रुख नकाटी टिकट काटेर लाखौं आम्दानी गर्ने लक्षमा धरानको लाङघाली सामुदायिक वन - Pahilo Online

रुख नकाटी टिकट काटेर लाखौं आम्दानी गर्ने लक्षमा धरानको लाङघाली सामुदायिक वन

writer

मोहन भट्टराई

पृष्ठभुमी
सुनसरी जिल्लाको सुन्दर नगरी धरान उप महानगरपालिका वडा नं ८ मा रहेको चारकोसे झाडीको एक भागको रुपमा रहेको यो वन इटहरी धरान लोकमार्गको पश्चिम तर्फ रहेको छ । यो वन पहिले पहिले घना वनको रुपमा रहेको थियो । पहाड तिरका मानिसहरु ज्याला मजदुरीका लागि यहाँ आइ घना जंङ्गल बिच काठ चिरान गर्नका लागि धरान (काठ चिरान गर्नका लागि बनाइने सजिलो संरचना) बनाइ काठ काट्ने ठाँउको नामबाट यस धरानबजारको नाम धरान हुन गएको किम्वदन्ति रहेको छ ।

इटहरी धरान सडक निर्माण भए पछि मधेसमा औलोको कारण बस्न गाह्रो भएका मानिसहरुको निम्ति उपयुक्त ठाउँको छनौटमा धरान बजार पर्न गयो । शिक्षा, स्वास्थ्य र अन्य सुविधाका लागि तेह्रथुम, ताप्लेजुङ, भोजपुर, धनकुटा, इलाम, पांचथर, संखुवासभा, खोटाङ, ओखलढुङ्गा लगायतका पहाडी जिल्लाहरुका मानिसहरुको रोजाइमा रहेको धरान बजारको बिस्तार तीव्र रुपमा भयो । साथै भारतीय सेना र बेलायती सेनामा जागिर खाइ बिदा तथा निवृतभइ फर्की आउने लाहुरेहरुले शुन्दर नगर, पहाडकै जस्तो हावापानी भएको, शिक्षा तथा स्वास्थ्य उपचारको राम्रो प्रवन्ध भएका कारण धेरै लाहुरेहरुले धरानमै बसोबास गरे ।

पहाडको फेदिमा रहेको धरान बजारमा आवास तथा ब्यापारका लागि अन्यत्रबाट आउने मानिसहरुको चापले छिट्टै खचाखच भरीयो र बजार विस्तार चारकोसी झाडी तर्फ हुन लाग्यो । आवास निर्माण तथा इन्धनका निम्ति वन फडानी तीव्र रुपमा हुन लाग्यो । अझ यती मात्र हैन बजारमा बसोवास गर्ने विपन्न मानिसहरुको निर्वाह दाउरेको रुपमा दाउरा बेचेर हुन लाग्यो ।

तत्कालिन सरकारको वन संरक्षणका लागि गरिएको प्रयास पनि त्यती प्रभावकारी वन्न सकेन र वन दिनानुदिन क्षयीकरण हुँदै गयो । वनमा रहेका खास गरी सखुवाका ठूला रुखहरु क्रमशः सकिंदै गए । बजार विस्तार हुनु पूर्व यस चारकोसे झाडिमा बाघ, थार, घोरल, मृग, हात्ति, निलगाई, बंदेल रहेका थिए र वन मासिंदै जाँदा ती जङ्गली जनावरहरु पनि लोप हुँदै गएको स्थानीय बुढापाकाहरु बत्ताउँछन । मयुर, कालिज, वन कुखुरा लगायत थुप्रै नचिनेका चराचुरुङ्गीहरु वनमा देखिने गरेको कुरा बुढापाकाहरु संझन्छन् ।

घना र बाक्लो वन भएका समयमा बाघले घरमा पालेका खसी बोका, गाई बाच्छा, कुकुर मारेको स्मरण गर्दछन् र यी जनावरहरु मासिएकोमा उनिहरु दुखः ब्यक्त गर्दछन् । स्थानीय जेष्ठ नागरिकहरु बिगतलाई संझेर बत्ताउँछन् । वि. सं. २०१६ सालमा वनको संरक्षण, संवद्र्धन र ब्यवस्थापनका लागि वन मन्त्रालयको स्थापना संगै केन्द्रमा चिफ कर्जरभेटर कार्यालय, सात वटा सर्कल कार्यालय र २२ वटा डिभिजन कार्यालयहरु त स्थापना भए तर वन मन्त्रालय र यसका सिमित संयन्त्रहरु एक्लैले वनको संरक्षण गर्न संभव भएन र वनको संरक्षण गर्ने अधिकार स्थानीय पञ्चायतलाई दियो । सरकारले वन जङ्गलको संरक्षणका लागि विभिन्न उपायहरु अवलम्वन गर्यो । यसै क्रममा २०४४ सालमा नेपाल सरकारले तत्कालिन ७५ जिल्ला मध्ये ७४ जिल्लामा जिल्ला वन कार्यालयहरु ९२ वटा इलाका वन कार्यालयहरु र ६९८ वटा रेञ्जपोष्टको ब्यवस्था मिलायो । यसै वनको नजिकमा धरानको तिनकुनेमा रेञ्जपोष्ट कार्यालयको स्थापना त भयो तर सिमित कर्मचारीहरुले वनको संरक्षण गर्न सकेनन् । रेञ्जपोष्टमा सशस्त्र सुरक्षा गार्डको ब्यवस्था गरियो । सुरु सुरुमा रञ्जपोष्टका कर्मचारीहरु र स्थानीय मानिसहरुको सम्वन्ध मित्रतापुर्ण वन्न सकेन । रेञ्जर र फरेष्टरले भेटे भने पक्रिएर दण्ड जरिवाना गर्ने मुद्धा चलाउने र उनिहरुका आँखा छल्न पाउँदा स्थानीयले रुख काटी लैजाने जस्तो लुकामारी चलि नै रह्यो ।

मानिसहरुलाइ काठ दाउराको अभाव हुन थाले पछि स्थानीय मानिसहरुले अव वन जङ्गलको संरक्षण सम्वर्धनमा सरकारलाइ सघाउनु पर्छ भन्ने महसुस गरी संरक्षणको अभियानमा लागे । २०५९ सालमा स्थानीय आदिवासी जनजाती समुदाय भित्रका मगरहरुको अगुवाइ र जिल्ला वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समुह गठन गर्ने कार्य सम्पन्न भयो । सामुदायिक वन गठन¸विधान तथा वन कार्ययोजना निर्माणका लागि रेञ्जपोष्ट कार्यालय तिनकुनेले सहयोग गर्यो ।

मगर भाषामा लाङघाली शब्दले गाउँ घर तथा छरछिमिक भन्ने अर्थ लाग्ने भएको र गाउँ घर सबै मिलि वनको संरक्षण गरौं भन्ने आसयको प्रतिविम्वको रुपमा यस सामुदायिक वनको नाम लाङ्घाली सामुदायिक वन राखिएको स्थानीय बत्ताउँछन् ।

वनको संरक्षण तथा संवर्धनका निम्ति उपभोक्ताहरुले घरलौरी पालो पहरा गर्न सुरु गरे । वन पैदावारको आधारभुत आवश्यक्ता पुरा गर्दै वन डडेलो नियन्त्रणका लागि मानिसहरुलाइ सचेत गराउने देखि कहिले कांही आगो लागीहाले सबै उपभोक्ताहरु मिलेर आगो नियन्त्रण गर्दै आए । वन डडेलो नियन्त्रण¸वन्य जन्तु संरक्षण¸वन पैदावार संरक्षण सम्वन्धि होर्डिङवोर्डहरु सडक छेउहरुमा राखेर सचेतना फैलाउने कामहरु हुँदै आएका छन् । २०५९।११।२५ गतेका दिन यस सामुदायिक वनको विधान निर्माण भइ तत्कालिन जिल्ला वन कार्यालय धरानमा दर्ता भयो ।

