‘बागे सिमसारलाई पूर्वकै नमूना बनाउने योजना छः अध्यक्ष ठकुरी - Pahilo Online

‘बागे सिमसारलाई पूर्वकै नमूना बनाउने योजना छः अध्यक्ष ठकुरी

writer

मोहन भट्टराई

 

पुष्पराज शाही ठकुरी (अध्यक्ष) पशुपति सामुदायिक वन उपभोक्ता समूह पथरीशनिश्चरे–१० मोरङ

पशुपति सामुदायिक वनको परिचय बताइदिनोस् न ।
चारकोसे जंगलसँग जोडिएको यो सामुदायिक वन पथरीशनिश्चरे नगरपालिका वडा नं. १० मा पर्दछ । वि.सं. २०५८ सालमा पशुपति सामुदायिक वन उपभोक्ता समूह गठन भई संरक्षण तथा व्यवस्थापनको कार्य भइरहेको छ । यस सामुदायिक वनदेखि उत्तरमा पथरीशनिश्चरे साझेदारी वन, पूर्वमा मनकामना सामुदायिक वन र सिरिजंगा स्मृति धार्मिक वन, पश्चिममा भुल्के पशुपति सामुदायिक वन, डाँसखोला र दक्षिणमा ऐयाबारी उपभोक्ता क्षेत्र रहेको छ । यो सामुदायिक वन २ सय ६६ दशमलब ३४ (२६४.६७) हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यस सामुदायिक वनले कति उपभोक्तालाई वन पैदावर उपलब्ध गराउँदै आएको छ ?
समूहले पथरीशनिश्चरे नगरपालिका वडा नं. ४, ७, ९ र १० का क वर्ग र ख वर्ग गरी कुल १ हजार २३ घरधुरीका ५ हजार ८ सय ७९ जनसंख्यालाई काठ, दाउरादेखि लिएर वन पैदावर उपलब्ध गराउँदै आएको छ ।

वन पैदावर विक्रीबाट आएको आम्दानी कुन कुन क्षेत्रमा खर्च गर्नुहुन्छ ?
हामीले आम्दानीको २५ प्रतिशत वन विकासमा खर्च गर्दै आएका छौं भने बाँकी रहेको ७५ प्रतिशतलाई १०० प्रतिशत मानि ५० प्रतिशत विकास निर्माण सहितको सामाजिक काममा र ५० प्रतिशत महिला शशक्तिकरण र गरिवी निवारणमा खर्च गर्दै आएका छौं ।

वन विकासका लागि के के कार्य गर्नु भएको छ त ?
हामीले बेला–बेला डढेलोबाट वन जोगाउनका लागि अग्नी नियन्त्रण रेखा निर्माण गर्ने गरेका छौं । चोरी तस्करीबाट बचाउनका लागि समय–समयमा रात्री र दिवा गस्ती पनि गरिरहेका छौं । यस समूहको राजमार्ग दक्षिणमा रहेको ५७ हेक्टर क्षेत्रमा वार्षिक रुपमा विरुवा रोपणको कार्य भइरहेको छ । जसमा उन्नत जातका फलफुलहरु आँप, लिची, कागती, अनार र जडिबुटी जन्य विरुवाहरु हर्रो, बर्रो, अमलालगायतका विरुवा रोपीरहेका छौं । हामीले रोपेको आँप त यसपाली फुल्न सुरु गरेको छ ।
सरोकारवालाहरुबीच बेला–बेला छलफल, अन्तरकृया, गोष्ठीहरु पनि गर्ने गरेका छौं । समूहले वन हेरालु नियुक्त गरी प्रत्यक्ष गस्तीमार्फत वन संरक्षणको कार्य गरिरहेको छ ।

सामाजिक क्षेत्रमा चाहीं के के काम गर्नु भएको छ ?
सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले सामुदायिक वनको कार्यक्षेत्र भित्र नगरपालिकाको सहकार्यमा सडक, कल्भर्ट, पैनी सिंचाई, विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणमा आर्थिक सहयोग गर्दै आएका छौं । स्थानीय धर्म संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले मन्दिर, देवालयहरुलाई सहयोग गर्ने गरिएको छ ।

गरिवी न्यूनिकरणका क्षेत्रमा के के गर्नु भएको छ ?
आर्थिक रुपले अति विपन्न परिवारको घर निर्माण तथा केही विपन्नको घर मर्मत समेत गरेका छौं । उपभोक्ताको मृत्यु भएमा ५ हजार रुपैयाँ काजक्रिया खर्च, घाटसम्म निःशुल्क दाउरा उपलब्ध गराउँदै आएका छौं । विपन्न उपभोक्ताको आयआर्जनका लागि विभिन्न समयमा सिपमुलक तालिमको आयोजना गर्ने गरेका छौं । जसमा मोटरसाइकल मर्मत, गलबन्दी बुन्ने, सिलाई कटाई, कम्प्युटर, ड्राइभिङ, विद्युत वायरिङ सम्बन्धि तालिम सञ्चालन गरेका छौं ।

आगामी योजना के छ ?
हाम्रो पशुपति सामुदायिक वन क्षेत्रभित्र पर्यापर्यटनको प्रचुर संभावना रहेको छ । यस क्षेत्रमा पर्ने खानेपानी मुहानको संरक्षण गर्दै वरपरको सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका छौं । वन क्षेत्रमा रहेको बागे सिमसारलाई आन्तरिक पर्यटक आकर्षण गर्नका लागि रमणीय स्थलको रुपमा विकास गर्ने लक्ष राखिएको छ । पोखरी भित्र डुंगा सञ्चालनका साथै डिलमा विभिन्न जातका फुलका विरुवा रोप्ने, आगन्तुकलाई बस्ने फलैंचा निर्माण गरी वनभोज स्थलको रुपमा विकास गर्ने योजना रहेको छ । काठ दाउराबाट आएको आम्दानीबाट मात्रै होइन, दिगो आम्दानीको श्रोतको रुपमा वन क्षेत्रमा रहेको उक्त सिमसारलाई पूर्वकै नमूना बनाउने योजना रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes