रामकुमारी राई
पथरी शनिश्चरे । पथरी शनिश्चरे–४, मोरङस्थित जनकल्याण आधारभूत विद्यालयमा बृहत् अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ। भेलाले रेखा कार्कीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति तथा भिमा राई मगरको नेतृत्वमा शिक्षक अभिभावक संघ गठन गरेको छ।
नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रेखा कार्की, सदस्यहरूमा नारायणी मगर, कला राई र विनिता पाण्डे चयन भएका छन्। त्यस्तै शिक्षक अभिभावक संघतर्फ सदस्यमा भिमा राई मगर, सुनिता घिमिरे, शुष्मा राई र जगतबहादुर बुढाथोकी चयन भएका छन्।
विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, वडा अध्यक्ष लोकनाथ न्यौपाने, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयको सहभागिता थियो। कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक आनन्दप्रसाद घिमिरेले गरेका थिए।
कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले सामुदायिक विद्यालय समुदायको सम्पत्ति भएकाले यसको विकास र सुधारमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए। ‘तपाईँहरुको सम्पत्ति हो। सामुदायिक विद्यालय समुदायको सम्पत्ति हो,’ उनले भने, ‘यसलाई राम्रो बनाउन, फलाउन–फुलाउन र अगाडि बढाउन सबैभन्दा महत्वपूर्ण योगदान यही समुदायमा बसोबास गर्ने आमाबुबा तथा अभिभावकको हुनेछ।’
उनले विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिमा अभिभावकले निरन्तर निगरानी र अनुगमन गर्नुपर्नेमा जोड दिए। शिक्षकहरूले दैनिक रूपमा शैक्षिक तथा प्रशासनिक काम ठीक ढङ्गले गरेका छन् कि छैनन् भन्ने विषयमा अभिभावकले नजिकबाट नियाल्ने र आवश्यक सुझाव दिने हो भने विद्यालय अझ राम्रो बन्न सक्ने उनको भनाइ थियो।
खुलालले पछिल्लो समयमा केही सामुदायिक विद्यालय कमजोर बन्दै गएको र केही विद्यालय भने सुधार हुँदै नमुनाका रूपमा स्थापित भइरहेको बताए। कमजोर बन्दै गएका विद्यालयमा आसपासका अभिभावकको भूमिका न्यून हुँदै गएको र राम्रो बन्दै गएका विद्यालयमा अभिभावकको विश्वास, माया र भरोसा प्रमुख आधारका रूपमा देखिएको उनले उल्लेख गरे। ‘जो सामुदायिक विद्यालय अहिले राम्रो बन्दै गएका छन्, नमुनाका रूपमा छन् र विद्यार्थी संख्याका हिसाबले भरिभराउ छन्, त्यहाँ एउटै महत्वपूर्ण कुरा छ– अभिभावकको विश्वास, माया र भरोसा,’ उनले भने।
आफ्ना छोराछोरीलाई जनकल्याण आधारभूत विद्यालयमा अध्ययन गराइरहेका अभिभावकलाई धन्यवाद दिँदै उनले अन्य अभिभावकसम्म पनि विद्यालय सुधार हुँदै गएको सन्देश पुर्याउन आग्रह गरे। ‘हिजोको जनकल्याण आधारभूत विद्यालयभन्दा आज फेरि राम्रो हुँदैछ, पढाइ हुँदैछ, हामीले नानीबाबुलाई यहीँ पढाउनुपर्छ भन्ने सन्देश नानीबाबु नपढाएका अभिभावकसम्म पुर्याउने जिम्मेवारी पनि तपाईँहरूकै हो,’ उनले भने।
उनले नेपाली समाजमा आर्थिक अवस्था केही सुधार हुनेबित्तिकै छोराछोरीलाई निजी विद्यालयमा पठाउने प्रवृत्ति बढेको उल्लेख गर्दै निजी विद्यालय मात्र राम्रो र सामुदायिक विद्यालय सबै नराम्रो भन्ने धारणा सही नभएको बताए।
जनकल्याण आधारभूत विद्यालयमा योग्य, दक्ष तथा तालिम प्राप्त विषय शिक्षक रहेको दाबी गर्दै उनले नगरपालिकाबाट विद्यालयको पटक–पटक अनुगमन हुने गरेको जानकारी दिए। नगरपालिकाले विज्ञ समूह बनाएर विद्यालयहरूको अनुगमन गरिरहेको र उक्त समूहबाट प्राप्त प्रतिवेदनमा जनकल्याणका शिक्षकहरू नियमित रूपमा काम गरिरहेको तथा दिइएका जिम्मेवारी पूरा गरेको पाइएको उनले बताए। ‘त्यसैले पनि यो विद्यालयलाई थप विश्वास र माया यहाँहरूले गर्नु जरुरी छ,’ उनले भने।
खुलालले सामुदायिक विद्यालयमा अध्ययन गर्दा अभिभावकको आर्थिक भारसमेत कम हुने बताए। कक्षा ५ सम्मका विद्यार्थीका लागि नेपाल सरकारले दिवा खाजाको व्यवस्था गरेको, पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउनेलगायतका सुविधाले अभिभावकको खर्च घट्ने उनको भनाइ थियो। अहिले बचत भएको रकमलाई भविष्यमा छोराछोरीको कक्षा ११/१२ तथा उच्च शिक्षामा खर्च गर्न सकिने उनले बताए।
कार्यक्रममा वडा अध्यक्ष लोकनाथ न्यौपानेले विद्यालयको अभिभावक भेलालाई अभिभावकहरूले दिएको महत्व प्रशंसनीय रहेको बताए। विद्यालयले बोलाएको समयमा नै अभिभावकहरू उपस्थित भएर भेलामा सहभागी भएको उल्लेख गर्दै उनले विद्यालयको हित हुने गरी सकारात्मक र सक्षम टिम निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताए।
उनले विद्यालय व्यवस्थापन समिति गठनलाई केवल समिति निर्माणको विषयका रूपमा नलिई विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि जिम्मेवारी लिने अवसरका रूपमा लिन आग्रह गरे। विद्यालयलाई राम्रो बनाउन शिक्षक, अभिभावक, व्यवस्थापन समिति, वडा तथा समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष तथा निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर गुरुङले सामुदायिक विद्यालयको विकासको मुख्य जिम्मेवारी समुदाय र अभिभावककै भएको बताए। उनले अभिभावकहरू आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा नपढाई निजी विद्यालयमा पठाउने प्रवृत्तिप्रति व्यंग्य गर्दै सामुदायिक विद्यालयमा सरकारले ठूलो लगानी गरिरहेको बताए। ‘हामी सरकारभन्दा धनी छौँ यहाँका विशेष अभिभावकहरू। सरकारले व्यवस्था गरेका स्कुलमा त पढाउँदैनौँ, व्यापारिक स्कुलमा लगेर छोराछोरी पढाउँछौँ,’ उनले भने।
सरकारले जनकल्याण आधारभूत विद्यालयका लागि वार्षिक करिब ६० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने गरेको उल्लेख गर्दै गुरुङले उक्त लगानीको प्रत्यक्ष लाभ स्थानीय अभिभावक र विद्यार्थीले लिनुपर्ने बताए। ‘वर्षको ६० लाख अनुदान कसलाई दिएको हो त भन्दा तपाईं–हामी घरछिमेकी सबैलाई दिएको हो। यसको बेनिफिट हामीले हाम्रा छोराछोरीलाई शिक्षादीक्षा दिएर, पढाएर लिनुपर्छ,’ उनले भने।
विद्यालयको उन्नति र प्रगति बाहिरबाट कोही आएर गरिदिने नभई स्थानीय अभिभावक, शिक्षक र समुदायले नै गर्नुपर्ने उनको भनाइ थियो। अभिभावकलाई विद्यालय व्यवस्थापनमा जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले नयाँ व्यवस्थापन समितिले विद्यालयको हितमा काम गर्नुपर्ने बताए।