लाङघाली सामुदायिक वन उपभोक्ता समुह गठन गर्दा ३६९ हेक्टर वन क्षेत्रको चार किल्ला लगाएर गठन गरिएको भएता पनि विधान तथा वन कार्ययोजना निर्माण गर्दा तत्कालिन तिनकुने रेञ्जपोष्टका रेञ्जरले वेइमान गरेर ८२.०७ हेक्टर वन क्षेत्र मात्र स्थानीय समुदायलाइ हस्तान्तरण सिफारिस गरेको दुखेसो स्थानीय उपभोक्ताहरुको रहेको छ । सुरुमा सामुदायिक वन गठन हुँदाका समयमा निर्धारण गरेको वन क्षेत्र ३६९ हेक्टर नै हाल सम्म उपभोक्ताहरु संरक्षण संवर्धन गर्दै आएका छन ।

सिधा र सरल आदिवासी जनजाती उपभोक्ताहरुलाई सरकारी कर्मचारीले आश्वासनका भरमा अल्मल्याइ रहेको उनिहरुको भनाइ छ । स्थानीय उपभोक्ताहरुको दिनानुदिनको आवश्यक्ता परिपुर्तिका लागि पनि ३६९ हेक्टर वन क्षेत्र ब्लक थपेर पनि हस्तान्तरण गर्नु पर्ने उपभोक्ताहरुको माग छ । वन गठनको दुइ बर्ष पछि उपभोक्ताहरुले संरक्षण गरेको ३६९ हेक्टर वन मध्ये ८२.०७ हेक्टर मात्र वन क्षेत्र स्थानीय ५५० घरधुरीका ३००० उपभोक्ताहरुलाइ हस्तान्तर भएको हो । यो सामुदायिक वन समुद्र सतह देखि २४० मिटर देखि ३१५ मिटरको उचाइमा रहेको छ । उपभोक्ताहरुले संरक्षण गर्न सुरु गरे पछि वनको अवस्था पुरै सुधारिएको छ । पुनरुत्पान राम्रो छ¸वनमा वन्य जन्तु र चराचुरुङ्गीहरु पनि बढेका छन् । स्थानीय उपभोक्ताहरुको घाँस दाउरा र काठको न्युनतम खाँचो पुरा भएको छ ।

जैविक विवधताको अवस्था
यो सामुदायिक वन चारकोसे (झाडी) वनको एक टुक्राको रुपमा रहेको छ । यो प्राकृतिक वन हो र यस वनमा चौडा पाते रुखहरु रहेका छन् । यस सामुदायिक वनमा स्थानीय उपभोक्ताहरुलाइ सामुदायिक वनको रुपमा हस्तान्तरण भए पछी हुर्किएका प्राय पोल साइजका सालका रुखहरु रहेका छन् । उपभोक्ताहरुलाई वन हस्तान्तरण संगै उपभोक्ताहरुको सामुहिक प्रयासले वनको हैसियत बढेको छ साथै जैविक विविधताको संरक्षण भएको छ ।


सामुदायिक वनमा साल¸ सत्तिसाल¸ करमा¸ बोटधंयरो¸ जामुन¸ सिरिस¸ हर्रो¸ बर्रो¸ बाँझी¸ हाडे¸ औले¸ सेतो सिरिस¸ राजवृक्ष¸ सिमल¸ कुसुम¸ टिक¸ टाँटरी¸ रुद्राक्ष¸ अम्वा¸ भलायो¸ टाँकी¸ कालिकाठ¸ असारे¸ कुम्मी र अमला लगायतका बनस्पती प्रजातीहरु रहेका छन् । यसैगरी लहरा प्रजातीहरुमा भोर्ला¸ देब्रे लहरा¸ चरचरे¸माइकेनिया¸ पिपला¸ वन तरुल¸ कुकुरडाइनो र गिठ्ठा आदी रहेका छन् । झाडीहरुमा वनमारा¸ अरअरी काँडा¸ गलेनी¸ लज्जावती झार¸ तितेपाती¸ सिस्नो¸ कुरिलो¸ सर्पगन्धा¸ निगुरो¸उनिउ¸विभिन्न किसिमका भुइं घाँसहरु रहेका छन् ।

जंगली जनावरहरुमा चित्तल¸ रतुवा¸ बंदेल¸ बाँदर¸ ढेडु¸ दुम्सि¸ स्याल¸ खिरखिरे¸ खरायो¸ मलसांप्रो¸ लोखर्के¸ सालक¸ जरायो¸ खरायो आदि रहेका छन् । यसैगरी चराचुरुङ्गीहरुमा सुगा¸ मैना¸ भंगेरा¸ वनकुखुरा¸ ढुकुर¸ जुरेली¸ रानी चरी¸ मयुर¸ हुच्चिल¸ लाटोकोसेरो¸ रुपी¸ भ्याकुर¸ लामपुच्छ्रे¸ बेसारो¸ लुइचे¸ हुटिट्याउँ¸ कोइली¸ कोटेरो¸ धनेश लगायत रहेका छन् । घस्रनेहरुमा अजिंगर¸ गोहोरो¸ विभिन्न किसिमका सर्पहरु¸ क्षेपारो आदि रहेका छन् ।

सामुदायिक वन उपभोक्ता समुह गठन तथा हस्तान्तरणको मूख्य उद्धेश्यः
सामुदायिक वनको संरक्षण¸सम्वर्धन र सदुपयोगको सम्वन्धमा वनको हैसियत समेतलाई मध्य नजर गर्दै दिगो वन ब्यवस्थापनको माध्यमबाट दिर्घकालिन र अल्पकालिन उद्धेश्यहरु तपशिल अनुसार रहेका छन् ।

दिर्घकालिन उद्धेश्य
— वनको संरक्षण¸सम्वर्धन गरी घाँस¸ दाउरा¸ स्याउँला सोत्तर¸ काठ जस्ता अत्यावश्यक वन पैदावारको उपयोग गर्नु ।
– दिगो वन ब्यवस्थापनका माध्यमबाट वन तथा जैविक विविधताको संरक्षण गर्ने ।
– वन तथा जैविक विविधताको संरक्षण तथा संवर्धन गरी भ्ऋइ( त्यगचष्कm को विकास गर्ने ।
– सामुदायिक वनको माध्यामबाट स्थानीय गरीव¸ एकल महिला¸ विपन्न र दलित उपभोक्ताहरुको जीविकोपार्जनमा सहयोग गर्ने ।
– वातावरण सन्तुलनमा योगदान गरी सौन्दर्य बढाउने ।
– ब्यावसायिक नर्शरी स्थापना तथा संचालन गरी आम्दानी बढाउने ।
अल्पकालिन उद्धेश्य
– घाँस¸ दाउरा¸ स्याउँला सोत्तर¸ काठ जस्ता अत्यावश्यक वन पैदावारको आपुर्ती गर्ने ।
– वन क्षेत्र भित्रका ढला पडा¸ रोगी र बुढा रुखहरु क्रमशः हटाउँदै लैजाने ।
– खोला किनार तथा खाली ठाँउमा वृक्षारोपण गर्ने ।
– स्वच्छ वातावरण निर्माणमा सहयोग गर्ने ।
– वन तथा जैविक विविधताको संरक्षण गर्ने ।
– वन ब्यवस्थापन गरी वनको सौन्दर्यता वृद्धी गर्ने ।
– महिला तथा अवसरबाट वञ्चितिकरणमा परेको समुदायको सहभागिता र नेतृत्वमा वृद्धि तथा विकास गर्ने ।
– सामुदायिक वनको माध्यमबाट स्थानीय गरीव¸ एकल महिला¸ दलितको जिवकोपार्जनमा सहयोग गर्नु ।
– चरीचरन वन्द गरी आगलागी नियन्त्रण गर्ने ।
– समावेशी नेतृत्वको अभ्यास गर्दै नेतृत्व विकास गर्ने ।

उपभोक्ता समुहले वनको संरक्षण तथा ब्यवस्थापनलाई उच्च महत्व दिएको छ । उपभोक्ता समुहका सदस्यहरुले हप्तामा एक दिनका दरले बर्षमा १२ दिन वन हेरालुको रुपमा काम गर्दै आएका छन् र कार्य समितिका सदस्यले हरेक ५ दिनमा एक दिन वनको संरक्षण र संबर्धनमा काम गर्नु पर्दछ ।

यसका साथै सामुदायिक वन उपभोक्ता समुहले ४ जना वन हेरालु नियुक्ति गरेको छ । उनिहरुले अग्नीरेखाको सरसफाइ¸ चोरी निकासी र चोरी शिकारीको निरिक्षण¸ अनुगमन र सुचना प्रवाह गर्दछन् । यस वाहेक कार्य समितिले तोकेको कामहरु गर्दछन् ।
वनमा डडेलो लाग्यो भने सबै उपभोक्ताहरु मिलेर आगो निभाउँछन र उपभोक्ताहरुलाई मात्र वन डडेलो नियन्त्रण गर्न कठिन भए डिभिजन तथा सब डिभिजन वन कार्यालय¸ धरान उप–महानगरपालिका¸ नेपाल प्रहरी¸ सशस्त्र प्रहरी बल र कहिले काहीं नेपाली सेना समेतको सहयोग लिइने गरेको छ । हाल सम्म वन डडेलोको कारण कुनै मानवीय क्षती भएको पनि छैन तर पनि बटुवाका लापरवाहिका कारण वनमा बर्षेनी वन डडेलो लाग्ने गरेको छ ।

वनको बिचमा तिनढङ्गे खहरे खोला रहेको छ र यस खोलाले बर्षा याममा बर्षेनी कटान गरी क्षति पुर्याउँछ । । खहरे खोला नियन्त्रणका लागि ठाउँ ठाउँ ग्याविन पर्खाल र ठाउँ ठाउँ वायो इन्जीनियरीङ गरिएको छ । सामुदायिक वन भित्रका खाली भागमा ठाँउ ठाउँमा फलफुलका रुखहरु र ठाँउ ठाँउमा बाँस र अम्रिसो लगाइएको छ ।

सामुदायिक वनको कार्यालय हल तथा अन्य भौतिक संरचना निर्माण गरीएको क्षेत्रमा विभिन्न किसिमका फलफुलका विरुवा लगाइएका छन् । सामुदायिक वनले पुष्प नर्सरी स्थापना गरेको छ । फुलहरुका विरुवा उत्पादन तथा बिक्री गरी आम्दानी गर्दै आएको छ ।
विगत बर्षमा घाइते र टुहुरा वन्य जन्तुको उद्धारका निम्ति सेफ हाउस निर्माण तथा संचालन गरेको थियो । चार बर्ष अगाडी वन्य जन्तुमा घातक संक्रमण भइ सबै वन्य जन्तुको मृत्यु भयो र हाल विगतमा निर्माण गरिएको सानो प्राणी उद्यान खाली रहेको छ ।

सामुदायिक वनको पुरै भागमा तार जाली लगाइ बारको प्रवन्ध मिलाइएको छ । तार घेरा भित्र अनुमती बिना कोही कसैलाई प्रवेश गर्न निषेध गरिएको छ । वन क्षेत्र आस पास हातहतियार बोकी हिंडडुल गर्न¸चराचुरुङ्गी र वन्यजन्तु उडाउन, दच्काउन, लखेट्न निषेध गरेको छ । ठाउँ ठाउँमा वन तथा वन्य जन्तु संरक्षणका जन चेतना सम्बन्धी हर्डिङ वोर्डहरु राखिएका छन् ।

सुख्खा याममा वन डडेलो नियन्त्रणका लागि सतर्कता अपनाउनका निम्ति समय समयमा माइकिङ गरिन्छ । वन डडेलो नियन्त्रण र वन्य जन्तु तथा चराचुरुङ्गीहरुलाई पानीको ब्यवस्थापन गर्न वनका बिच बिचमा ४ वटा पोखरी निर्माण गरिएका छन् ।

वन पैदावार मौजदातको अवस्था
वन कार्ययोजना अनुसार वन पैदावार मौज्दातको अवस्था पोल ८६०, लाथ्रा ३७६९ र विरुवा १८५ प्रति हेक्टर रहेको छ । पुनरुत्पादनको अवस्था लाथ्रा १०६१.६६ र विरुवा १२६५१.६७ वा ११५.८८ वर्गमिटर प्रति हेक्टर रहेको छ ।

पूर्वाधार र आन्तरिक साशन
सामुदायिक वन संग एक कार्यालय भवन, ५०० मानिस क्षमताको तालिम हल, आवास गृह ( २६ कोठा २८ वेड भएको) चमेना गृह, पाले घर, शौचालय दुई, पिक्निक स्पोर्ट, बाल उद्यान समेत निर्माण गरिएका छन् । तालिम हल, आवासगृह र पिक्निक स्पोर्ट ब्यवसायिक प्रयोजनका निम्ति प्रयोग हुँदै आएको छ ।
समुहले राष्ट्रिय वाणिज्य बैंक धरानमा बैंक खाता संचालन गरेको छ । बैंक खाता समुहका अध्यक्ष, कोषाध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट संचालन हुँदै आएको छ । समुहको लेखालाई ब्यवस्थित र पारदर्शि बनाउन एक जना लेखा सहायकको नियुक्ति गरेको छ । सामुदायिक वनको आम्दानी खर्चलाइ ब्यवस्थित गर्न र विधिसम्मत गर्न गराउनका लागि लेखा तथा अनुगमन समिति निर्माण गरिएको छ । लेखा समितिले समुहको आन्तरिक लेखा परिक्षण गर्दछ र त्यस पछि मान्यता प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराइन्छ र लेखापरीक्षण प्रतिवेदन समुहको आमसभामा सार्वजनिक सुनुवाइ गराइन्छ ।


उपोक्ता समितिको बैठक मासिक दुइ पटक बस्ने गरेको छ र आवश्यक्ता अनुसार अन्य समयमा अपर्झट बैठक बस्नेछ । आमसभा बर्षमा एक पटक बस्छ । उपभोक्ता समितिको कार्यकाल ४ बर्षको हुनेछ । आमसभाले बिगतको समिक्षा, आगमी कार्ययोजना निर्माण र अन्य नितिगत निर्णय गर्दछ । सावउसमा गत आर्थिक बर्षमा ३२ लाख आम्दानी भएको थियो । सामुदायिक वन उपभोक्ता समुहको कोषबाट, वन संरक्षण, ब्यवस्थापन, कर्मचारी तलब भत्ता, बैठक भत्ता, भौतिक सुधारका कामहरु, विपन्न उपभोक्ताहरुलाई आय आर्जन तथा ब्यवसायिक कार्यक्रम संचालनका निम्ति सहयोग, सीप तथा प्रविधि हस्तान्तरण, जटिल र घातक रोग लागेका उपभोक्ताहरुलाइ उपचार सहयोग, खेल खेल्ने विभिन्न क्लबहरुलाई आर्थिक सहयोग, जेहेन्दार छात्रवृती, लाङ्घाली वाल विकास केन्द्रमा एक शिक्षकको तलब बरावरको रकम सहयोग गरेको छ । वालविकास केन्द्रमा समुहले सिफारिस गरेका विपन्न, भुमीहिन उपभोक्ता बालवालिका निःशुल्क अध्यापन गराइन्छ । समुहका जेष्ठ नागरिक सम्मान गर्नका साथै असहाय जेष्ठ नागरिकलाई भरण पोषण सहयोग पनि गर्दै आएको छ ।
समुहले प्राङ्गारीक मल उत्पादन गर्दै आएको छ । वायोब्रिकेट निर्माण गर्दछ र उत्पादित मल तथा ब्रिकेट विक्री गरिन्छ । यसका साथै अन्य समाजिक तथा भौतिक विकासमा समुहले उल्लेखनीय योगदान पु¥याएको छ ।

