टन्न खाएपछि शरीर फूर्तिलो र जाँगरिलो हुनु पर्ने हुँदाहुँदै पनि शरीर अल्छि भएर निन्द्रा लाग्ने गर्छ । यो हुनुमा शरीरमा धेरै प्रक्रियाहरू एकै पटक घटिरहेका हुन्छन् । मानव शरीरले गर्ने कामहरूलाई दुई भागमा छुट्याउन सकिन्छ । पहिलो काम उर्जाको लागि खाएको खानाहरूबाट पोषण लिने र दोश्रो अंगहरूले गर्नु पर्ने काम गरेर उक्त पोषणबाट प्राप्त भएको उर्जा नस्ट गर्नका लागि प्रयोग गरिन्छ ।
डा. कल्याण सुबेदीका अनुसार पोषण लिने र पचाउने बेलामा मानिसको दिमाग धेरै सक्रिय हुन्छ । दिमाग सक्रिय हुँदा शरीरको निकै धेरै उर्जा नस्ट हुने हुँदा शरीरलाई त्यति फाइदा हुँदैन । यसकारण पनि खाना पचाउने बेलामा शरीर बिश्राम गर्ने अर्थात् रेस्ट मोडमा जान्छ, जसलाई विज्ञानको भाषामा प्यारा सिम्पथेटिक एक्टिभिटी भनिन्छ । रेस्ट मोडको ठीक उल्टो प्रक्रिया सिम्पथेटिक एक्टिभिटी वा बुझ्ने भाषामा एक्टिभ मोडमा शरीरका अति महत्वपूर्ण अंगहरू वा शरीरमा हुने प्रक्रियाहरू अलि बढी सक्रिय हुने हुँदा सामान्यभन्दा ज्यादा काम गरिरहेको हुन्छ ।
मुटु छिटो चल्ने, दिमागमा रगत छिटो र धेरै पुग्ने, आँखा छर्लंग खुल्ने, हत्तासिएको बेलामा पनि हावा भित्र–बाहिर सजिलै गर्नका लागि फोक्सो खुल्ने जस्ता प्रक्रियाहरू पर्छन् जुन तत्काल सक्रिय नहुँदा मानिसको ज्यान जान सक्छ । तर, कुनै समयमा शरीरमा निकै अल्छी लागेर पल्टेको बेलामा अचानक कसैले चिच्याएमा वा कुनै आपतिजनक अवस्थामा भने अचानक जर्याक जुरुक उठेर दौडेर जान सकिन्छ । यसरी केही समय अघिसम्म नदेखिएको तागत अहिले आउनुको कारण शरीरको एक्टिभ मोड सक्रिय हुनु हो ।
पोषण लिने र पचाउने बेलामा शरीर सकेसम्म रेस्ट मोडमा गएर उर्जालाई जोगाउने गर्छ जसले गर्दा शरीर लाटो भएको तथा निन्द्रा लागेको महशूस हुने गर्छ । शरीर रेस्ट मोडमा भएको बेलामा रगतहरू शरीरको अन्य भागमा भन्दा आन्द्राको रक्तनली वरिपरि धेरै थिग्रिएका हुने हुँदा रगतमा भएका प्रोटिनलगायत धेरै तत्त्वहरू रक्तसंचार प्रणालीबाट निस्किएर शरीरका कोषभित्र छिर्न सुरु गर्छन् । आन्द्रा वरिपरि रक्तसंचार धेरै हुने हुँदा खाएको खानाबाट त्रिप्टोफन नामक तत्त्रव आन्द्राले सोसेर रगतमा छिट्टो पुर्याउन भ्याउँछ ।
त्रिप्टोफनले दिमागमा गएर थप रासायनिक प्रक्रिया अपनाएर निन्द्रा लगाउने काम गर्छ । यहि कारणले गर्दा पनि निकै शान्त दिन र आराम मन भएको बेलामा खाना खाँदा धेरै निन्द्रा लाग्ने गर्छ । यीबाहेक शरीर तथा दिमागमा अन्य स–साना प्रक्रिया पनि हुन्छन्, जसले गर्दा खाना खानेबित्तिकै हामीलाई निन्द्रा लाग्ने गर्छ । यसरी खाना खानेबित्तिकै झ्याप्प निन्द्रा लाग्न नदिनका लागि एकै पटकमा धेरै नखानेस् खाना खाएको १ घण्टापछि चिया कफी खाने गर्दा पनि निन्द्रा लाग्ने गर्दैन । चिया तथा कफीको सेवनले त्रिप्टोफनले गर्ने कामको ठीक उल्टो काम गर्ने हुँदा निन्द्रा लाग्न दिँदैन ।