कटहरवास, मैनामैनी, जोगेपाथर, दुम्माना, पाङचा हुँदै सोलू र दोलालघाटसम्म पुग्न सकिएला रु
७। कोशी ल्हासा राजमार्ग निर्माण पूरा गर्ने जिम्मा तपाईको काँधमा आएको छ । उत्तरी छिमेकी चीनसँग नाका जोडिएका किमाथाङ्का र ओलाङ्चुङ्गोलालाई यसै राजमार्गको निर्माणमार्फत जोड्दै चीनसँगको व्यापार विस्तार गरि त्यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने विषयमा तपाईले के सोच्नु भएको छ रु
८। सन् २०२० को अन्त सम्ममा चिनियाँ रेललाई नेपाली सीमासम्म ल्याउने चीन सरकारको लक्ष्य छ । चिनियाँ रेलमार्गलाई एक नम्वर प्रदेशको उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्रसम्म जोड्न र नेपाली सीमाना नजिकै हुईकिरहेको भारतीय रेलमार्गलाई पूर्वी तराईका जिल्लाहरुसम्म विस्तार गर्ने के योजना छ रु
९। तपाईले निर्वाचनको समयमा पटक पटक कृषि क्षेत्रको आधुनिकिकरणबारे बोल्नुभएको छ । पूर्वी नेपालका पहाडी जिल्लाहरुबाट वर्षेनी तराई क्षेत्रमा भैरेहेको तिब्र बसाई सराईले यस क्षेत्रका खेतीयोग्य जमिनहरु क्रंक्रिटको जंगलमा परिणत हुँदैछ । अव्यवस्थित बसाईसराई र जथाभावी भवन निर्माण गर्ने कार्यले अन्न भण्डारहरु मरुभूमि बन्दैछन् । यो अवस्थामा कृषि क्षेत्रको आधुनिकिरण कस्तो हो रु
१०। व्यवस्थित शहर निर्माण र आवास क्षेत्रको स्थापना सम्बन्धि तपाईको रणनीति के हो रु
११। मौसम परिवर्तनले क्रमिक रुपमा थिलथिलो पार्दै लगेको एक नम्वर प्रदेशमा वढ्दो वन विनाश रोकेर निजी वन तथा सामुदायिक वन विस्तार गर्ने वारे तपाईले केही सोच्नुभएको छ रु
१२। सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चजङघा, विश्वकै होचो अरुण उपत्यका, केचनाकलन, पाथीभारा, हलेसी, सिद्धकाली, बुढासुब्बा, दन्तकाली, चतराधाम, अर्जुनधारा, सन्दकपुर, सतासीधाम, ट्याम्के, हतुवागढी, वराहाक्षेत्र, श्रीअन्तू, नाम्चेवजार, भेडेटार, वसन्तपुर जस्ता क्षेत्र तथा स्थलहरु, जल विहारका लागि अरुण, तमोर, पञ्चकोशी आदिले एक नम्वर प्रदेशलाई पर्यटन क्षेत्रको विकासको लागि मार्ग प्रशस्त गरेको छ । तर पूर्वाधार विकास विना पर्यटन क्षेत्रको विकास हुन्न अनि पर्यटक विना आय आर्जन कहाँ रु आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धनको लागि पर्यटकीय क्षेत्रसम्म पुग्ने हवाईमार्ग, सडकमार्ग, जलमार्ग, रेलमार्ग, रज्जुमार्ग र पैदल मार्गको विकास हुनु आवश्यक छ । एक नम्बर प्रदेशमा पर्यटन क्षेत्रको विकासको लागि विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकसित गर्दै विराटनगरलाई यस प्रदेशको प्रमुख पर्यटकीय आधार क्षेत्र बनाउन तपाई कस्ता कस्ता योजनाहरु कोर्दै हुनुहुन्छ रु
१३। राजनैतिक पार्टी र नेताको आडमा जनताले तिरेको करबाट तलव खाएर जनतालाई नै हप्काउने, नापी, मालपोल, अदालत, भन्सार, अध्यागमन, जिल्ला प्रशासन, इलाका प्रशासन, अस्पताल आदिमा कार्यरत भ्रष्ट कर्मचारीलाई तपाई कस्तो व्यवहार गर्नुहुन्छ रु
१४। सडक निर्माणका क्रममा सरकारसँग आवश्यक रकम लिई गुणस्तरहीन सडक निर्माण गर्ने निर्माण कम्पनी, ठेकेदारहरु साथै उनीहरुसँग मिलेमतो गर्ने कर्मचारीहरुलाई के कारवाही गर्नुहुन्छ रु
१५। एक नम्वर प्रदेशको मान, सम्मान र ख्याती माथि उकास्ने खेलाडीहरुको उत्पादन, संरक्षण र खेलकुद क्षेत्रको विकासको लागि तपाई कस्ता कस्ता योजनाहरु तयार पार्नुुहुन्छ ?

केही सुझावहरु
१। तपाईको सालिन व्यक्तित्व र संघर्षशिल राजनीतिक परिचयलाई प्रदेशका प्रत्येक गाउँवस्तीसम्म पु¥याउनु पर्नेछ ।
२। तपाई जसलाई सबैभन्दा कडा विपक्षी सम्झनु हुन्छ, सार्वजनिक चासोका महत्वपूर्ण निर्णयहरु गर्नुपूर्व सकेसम्म उसको विचार सुन्ने प्रयत्न गर्नुहोस् । यसले तपाईलाई दूरदर्शी बनाउन सहयोग गर्नेछ ।
३। प्रदेशका समतल जमिन मुलुककै अन्न भण्डार हुन् । त्यसैगरी पहाडी क्षेत्रका भिराला अनि रसिला पाखा भित्ताहरु चिया, अदुवा, अकवरे खोर्सानी र अलैची, फलफूल जस्ता नगदे वालीहरुका मुख्य उब्जाउ भूमि हुन् । सिंचाईको अभावकै कारण यस क्षेत्रका कृषकहरु परिवार पाल्नकै लागि कि शहरतिर पस्छन् कि मुग्लान भासिन्छन् । अधिकांश वस्तीहरुमा शुद्ध खानेपानीको समस्या छ । तपाईको कार्यकालमा चतरा नहरलाई हदै सम्म विस्तार गर्नु आवश्यक छ । हाल नहरभन्दा पनि अलिक ठूलो कुलोको रुपमा रहेको यस नाम मात्रको नहरलाई अझ ठूलो पार्दै हाल सिंचित हुन नसकेको क्षेत्रतिर विस्तार गर्नु आवश्यक छ । यसै नहरको अर्को नयाँ शाखा निर्माण गरि पूर्वी तराईका सुनसरी, मोरङ र झापा जिल्लालाई हराभरा बनाई अन्न निर्यातको केन्द्रमा रुपान्तरण गर्न हतार गर्नु पर्ने समय भएको छ ।
त्यसका लागि चतरा नहरलाई बयरवन, पट्नाली, कालाबंजरको उत्तरी क्षेत्र र धरान बजारको दक्षिणी क्षेत्र हुँदै पानमारा, केरावारी, लेटाङ, जाँते, मधुमल्ला, दमक, सतासीधाम, सुरुङगा, खुदुनावारी, बुधबारे हुँदै शान्तिनगरसम्म विस्तार गर्नु आवश्यक छ । त्यसैगरी तमोर नदीको पानीलाई कन्काई नदीमा मिसाएर एक नम्वर प्रदेशको समृद्धि निर्माणको जग हाल्न सकिनेछ । यसतर्फ गहन रुपमा विचार विमर्श गर्न आग्रह छ ।
४। गणतन्त्र स्थापना गर्न एक नम्बर प्रदेशले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जनयुद्धमा हज्जारौं व्यक्ति शहीद भएका छन् भने सैयौं जनमुक्ति सेना घरवारविहिन छन् । सैयौं जनमुक्ति सेनाका छाती, करंग, ढाड, तिघ्रा लगायतका विभिन्न भागमा आज पनि गोली र बारुदका छर्राहरु छन् । उनीहरुको त्याग र बलिदानले तपाईं मुख्यमन्त्रीको कुर्सीमा आसिन हुनुभयो । त्यसैले उनीहरुको उपचार र जीवन भरणका लागि आवश्यक पहल गर्नुपर्छ । त्यस्तै जनयुद्धका क्रममा घाईते र बेपत्ता भएका परिवार र शहीद परिवारलाई उच्च सम्मान र भरणपोषणको व्यवस्थाका लागि पहल गर्न पनि अनुरोध गर्दछु ।
५। यतिबेला मुलुकले नाम मात्रको गणतन्त्र र संघीयता पाएको छ । जसरी पञ्चायती शासन र बहुदलीय शासन ९२०४६–२०६३० का बखत आम जनताले प्रजातन्त्रको सही प्रतिफल पाएनन्, शासन प्रणालीलाई स्वीकार्न सकेनन्, सहीदका सपनाहरुमाथि बज्रपात गरियो, सांसदहरुको किनबेच र सत्तालिप्साको राजनीतिले मुलुक हैरान भयो । जनतामा व्यापक असन्तोष उत्पन्न भयो जसको परिणाम दर्जनौं आन्दोलन र संघर्षहरु भए । हजारौंको बलिदान भयो । त्यसैगरी अब पनि तपाईजस्ता देश र जनताले भरोसा गरेका संघीय प्रदेशका उच्च पदस्थ महानुभावहरुबाट पनि आफ्नो हात जगन्नाथ, जसको शक्ति उसको भक्ति, स्वार्थ, सम्पत्ती र पदीय दूरुपयोगको अवस्था सृजना भयो भने अर्को आन्दोलनको विकल्प हुनेछैन । त्यस समयमा जनताले तपाईहरुकै विरुद्धमा आन्दोलनको मशाल बाल्नेछन् । यस विषयमा वेलैदेखि सचेत रहन विनम्रतापूर्वक आग्रह गर्दछु ।
६। छिमेकी मुलुकहरुसँगको सहयोग, साझेदारी र आपसी मित्रतालाई समयानुकुल अगाडी बढाउँदै मुलुकको स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण राख्नु आवश्यक छ । चिनियाँ राष्ट्राध्यक्ष सि चिनफिङले अघि सार्नुभएको वेल्ट एण्ड रोड परियोजना सिंगो विश्वको आर्थिक स्तर उकास्न सहयोग सिद्ध हुने बहस चलिरहेको वर्तमान सन्दर्भमा सो परियोजनाको व्यवहारिक कार्यान्वयनको लागि नेपाल चीनको भरपर्दो मित्र हुने वातावरण सृजना भएको यो स्वर्णिम समयमा चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणको लागि पहल गर्नु आवश्यक छ । त्यसका लागि तपाईको भूमिका महत्वपूर्ण हुनेमा शंका छैन । त्यसैले यस विषयमा उचित समयमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग परामर्श गर्न आग्रह गर्दछु ।
७। अन्तमा गाँठी कुरो तपाईको कार्यकालमा एक नम्वर प्रदेशले के पायो रु नेपाली जनताले गर्वले भन्न पाऊन्, एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईको कार्यकालमा प्रदेशले सही नेतृत्व पायो, सुशासन पायो, विकाससँगै समृद्धि पायोे, राष्ट्रिय एकताको लागि वलियो आधार पायो, देशको स्वाभिमान अझ उच्च राख्ने नेतृत्व पायो, पुरानो नेपाल भन्दा पनि गएगुज्रिएको नयाँ नेपालले नयाँ स्वरुप पायो, वेरोजगारीको चर्को मारमा परेर विदेशीएकोले स्वदेशमै काम, दाम र माम पायो, प्रदेशसँगै मुलुकले सुन्दर, शान्त र विशाल हुने मौका पायो।
अन्तमा पुनः एक पटक सफल कार्यकालको लागि हार्दिक शुभकामना साथ लाल अभिवादन !
चाईना वेस्ट नर्मल युनिभरसिटी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes