पाँचथर । बालीनाली बाँदरले सखाप पारिदिने गरेको भन्दै पाँचथरका जनप्रतिनिधिहरूले समस्याको दीर्घकालीन समाधानका लागि जिल्ला वन कार्यालयलाई गुहारेका छन् ।
जंगल र खोला आसपासको क्षेत्रमा मात्रै नभई आँगनमै पुगेर बाँदरले वर्षेनि अन्नबाली र खाद्यान्न सखाप पार्दा किसानहरू बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको जनप्रतिनिधिले गुनासो गरेका छन् ।
बाँदरकै कारण जिल्लाका जंगल र खोला आसपासका वस्ती मानवरहित हुँदै गएको जनप्रतिनिधिहरूले बताएका छन् । फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्वाङले बाँदरले गर्दा करेसाबारीमा पनि मकै लगाउन छाडिएको बताउनुभयो । घर छेउकै पात्ले र कटुसको घना जंगलमा ५ वर्षअघिदेखि बाँदर आएर दुःख दिने गरेको उहाँको भनाइ छ ।
बाँदरले घरमा राखेको मकै पनि लाने गरेको भन्दै बाँदरको सास्तीले आजित भएको स्थानीयले बताएका छन् । जिल्ला वन अधिकृत मेघराज राईसँग बाँदर समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयको आग्रहका आधारमा जनप्रतिनिधिले माग गरेका हुन् ।
जिल्लाको फालेलुङ गाउँपालिका उपाध्यक्ष हिमा अधिकारीले लुवाफु क्षेत्रमा हुलका हुल आउने बाँदरले बालीनाली सखापै पार्ने गरेको भन्दै बाली केही वर्षदेखि थन्क्याउन नपाएको बताउनुभयो । बाँदर र दुम्सीले गर्दा मकै घरमा ल्याउन किसानले नपाएको उहाँको भनाइ छ । बाँदरले धान पनि चामल पस्न थालेपछि लतारेर नष्ट गर्ने गरेको बताउनुभयो ।
वन्यजन्तुहरूमध्ये हात्ती, भालुलगायतका जन्तुहरूले क्षति पु¥याएको अवस्थामा क्षतिको उचित मूल्यांकन गरी पीडित किसानलाई सरकारले क्षतिपूर्ति दिने गरेकोले बाँदरपीडितलाई पनि सरकारले क्षतिपूर्ति दिनुपर्ने जनप्रतिनिधिको माग छ । जिल्ला वन अधिकृत मेघराज राईले भने तत्काल सुरक्षाकर्मी लगाएर बाँदर धपाउनु बाहेक आपूmसँग पनि कुनै विकल्प नभएको बताउनुभयो ।
जिल्लाको फिदिम नगरपालिकाको सरखण्डे, सालघारी, सुभाङको जेभाले, भारपाको हेवा खोला आसपासको क्षेत्र, रानीगाउँको तल्लो क्षेत्र, मौवाको मेवा, फालेलुङको लुवाफुलगायतका क्षेत्रका किसानहरू बाँदर, दुम्सी, मृगलगायतका जंगली जनवारहरूबाट किसानहरु पीडित छन् ।