पथरी शनिश्चरे, १२ पुस नेकपा एमालेको मोरङको पथरी शनिश्चरे वडा नम्बर ८ मा गठित ९ वटा टोल कमिटीका पदाधिकारीको आज सपथ ग्रहण र अपाङगता भएकाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
दोहोलु शुक्रबारेमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम मोरङ इञ्चार्ज विनोद ढकाल, केन्द्रीय सदस्य एवम जिल्ला सहइञ्चार्ज युवराज वास्कोटा सहितले टोल कमिटीका १ सय ८९ जनालाई सपथ ग्रहण गराउँदै वडामा नयाँ उर्जाका साथ काम गर्न शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला इञ्चार्ज ढकालले पार्टी छोड्नेहरुप्रति संकेत गर्दै अव देशमा एमालेले पार्टीमा सुद्धिकरण भई नयाँ ढंगले जनलहर सिर्जना गरेर आगामी निर्वाचनमा आफ्नो वर्चस्व कायम राख्ने बताउनु भयो ।
नगरमा टोल कमिटी गठनको लहर सिर्जना गरेको वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्कीको अध्यक्षताको कार्यक्रममा क्षेत्रीय कमिटी सदस्य एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर अध्यक्ष रमेश दहाल सहितले मन्तव्य व्यक्त गर्नुभयो । सो अवसरमा, अपाङगता भएका १२ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला सदस्य जीवन खतिवडा, भगत थपलिया लगाएतको नेताको उपस्थिति रहेको थियो ।