अध्ययनको केन्द्र बन्दै पथरीको हरियाली सामुदायिक वन - Pahilo Online

अध्ययनको केन्द्र बन्दै पथरीको हरियाली सामुदायिक वन

writer

मोहन भट्टराई

मोरङ । मोरङको पथरीशनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समुह वन संग सरोकार राख्नेहरुको अध्ययनको केन्द्र बन्दै गएको छ । यस सामुदायिक वनले वैज्ञानिक वनको क्षेत्रमा देशभरीकै उत्कृष्ट काम गरी ‘गणेशमानसिंह राष्ट्रिय सामुदायिक वन पुरस्कार प्राप्त गरेपछि अध्ययनको केन्द्र बनेको हो ।

हरियाली सामुदायिक वन उपभोक्ता समुहले आ.व. ७२÷७३ बाट दुई सय ४५.९४ हेक्टर क्षेत्रफलमा बैज्ञानिक वन व्यावस्थापनको थालनी गरेको हो । उक्त वैज्ञानिक वन व्यवस्थापन अन्य क्षेत्रकोभन्दा फरक शैलीमा गरिएको छ । वनको वैज्ञानिक व्यवस्थापन गरिएको क्षेत्र (कुप) मा तार घेराबारा नगरी विरुवा हुर्काइएको छ । चरीचरण पूर्णरुपमा निषेध गरेर तार घेराबारा नगरी वनको वैज्ञानिक व्यवस्थापन गरिएको क्षेत्र हेर्न दैनिकजसो समूहहरु आउने गरेको समुहका अध्यक्ष काबुलबहादुर मगर बताउँछन् । ‘कहिले काहीं त एकैदिन दुई तीनवटा टोली आउँछन्, समय दिनै गाह्रो हुन्छ’– अध्यक्ष मगरले भने ‘त्यस्तो बेला भ्रमणमा आउने सबै टोलीलाई एकैपटक फिल्डमा लाने र व्रिफिङ गर्ने गरेका छौं ।’

तीन वर्षअघि वनको वैज्ञानिक व्यवस्थापन सुरु गरेको हरियालीमा हालसम्म तीनसय बढी अध्ययन टोलीले अवलोकन गरिसकेको कार्यालय सचिव लिलाबहादुर गुरुङले जानकारी दिए । कार्यालय सचिव गुरुङका अनुसार हालसम्म नेपालका पश्चिमी क्षेत्रका सामुदायिक वन समूह, सांसद, प्रदेश वन मन्त्रालयका प्रतिनिधि, वन विभागका प्रतिनिधिलगायतले हरियाली सामुदायिक वन क्षेत्र अवलोकन गरिसकेका छन् । ‘फरेष्ट्री अध्ययनरत हेटौंडा र पोखरा क्याम्पसका विद्यार्थीहरुको टोली त हरेक वर्ष नै अध्ययनका लागि आउने गरेका छन्’– गुरुङले भने ।
गत मंसिर २२ गते डिभिजन वन कार्यालय धनकुटाको टोलीले अध्ययन अवलोकन गरेको छ । सामुदायिक वनमा गरिएको वैज्ञानिक वन व्यावस्थापनको गहिरो अध्ययन अवलोकन गरेको वैज्ञानिक वन व्यावस्थापन अध्ययन भ्रमण जिल्ला बाहिर कार्यक्रम संयोजक डिभिजन वन कार्यालय धनकुटाका सहायक वन अधिकृत ललित कुमार यादवले जानकारी दिए । ‘वैज्ञानिक वन व्यावस्थापन मार्फत हरित वातावरण संरक्षण र वनको दिगो व्यावस्थापनमा गरिएको अभ्यास हेर्दा हरियाली सामुदायिक वनमा स्थानीयले वन पैदावर शहज रुपमा उपयोग गर्नुका साथै रोजगार समेत पाएको हामीले थाहा पायौं’– सहायक वन अधिकृत यादवले भने ।

सामुदायिक वनमा वैज्ञानिक वन व्यावस्थापन गर्दा त्यस वनबाट रोजगारीको श्रृजना, राजश्वमा बृद्धि, आयातीत काठको माग क्रमिक रुपमा घट्दै जाने, उपभोक्ताको काठ दाउराको आवश्यकता सजिलै उपलब्ध हुने, वनको उत्पादन र उत्पादकत्व कायम रहने उनको तर्क छ ।
हालको जलवायु परिवर्तनबाट उत्पन्न भएका प्रभावहरुलाई वैज्ञानिक वन व्यावस्थापनबाट न्युनिकरणमा सहयोग पुग्नलगागतका फाईदा प्राप्त गर्न सकिने प्रदेश सरकार प्रदेश नम्वर एक प्रदेश वन निर्देशानालय धरानका वन निर्देशक रविन्द्र महर्जन जानकारी दिए ।

उक्त अध्ययन भ्रमणमा डिभिजन वन कार्यालय मोरङ्गका डिभिजनल वन अधिकृत विशाल घिमिरे, सव डिभिजन वन कार्यालय पथरी शनिश्चरेका सहायक वन अधिकृत अल्लाउद्धिन अन्सारी, स्थानीय उपभोक्ता, राजनीतिकर्मी, उपभोक्ता महासंघ, पत्रकार, स्थानीय बुद्धिजीविलगायतले वैज्ञानिक वन व्यावस्थापनको अध्ययन अवलोकन गरेका थिए ।

अध्ययन टोलीले गत मंसिर १९ गते देखि २२ गते सम्म सञ्चालन गरिएको भ्रमणको पहिलो दिनमा सलकपुर सामुदायिक वनको १५ कठ्ठा क्षेत्रफल जग्गामा लगाईएको विभिन्न जातको विरुवाको नर्सरीको अवलोकन गरेको थियो ।
डिभिजन वन कार्यालय धनकुटाबाट सामुदायिक वन भित्र वैज्ञानिक वन व्यावस्थापनको कार्यान्वयनको चरणमा रहेका मछिन्द्र सल्लेरी सामुदायिक वन तथा सावाबारी सामुदायिक वनमा वैज्ञानिक वन व्यावस्थापन लागु हुदा सरोकारवालाहरुलाई वैज्ञानिक वन व्यावस्थापन सम्बन्धी जानकारी गराई जन चेतना फैलाउने उद्धेश्यले भ्रमणको आयोजना गरिएको डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत युवराज मास्केले जानकारी दिए ।

आठ वटा व्लक रहेको डिभिजन वन कार्यालय मोरङ्ग शलकपुर स्थित सव डिभिजन वन कार्यालय मार्फत सञ्चालनमा आएको एकसय वटा वेडमा दुई लाख ५० हजार विरुवा उत्पादन गर्ने क्षमता सहितको वेड निर्माण गर्ने तोैर तरिका वन नर्सरी शलकपुरमा उत्पादन गरिएका विभिन्न जातका विरुवा सहितको वन नर्सरीको भ्रमण टोलिले अध्ययन अवलोकन गरेको सव डिभिजन वन कार्यालय शलकपुरका सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए ।

जैविक बिबिधताको धनी देश नेपालमा हावापानी सुहाउदो वैज्ञानिक वन व्यावस्थापन गर्नु भनेको स्थानीय स्तर मै रोजगार दिने आयश्रोतको एक दरिलो आधार हो ।
देशको प्रमुख प्राकृतिक वन श्रोतबाट प्राप्त हुन सक्ने आर्थिकलगायतका बहुउद्धेयीय लाभ प्राप्त गर्दै यसको उपलब्धता र सेवालाई भावि पुस्तासम्म हस्तान्तरण गर्न यसको दिगो व्यावस्थापनका लागि वैज्ञानिक वन व्यावस्थापनको थालनी गरिएको हो ।

लक्षित वन क्षेत्रबाट उमेर पुगेका परिपक्व रुखहरु क्रमीक रुपमा हटाउने र त्यस ठाउँमा नयाँ विरुवाको वन हुर्काउने, वयस्क उमेरका रुखहरु रहेका स्थानमा ती रुखहरुको उच्च बृद्धिदर हासिल गर्न गरिने बिभिन्न वन गोडमेल, काँटछाट र उपचारलगायतका क्रियाकलापहरु सञ्चालन गरी समग्र रुपमा वन संवद्र्धन र सदुपयोग कार्य गर्नु नै व्यावस्थापनको एउटा तरीका हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes