कानेपोखरी । मोरङको कानेपोखरीमा लेनिन जयन्ती तथा नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित वैचारिक कार्यशालामा लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र किरातीले वर्तमान सन्दर्भमा समाजवाद कार्यान्वयनका चुनौतीहरूबारे गहिरो विश्लेषण प्रस्तुत गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी कानेपोखरी गाउँकमिटीको आयोजनामा आज विहीबार लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसरमा किरातीले यस्तो बताएका हुन् ।
कानेपोखरी–२ स्थित जनजाति भवनमा आयोजित “आजको सन्दर्भमा समाजवादको चुनौती” विषयक वैचारिक कार्यशाला तथा अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रममा प्रमुख वक्ता लेखक तथा विश्लेषक राजेन्द्र किरातीले नेपालमा समाजवाद केवल नारामा सीमित हुँदै गएको भन्दै व्यवहारमा रूपान्तरण हुन नसकेको टिप्पणी गरे । उनले भने, “नेपालको राजनीतिक अस्थिरता केवल आन्तरिक कारणले मात्र होइन, भू–राजनीतिक शक्तिहरूको प्रभावबाट पनि निर्देशित भइरहेको छ । यस्तो अवस्थामा समाजवादको बहस गर्दा राष्ट्रिय नीतिगत स्वायत्ततालाई केन्द्रमा राख्न आवश्यक छ ।”
किरातीले वर्तमान राजनीतिक अभ्यासप्रति प्रश्न उठाउँदै थपे, “लोकतन्त्र संस्थागत भए पनि यसको गुणस्तर कमजोर छ । नीतिगत स्वतन्त्रता बिना समाजवादको लक्ष्य प्राप्त गर्न सकिँदैन ।” उनका अनुसार समाजवादको चुनौती केवल आर्थिक संरचनासँग मात्र नभई राज्य सञ्चालनको चरित्रसँग पनि जोडिएको छ । “जबसम्म राज्य नीति बाह्य प्रभावबाट मुक्त भएर जनपक्षीय बन्दैन, तबसम्म समाजवादी लक्ष्य प्राप्ति कठिन रहन्छ,” उनले स्पष्ट पारे ।
कार्यक्रमका अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य जयराज संयोकले कार्यक्रमको औचित्य पुष्टि गर्दै वर्तमान परिस्थितिमा समाजवादबारे गहिरो वैचारिक बहस आवश्यक रहेको बताए । उनले कार्यकर्ताहरूलाई सिद्धान्त र व्यवहारबीचको अन्तर बुझेर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तव्य गाउँकमिटी अध्यक्ष दुर्गा बहादुर कार्कीले व्यक्त गरेका थिए । उनले स्थानीय तहमा संगठन सुदृढीकरणसँगै वैचारिक स्पष्टता आवश्यक रहेको उल्लेख गरे ।
कार्यकर्ताहरूमा वैचारिक स्पष्टता र राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको कार्यशालामा सहभागी कार्यकर्ताहरूले समाजवादका व्यवहारिक चुनौती, संगठन विस्तार, र वर्तमान राजनीतिक परिस्थितिबारे जिज्ञासा राखेका थिए ।




