पथरी । मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी रंगशालामा असोज १७ गतेदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका लागि सहभागी टोलीको टुंगो लागेसँगै आयोजकले मैदान, प्याराफिट, प्रचारप्रसार तथा अन्य व्यवस्थापकीय कामलाई तीव्रता दिएको छ ।
क्लबका अध्यक्ष सुमन विकेका अनुसार प्रतियोगितामा सिरहाको सलहेस फुटबल क्लब, न्युरोड फुटबल टिम, नेपाल पुलिस क्लब, भारत पश्चिम बंगालको युकेएफसी, झापा–११, रेड हर्ष इलाम, आयोजक पथरी–११ र थ्रि स्टार क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको टाइसिटसमेत सार्वजनिक भइसकेको आयोजकले जनाएको छ ।
यसअघि आयोजकले प्रतियोगितामा ए डिभिजन तथा विदेशी टोलीसहितको सहभागिता रहने जनाएको थियो । गत संस्करणको विजेता सलहेस फुटबल क्लब पनि यसपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । सलहेसले दोस्रो संस्करणको उपाधि जितेको थियो ।
पथरी–११ फुटबल क्लबका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरूको समेत उल्लेख्य सहभागिता रहनेछ । भारतबाट आउने खेलाडीमध्ये केहीले आइ–लिग खेलेका खेलाडीसमेत रहेको आयोजकको दाबी छ । नेपालका विभिन्न राष्ट्रियस्तरका खेलाडी सहभागी हुने र चर्चामा रहेका एरण थापासमेत प्रतियोगितामा आउने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष विकले प्रतियोगितालाई स्थानीय प्रतियोगितामा मात्र सीमित नगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई पथरीमा ल्याउने प्रयास गरिएको बताए । उनका अनुसार प्रतियोगिताले पथरीशनिश्चरेमा फुटबलको वातावरण निर्माण गर्नुका साथै स्थानीय खेलाडीलाई उच्चस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ ।
क्लबका सचिव केशर राईले वार्षिक रूपमा गोल्डकप सञ्चालन गर्ने योजनाअनुसार तेस्रो संस्करण आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगितालाई निरन्तरता दिँदै पथरीलाई फुटबलको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए । प्रतियोगिता सञ्चालनका लागि यसअघि सार्वजनिक गरिएको अनुमानित बजेट रु. ८० लाख रहेको छ । सहभागी टोलीको व्यवस्थापन, खेलाडी तथा प्राविधिक खर्च, प्याराफिट, रेफ्री, सुरक्षा, प्रचारप्रसार, मैदान व्यवस्थापनलगायतमा ठूलो रकम खर्च हुने आयोजकले जनाएको छ ।
तर प्रतियोगिता नजिकिँदै गर्दा आयोजकलाई आर्थिक स्रोत व्यवस्थापनको चुनौतीसमेत देखिएको छ । अध्यक्ष विकका अनुसार हालसम्म नगद रूपमा करिब रु. ९ लाख मात्र संकलन भएको छ । विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता गरिएको रकममध्ये कतिपय प्राप्त हुन बाँकी रहेको उनले बताए ।
प्रतियोगिताका लागि आयोजकले अहिलेसम्म टाइटल स्पोन्सर पाउन सकेको छैन । करिब साढे तीन महिनाअघि पत्रकार सम्मेलन गरेर सहयोगका लागि आह्वान गरे पनि हालसम्म टाइटल स्पोन्सर नजुटेको अध्यक्ष विकले बताए । त्यसैले प्रतियोगिताको नाम हाल ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप’ नै कायम गरिएको छ । कुनै संस्था वा व्यवसायिक प्रतिष्ठान टाइटल स्पोन्सरका रूपमा आए नाममा त्यसअनुसार परिवर्तन गर्न सकिने आयोजकले जनाएको छ ।
यद्यपि विभिन्न व्यक्ति, व्यवसायी तथा स्वदेश–विदेशमा रहेका शुभेच्छुकबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको आयोजकको भनाइ छ । प्रतियोगिताका लागि पथरीशनिश्चरे नगरपालिकाले चालु आर्थिक वर्षमा रु. १० लाख बजेट छुट्याएको छ । नगरपालिकाले आगामी वर्षमा समेत प्रतियोगिताका लागि बजेटलाई निरन्तरता दिने गरी वार्षिक बजेटमा समेटेको आयोजकले जनाएको छ । यसअघि सार्वजनिक गरिएको प्रारम्भिक विवरणमा भने नगरपालिकाबाट रु. २० लाख सहयोग प्राप्त हुने अपेक्षा गरिएको थियो ।
प्रतियोगिताको मैदानसमेत व्यवस्थित बनाइएको छ । करिब दुईदेखि अढाई महिनादेखि मैदानमा आवतजावत तथा अन्य गतिविधि नियन्त्रण गरी घाँस संरक्षण, पानी हाल्ने, रोलर चलाउने र ग्रेडिङ गर्ने काम गरिएको अध्यक्ष विकले बताए । अहिले मैदानमा बढेको घाँस काट्ने काम भइरहेको र केही दिनमै सम्पन्न हुने उनले जानकारी दिए ।
दर्शक व्यवस्थापनका लागि यसपटक प्याराफिटको संख्या पनि बढाइएको छ । गत संस्करणमा १७ वटा प्याराफिट रहेकोमा यसपटक २३ वटा प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार करिब ५ देखि ६ हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतियोगिताको खेल हेर्न सामान्यतर्फ रु. १०० प्रवेश शुल्क तोकिएको छ ।
आयोजकले मौसमले साथ दिएमा लिग चरणका खेलमा कम्तीमा तीन हजार दर्शक र फाइनलमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा गरेको छ ।
प्रतियोगिताको विजेताले रु. ६ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ३ लाख नगद पाउनेछ । गत संस्करणको तुलनामा यसपटक उपाधि पुरस्कारसमेत वृद्धि गरिएको हो ।
पथरी–११ फुटबल क्लबले गोल्डकपलाई प्रतियोगिता आयोजना गर्ने संस्थाका रूपमा मात्र नभई स्थानीय खेलाडी उत्पादन गर्ने अभियानका रूपमा अघि बढाउने जनाएको छ । क्लबका अनुसार पथरी–११ वर्षभरि सक्रिय रहने गरी आफ्नै खेलाडी उत्पादन र प्रशिक्षणमा समेत केन्द्रित छ ।
क्लबका अनुसार यसअघि पथरी–११ बाट उत्पादन भएका धीरेन विष्ट र समीर क्षेत्रीले मछिन्द्रबाट राष्ट्रिय लिग खेलेका छन् भने नीरज परियार नेपाल पुलिस क्लबमा आबद्ध भएर खेलेका थिए । स्थानीय खेलाडीलाई उत्पादन गरी राष्ट्रियस्तरमा पुर्याउने अभियानलाई गोल्डकपसँग जोडिएको क्लबको भनाइ छ ।




