दर्ता छैनन् निजी बोर्डिङ - Pahilo Online

दर्ता छैनन् निजी बोर्डिङ

कानेपोखरीका २२ मध्ये १७ वटा बिना दर्ता संचालनमा

writer

पहिलो अनलाइन

पथरी । मोरङको कानेपोखरी र पथरीशनिश्चरे क्षेत्रमा अधिकांश निजी विद्यालय गैरकानूनी ढंगबाट सञ्चालन भइरहेको पाइएको छ ।

केही दिनअघिमात्र स्थानीय तहको शिक्षा समितिले गरेको अनुगमनबाट यस्तो रहस्य पत्ता लागेको हो । अनुगमनका क्रममा कानेपोखरीका २२ वटा निजी विद्यालयमध्ये ५ वटा बाहेक सबै गैरकानूनी ढंगबाट सञ्चालन भएको पाइएको छ ।

जसमा पर्ल एकेडेमी, रमाइलो बालजगत, सर्चलाइट, पिनाकल ज्ञानमन्दिर र फिनिक्स बोर्डिङ स्कुल बाहेक अन्य १७ वटा निजी विद्यालय गैरकानूनी ढंगबाट सञ्चालन भइरहेको कानेपोखरी गाउँपालिकाका स्रोत व्यक्ति प्रेमकुमार कार्कीले जानकारी दिनुभयो ।

‘हामीले त्यस्ता गैरकानुनी रुपमा सञ्चालनमा भएका सबै विद्यालयलाई कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिएका छौं,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि हामीले अनुगमनको रिपोर्ट गाउँपालिकालाई पेशसमेत गरेका छौं ।’

अनुगमनका क्रममा अधिकांश विद्यालयले तल्लो तहको मात्रै स्वीकृति लिएको भए पनि माथिल्लो तहसम्मको अध्यापन गराएको पाइएको थियो । शैक्षिक सत्र सुरु हुनासाथ ती विद्यालयले माथिल्लो कक्षाका लागि अभिभावकलाई विभिन्न प्रलोभन दिएर भर्ना लिएपछि त्यसको विरोध भएको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङकी सदस्य मनकुमारी गुरुङको अगुवाइमा गैरकानूनी तबरले चलेका विद्यालयलाई कारवाही गर्न माग गर्दै विद्यालय सञ्चालकको टोली गाउँपालिका पुगेको थियो । सो टोलीले लिखित उजुरी दिएपछि गाउँपालिकाको शिक्षा समितिले अनुगमन गरेको हो ।

समितिले अनुगमन गरी कानेपोखरी गाउँपालिकाभरी सञ्चालन भएका निजी विद्यालयहरुको अवस्था सार्वजनिक गर्ने काम मात्र गरेको रमाइलो बालजगत ईग्लिस बोर्डिङ स्कुलका सञ्चालक दानबहादुर बस्नेतले बताउनु भयो ।

‘कानूनी प्रकृया पूरा नगरी माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयलाई कारवाही गर्ने तर्फ गाउँपालिकाले चासो नदिएपछि हामीले पुनः अर्को उजुरी दर्ता गरेका थियौं,’ बस्नेतले भन्नुभयो, ‘त्यसको पनि कुनै सुनुवाई भएको छैन ।’

यता कानेपोखरी गाउँपालिकाकी उपाध्यक्ष राजमति इङनामले अध्यक्ष विरामी भएका कारण आफूहरूलाई विकासे योजना सम्पन्न गर्ने चटारो बढेको र नयाँ योजनाको तयारीमा जुट्नु परेकोले त्यतातिर ध्यान दिन नपाएको बताउनु भयो । ‘हामी छलफल गर्ने क्रममा छौं । अब चाँडै बोर्ड मिटिङ बस्दैछ, त्यसले जे निर्णय गर्छ त्यही अनुसार कारवाही अगाडी बढ्छ,’ उहाँले भन्नुभयो ।

उता कानूनी प्रकृया पूरा नगरिएका भनिएका निजी विद्यालयका सञ्चालक भने आफुहरुलाई सरकारले कानूनी अल्झन लगाएर थप कक्षा स्वीकृति नदिएको दाबी गर्छन् । ‘हामीले माथिल्लो कक्षाको लागि पहिले नै धरौटी रकम जम्मा गरिसकेका छौं,’ एक निजी विद्यालय सञ्चालकले भने, ‘तर शिक्षा कार्यालयले ठूला विद्यालय सञ्चालकको दवावमा परेर हामीलाई थप कक्षा सञ्चालन अनुमति दिएको छैन ।’

उनले अभिभावकको मागका आधारमा पनि माथिल्लो कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए । ‘एउटै परिवारका २/३ जना बच्चा भएको अवस्थामा दाजुदिदी पास भएर गएपछि सानो बच्चाको हेरचाह र स्कुल ल्याउन लान समस्या हुन्छ भनेर प्यारेन्टस्ले नै माथिल्लो कक्षा सञ्चालनको माग गर्नुहुन्छ’, उनले भने ‘उता राज्यले चाहीं हामीले माग गरे अनुसारको कक्षा थपको अनुमति दिंदैन ।’

यसैगरी, मोरङको पथरीशनिश्चरे नगरपालिकामा अधिकांश निजी विद्यालय कानूनी प्रकृया पूरा नगरी सञ्चालन भएको पाइएको छ । गत महिना शिक्षा समितिले गरेको अनुगमनबाट अधिकांश निजी विद्यालय मादण्डविपरीत सञ्चालनमा रहेको पाइएको विद्यालय निरीक्षक दुर्गा सिग्देलले जानकारी दिए । ‘धेरै विद्यालय अनुमति विना माथिल्लो कक्षा सञ्चालन भएको पाइयो’ विद्यालय निरीक्षक सिग्देलले भन्नुभयो, ‘हामीले त्यस्ता विद्यालयबारेमा नगरपालिकालाई जानकारी गराइसकेका छौं । कार्यपालिका बैठकपछि कार्यविधि अनुसार कारबाही गर्ने भनिएको छ ।’

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङका सदस्य एवं क्लस्टर नं. ७ का संयोजक सुरेन्द्र लिम्बूले केही निजी विद्यालयहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेको स्वीकार गर्नुभयो । ‘यसबारेमा हामी सूचना संकलन गरिरहेका छौ,’ संयोजक लिम्बूले भन्नुभयो, ‘त्यस्ता सञ्चालकलाई कानूनी प्रक्रिया पूरा गर्न दबाब समेत दिएका छौं ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes