पथरी । सौन्दर्य क्षेत्रमा बढ्दो रोजगारीको सम्भावनालाई लक्षित गर्दै पथरीमा ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ । सीटीइभीटीबाट सम्बन्धन प्राप्त एकेडेमीले स्थानीय युवालाई बजारको मागअनुसारको सीप प्रदान गरी स्वरोजगार बन्न सहयोग गर्ने लक्ष्य लिएको छ ।
अत्याधुनिक सौन्दर्य सेवा प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको यस एकेडेमीको पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर देवीमाया काफ्लेले रिबन र केक काटेर उद्घाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं उपमेयर काफ्लेले स्थानीय स्तरमै प्राविधिक र व्यावसायिक सीप सिकाउने यस्ता संस्थाले युवाहरुलाई स्वरोजगार बन्न ठूलो मद्दत पुर्याउने बताउनुभयो ।

सौन्दर्य व्यवसायमा आफ्नो सेवा विस्तार गर्ने क्रममा सो पार्लरको आउटलेट उर्लाबारीमा पनि संचालनमा छ । यसअघि उर्लाबारी–७, मिनीमार्केटमा ‘द ब्युटी वर्ल्ड’ युनिसेक्स सलोन एण्ड एकेडेमी सञ्चालनमा ल्याइसकेको छ । क्युट कट पार्लर एण्ड एकेडेमी व्यावसायिक तथा प्राविधिक सीप विकास परिषद् (सीटीइभीटी)बाट सम्बन्धन प्राप्त तालिम केन्द्रको रुपमा सञ्चालनमा आएको हो ।
संस्थाले आधुनिक र गुणस्तरीय सौन्दर्य सेवा दिनुका साथै युवाहरुलाई व्यावसायिक र पेशागत तालिम प्रदान गरी बजारको माग अनुसारको दक्ष जनशक्ति तयार गर्ने मुख्य लक्ष्य राखेको छ । एकेडेमीमा प्रदान गरिने तालिम र सेवाहरुबारे प्रष्ट पार्दै संचालक तथा प्रमुख प्रशिक्षक रेखा बस्नेतले तालिममार्फत प्रशिक्षार्थीहरुलाई अनुहार सौन्दर्य (फेसियल), हेयर कट, मेकअप, स्किन केयर, म्यानिक्योर, पेडिक्योर लगायतका आधारभूत ब्युटी सेवासम्बन्धी सम्पूर्ण व्यावहारिक र प्राविधिक सीप प्रदान गरिने जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक सञ्चालक राजकुमार भट्टराईको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पथरीशनिश्चरे वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई र वडा नम्बर ७ का वडाध्यक्ष उद्धव बस्नेत उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी, अतिथिहरुमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पूर्व महासचिव तुलसी ढकाल, संघकी वर्तमान कार्यसमिति सदस्य राधिका ढकाल, उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ लगायत स्थानीय तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थानीय स्तरमै अत्याधुनिक प्रविधि र सुविधायुक्त सेवा पाउनुका साथै आधिकारिक रुपमा प्राविधिक सीप सिक्न चाहनेहरुका लागि क्युट कट पार्लर एण्ड एकेडेमी सहज गन्तव्य बनेको छ ।


