काठमाडौँ । नेकपा एमालेका सांसद शिवमाया तुम्बाहाम्फे प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको छ । कांग्रेस उम्मेदवार पुष्पा भूसाललाई हराउँदै तुम्बाहाम्फे उपसभामुख पदमा भारी मतसहित निर्वाचित हुनुभएको हो ।
शुक्रबार भएको मतदानमा वाम गठबन्धनकी तुम्बाहाम्फेले २०१ मत पाउँदा भूसालले ६१ मत प्राप्त गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको प्रस्ताव र एमालेका रवीन्द्र अधिकारीको समर्थनमा तुम्बाहाम्फे उपसभामुख बन्नुभएको हो । मोरङ निवासी ५३ वर्षीया तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन् ।
तुम्बाहाम्फेले आफूले पाएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने बताउनुभएको छ । निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले पार्टी राजनीतिबाट माथि उठेर उपसभामुखको भूमिका निर्वाह गर्ने बताउनुभयो ।