सामुदायिक वनमा नयाँ सदस्य प्रवेश हुन आउनेलाई प्रवेश शुल्क १० हजार लाग्नेछ । उपभोक्ता सदस्यको परिवारका सदस्य छुट्टिइ भिन्न भइ सदस्य बन्न चाहेमा ५ सय मात्र शुल्क लाग्नेछ । उपभोक्ता सदस्यहरुले बार्षिक १ हजार २ सय नविकरण शुल्क बुझाउनु पर्ने छ । साल र भोर्लाका पात विपन्न उपभोक्ताहरुलाई निःशुल्क उपलब्ध हुनेछ । उनिहरुले पातबाट दुना टपरी निर्माण गरी धरान बजारमा बिक्री गरी घरखर्च चलाउने गर्दछन् ।

उपभोक्ताहरुलाइ मात्र घाँस, सोत्तर निःशुल्क उपलब्ध हुनेछ । हँसिया, खुर्पा, खुकुरीको प्रयोग गरी संकलन गरिएका दाउरा उपभोक्ताहरुलाई प्रतिभारी २ रुपैयाका दरले उपलब्ध हुनेछ । साल चिरान काठ प्रति घन फुट १ हजार पाँच सय, साल गोलिया ८ सय, साज चिरान १ हजार, कर्मा चिरान १ हजार, अन्य काठ ३ सय प्रती क्युफीट बिक्री गरिन्छ । खाँवा २ सय देखि ५ सय सम्म साइज हेरी, हलो जुवा हरिस प्रति गोटा १ सय, बाँस प्रति गोटा १ सय साठी, वाकल प्रति रनिङ फुट १५ रुपैया, वाकल दाउरा प्रति केजी ३ रुपैया, अम्रिसो घाँस प्रतिभारी ३० रुपैयाँ, खर प्रतिभारी ५० रुपैयांका दरले मूल्य निर्धारण गरेको छ ।

उपभोक्ता समितिले वन अतिक्रमण गर्ने, वन पैदावार चोरी गर्ने, चोरी शिकार गर्ने, अनुमती विना वन क्षेत्रमा प्रवेश गर्ने, वन्य जन्तु तथा चराचुरुङ्गीलाई धपाउने लखेट्ने, आगजनी जस्ता कार्य गर्नेलाई क्षतिको अवस्था अनुसारको विगो असुलउपर गरी कारवाही गर्दछ । हानी नोक्सानीको प्रकृति हेरी कारवाहीका लागि सव डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी समेतमा सिफारिस गरि पठाउँछ ।
समुहका सदस्यहरुले वन संरक्षण तथा ब्यवस्थापनमा तोकिएको दिन योगदान नगरे वा सदस्यता शुल्क नबुझाए पनि सदस्यताबाट हटाउने सम्मको कारवाही गर्दछ । समुहको कोषको रकम हिनामिना गर्ने वा नोक्सानी गर्नेलाई हदै सम्मको कारवाही गरिन्छ ।

सामाजिक समावेशिकरणको अवस्था
यस समुहमा आदिवासी जनजातीहरुको सधन बसोबास रहेको छ । आदिवासी जनजाती मध्ये मगर, लिम्वु, तामाङ, राई लगायत छन् भने बाहुन क्षेत्री, दलित र मधेसीहरु समेतको बसोबास रहेको छ । कार्यसमितिमा १७ जना पदाधिकारी सदस्यहरु रहेका छन् । जसको अध्यक्षता झमकबहादुर मगरले गरेका छन् । कार्य समितिमा महिला ७ जना र पुरुष १० जना रहेका छन् । कुल ५५० घरधुरीका ३ हजार उपभोक्ताहरु मध्ये महिला १४८४ र पुरुष १५१६ रहेका छन् ।

आगामी दिनमा वाल उद्यानलाई ब्यवस्थित गर्ने, पिक्निक स्पोर्टको स्तरउन्नती गर्ने, बनस्पती उद्यान निर्माण गर्ने, वनको बिच बिचमा पोखरीहरु निर्माण गर्ने, वन क्षेत्रको बिचबिचमा पिपल लगायत फल फुल जातका वृक्षारोपण गर्ने । जंगली जनावरको बासस्थान संरक्षण गर्ने लगायतका कामहरु सम्पादन गर्ने योजना छ । पुष्प नर्सरीलाई विस्तार गरी विभिन्न प्रजातीका विरुवा उत्पादन गर्ने गरी ब्यवसायिक नर्सरीको विकास गर्ने । उपभोक्ताहरुमा वन तथा जैविक विवधता संरक्षण, जलवायु परिवर्तन अनुकुलन, वातावरण संरक्षण लगायतका चेतनामुलक तालिमहरु संचालन गर्ने । उपभोक्ताहरुलाई ब्यवसायिक सिपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउँदै लैजाने । सामुदायिक वनलाई समुदायका विपन्न उपभोक्ताहरुको जीविकोपार्जनका रुपमा अवसरहरु श्रृजना गरी रोजगारी दिने कार्ययोजना रहेको छ । धरान उप–महानगरपालिकासंग र अन्य दातृ निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थासंग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोगको अवसर श्रृजना गर्ने र सबै उपभोक्ताहरु बिच पारिवारीक वातावरणको स्थापना गर्ने योजना रहेको समुहका अध्यक्ष झमकबहादुर मगर बबाउनुहुन्छ ।
चुनौतीहरु
सामुदायिक वन भित्र थुप्रै संभावना रहँदा रहँदै पनि चुनौतीहरुको पनि थाक लागेको छ । घना बसोबास रहेको धरान बजार छेउको वनमा चोरी तस्करी त्यतिकै रहेको छ । इटहरी धरान लोकमार्ग र वनको उत्तर तर्फ पनि ग्राभेल सडक भएको कारण वन पैदावार चोरी निकासी पनि चुनौतीको रुपमा रहेको छ । वन डडेलो, मानव वन्य जन्तु द्वन्द्व, वनमा मिचाहा प्रजातीहरु आगमन, स्वयं सेवी भावना घट्दै जानु, चोरी शिकार, सामुदायिक वन माथी तिनै तहका सरकारले लगाएको तेहेरो कर, सामुदायिक वनका उपभोक्ताहरुले संरक्षण र संवद्र्धन गर्दै आएको वन क्षेत्र उपभोक्ताहरुलाई हस्तान्तरण नगरी अन्य वन ब्यवस्थापन पद्धतिमा लैजान वन कर्मचारी उद्यत रहनु । खहरे खोलाले बर्षेनी कटान गर्ने अर्को चुनौती रहेको छ ।

आगामी योजना
यो सामुदायिक वन शुन्दर नगरी धरानकै काखमा रहेको हुँदा यसमा पर्यटन विकासको संभावना रहेको छ । यसमा वाल उद्यान, वनस्पती उद्यान, जंगली जनावर उद्यान, आदीबासी जनजाती संग्रहालयको रुपमा विकास गर्न सकिने थुप्रै संभावनाहरु रहेका छन् । सामुदायिक वन ब्यवस्थापन पद्धती र समुदाय परिचालन पद्धतीलाई माध्यमिक तहका विद्यार्थीहरुलाई अध्ययनका लागि श्रोत केन्द्रको रुपमा विकास गर्न सकिन्छ । पुष्प वाटीकालाई थप ब्यवस्थति गर्नका साथै सामुदायिक वनलाई वहुसाँस्कृतिक केन्द्रको रुपमा विकास गर्दा सामुदायिक वनले रुख नकाटी टिकट काटेर लाखौं लाख आम्दानी गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • सह–सम्पादकः विजयकुमार पाठक (काठमाडौं)
  • प्रबन्ध निर्देशकः मोहनप्रसाद भट्टराई

© Copyright 2017 - 2020 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes