फर्सीमा के–के पोषक तत्व पाइन्छ ? - Pahilo Online

फर्सीमा के–के पोषक तत्व पाइन्छ ?

writer

पहिलो अनलाइन

नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन् । जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो । फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ । बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस्त राख्न मद्दत गर्छ ।

फर्सीमा प्रसस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि मद्दत गर्छ । विभिन्न अनुसन्धानबाट बिटा क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने पनि देखिएको छ । यसैगरी, फार्सीमा प्रसस्त मात्रामा पाइने पोटासियमले हाम्रो शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न मद्दत गर्छ ।

अन्य तरकारीजस्तै फर्सी पनि फाइबरको राम्रो स्रोत हो । दीर्घ रोग (जस्तै– क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि) लाग्न नदिन हाम्रो शरीरलाई साधारणताया दैनिक २५–३० ग्राम फाइबर चाइन्छ । शरीरको यस्तो आवश्यकता परिपूर्ति गर्न पनि फर्सी लाभदायक छ तरकारी हो ।

क्यालोरी थोरै भए पनि फाइबर आवश्यक मात्रामा हुने भएकाले फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन र तौल नियन्त्रण प्रक्रियामा सहयोग पुग्छ । यस बाहेक फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले ‘एन्टिअक्सिडेन्ट’का रूपमा हाम्रो शरीरमा काम गर्छ। शारीरिक प्रक्रियाबाट निस्केका ‘फ्री रेडिकल्स’ (जुन शरीरका लागि हानिकारक हुन्छन्) लाई बढ्न दिँदैन ।

यस्तै, फर्सीको बियाँ प्रोटिनको उच्च स्रोत हो । यसमा प्रसस्त मात्रामा जिङ्क पनि पाइन्छ । जिङ्क शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कोषहरुको वृद्धि, पुरुषहरुको यौनक्षमता वृद्धि र इन्सुलिनको कामलाई नियन्त्रिण गर्न मद्दत गर्छ । जिङ्क गर्भवती महिलाका लागि पनि आवश्यक तत्व मानिन्छ ।

यसैगरी बियाँमा पाइने ‘अल्फा–लिनोलेनिक एसिड’ले हाम्रो मुटु स्वस्थ राख्न मद्दत गर्छ । अल्फा लिनोलेनिक एसिड हाम्रो शरीरभित्र गएर ‘ओमेगा ३’ र ‘ओमेगा ६’ जस्ता पोषक तत्वमा परिणत हुन्छ । जुन हाम्रो मुटु, आँखा र छालालाई स्वस्थ राख्न अत्यावश्यक छ ।

फर्सीको बियाँमा ‘ट्रिप्टोफ्यान’ नामक पोषक तत्व पाइन्छ, जुन शरीरभित्र अनुकूल वातावरणमा ‘सेरोटोनिन’ नामक तत्वमा परिणत हुन्छ । सेरोटोनिनले हाम्रो मुड ठीक राख्न र राम्रो निद्रा पार्न मद्दत गर्छ । साथै, सेरोटोनिनले तीक्ष्णता वृद्धि गर्न पनि सघाउने विभिन्न अध्ययनले देखाएका छन् । फर्सीको बियाँमा ‘म्याग्नेसियम’ नामको खनिज पदार्थ प्रसस्त मात्रामा पाइन्छ, जसले मुटुको कार्यमा सहयोग गर्नुका साथै दाँत र हड्डीको उचित विकाशमा मद्दत गर्छ ।

तर, ध्यान दिनुपर्ने कुरा के हो भने, फर्सीको बियाँमा हुने ‘फाइटिक एसिड’ले माथि उल्लेख गरिएका पोषक तत्वको पाचन क्रियामा बाधा पु¥याउने भएकाले दिनहुँजसो खाँदा भिजाएर खानु बढी लाभदायक हुन्छ । फर्सी र यसको बियाँजस्तै फर्सीको मुन्टा पनि उतिकै पोषिलो खानेकुरा हो । फर्सीको मुन्टामा पनि क्याल्सियम, पोटासियम, फस्फोरस, आइरन, म्याग्नेसियम, भिटामिन ए, के, बि, फोलेट, कप्पर, म्यान्गनिज जस्ता तत्व पाइन्छ । फर्सीको मुन्टामा प्रसस्त मात्रामा पाइने आइरनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रक्तअल्पता हुनबाट जोगाउँछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes