शनिश्चरे साकोसको २५औँ साधारणसभा : सुशासन, पुँजी वृद्धि र एकीकरणमा जोड - Pahilo Online

शनिश्चरे साकोसको २५औँ साधारणसभा : सुशासन, पुँजी वृद्धि र एकीकरणमा जोड

writer

मोहन भट्टराई

मोहन भट्टराई
मोरङ । पथरीशनिश्चरे–९ स्थित शनिश्चरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाको वित्तीय अवस्था, सुशासन, सदस्यको सहभागिता, पुँजी वृद्धि, ऋण असुली तथा सहकारी संस्थाबीचको एकीकरणलगायत विषयमा छलफल गर्दै संस्थालाई थप व्यवस्थित र सदस्यकेन्द्रित बनाउनेमा जोड दिइएको छ।
साधारणसभामा संस्थाका पूर्वअध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सहकारी संस्था सञ्चालक समितिको मात्र नभई सबै सदस्यको साझा संस्था भएको भन्दै साधारणसभालाई संस्थाको गतिविधि मूल्याङ्कन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए।
उनले करिब १ हजार ५ सय सदस्य रहेको संस्थामा साधारणसभा भनेको सबै सदस्यको साझा थलो भएको उल्लेख गर्दै सञ्चालक समितिले गरेका कामको मूल्याङ्कन गर्ने र आगामी वर्षका कार्यक्रम पारित गर्ने अधिकार सदस्यहरूमै रहेको बताए। “यो बैठक सञ्चालक समितिको मात्रै होइन, हाम्रो हो भन्ने भावना विकास गर्नुपर्छ,” उनले भने।
निरौलाले संस्था सञ्चालनमा अहिले कुनै समस्या नदेखिए पनि भविष्यमा हुन सक्ने आर्थिक तथा व्यवस्थापकीय अनियमितताप्रति सदस्यहरू सचेत रहनुपर्ने बताए। संस्थालाई केवल सञ्चालकको विश्वासमा छाड्नुभन्दा सदस्यहरूले नियमित रूपमा गतिविधिको जानकारी लिने, छलफल गर्ने र आवश्यक निगरानी गर्नुपर्ने उनको भनाइ थियो।
उनले शनिश्चरे साकोस समुदायमा आधारित र सुशासनका दृष्टिले स्थापित संस्था भएको उल्लेख गर्दै संस्था ठूलो हुनुको आधार केवल पुँजी वा सदस्य सङ्ख्या नभएको बताए। विधिवत् सञ्चालन, सुशासन, पारदर्शिता, सदस्यमैत्री कार्यक्रम र संस्थाभित्र अपराधीकरण तथा अपारदर्शिताको अभाव नै उत्कृष्ट संस्थाको आधार भएको उनले बताए। “पैसा धेरै हुनु वा सदस्य धेरै हुनु मात्रै संस्था ठूलो हुनु होइन,” उनले भने, “जसको सञ्चालन पद्धति विधिवत् छ, सुशासन छ, पारदर्शिता छ र सदस्यका लागि प्रभावकारी कार्यक्रम छन्, त्यही संस्था उत्कृष्ट हुन्छ।”
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएको समस्या र त्यसपछि राज्यले ल्याएका कडा नियमनका कारण सहकारी संस्था सञ्चालनमा थप जिम्मेवारी बढेको उनले बताए। सहकारी क्षेत्रमा केही संस्थाको बदमासीका कारण समग्र सहकारी अभियानमाथि नै प्रश्न उठ्ने अवस्था आएको उल्लेख गर्दै उनले इमानदार र समुदायमा आधारित संस्थाहरूले आफ्नो साख जोगाउन अझ बढी पारदर्शी र जिम्मेवार भएर काम गर्नुपर्ने बताए।
उनका अनुसार अब सहकारी सञ्चालक तथा सदस्यले “मलाई थाहा थिएन” भन्ने अवस्था नरहेको भन्दै सञ्चालक समितिका प्रत्येक सदस्य कानुनी रूपमा जिम्मेवार हुने अवस्था आएको छ। त्यसैले सञ्चालकहरूले अत्यन्त संवेदनशील र सुशासित भएर संस्था सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। निरौलाले संस्थालाई व्यावसायिक रूपमा अगाडि बढाउन पुँजी वृद्धि आवश्यक रहेको पनि बताए। नयाँ सदस्य थप्ने सम्भावना सीमित हुँदै गएको अवस्थामा सदस्यको संख्या घट्न सक्ने अवस्थालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।
बचत तथा ऋण सहकारीमा एक व्यक्तिले एउटाभन्दा बढी संस्थामा सदस्य हुन नपाउने व्यवस्थाले आगामी दिनमा संस्थाको सदस्य सङ्ख्या तथा वित्तीय अवस्थामा प्रभाव पार्न सक्ने भन्दै उनले त्यसतर्फ समयमै रणनीति बनाउन सञ्चालक समितिलाई सुझाव दिए। उनले पथरीशनिश्चरे क्षेत्रका साना–साना बचत तथा ऋण सहकारीहरूबीच एकीकरणको आवश्यकता पनि औँल्याए। संस्थाहरू एकीकरण गरी ठूलो र मजबुत संस्था निर्माण गर्न सके सदस्यले प्राप्त गर्ने सेवा सहज हुनुका साथै पुँजीगत क्षमता पनि बढ्ने उनको भनाइ थियो।
यसैगरी संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद दाहालले प्रतिकूल आर्थिक अवस्थाका बाबजुद संस्थाले सदस्यको आर्थिक पहुँच र सुरक्षाका लागि निरन्तर काम गरिरहेको बताए। उनले संस्थाको सुशासन, विकास र गुणस्तरीय सेवामा विशेष ध्यान दिइएको जानकारी दिए।
अध्यक्ष दाहालका अनुसार जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले सञ्चालन गरेको संस्था प्रवद्र्धन, विकास तथा सुरक्षा (आईपीडीएस) कार्यक्रममा सहभागिता जनाउँदै संस्थालाई थप गुणस्तरीय र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको छ। आर्थिक मन्दीका कारण अपेक्षाअनुसारका सबै कार्यक्रम सञ्चालन गर्न नसकिए पनि सदस्यको सहयोगका कारण वित्तीय सूचकहरू कायम गर्न सहयोग पुगेको उनले बताए।
आर्थिक मन्दीका कारण लगानीका क्षेत्र खुम्चिँदा ऋण लगानी र असुलीमा केही असर परेको अध्यक्ष दाहालले बताए। पुराना केही ऋणी सदस्यले पटक–पटक ताकेता गर्दा पनि साँवा तथा ब्याज भुक्तानी नगरेका कारण संस्थाको नाफामा असर परेको र त्यसले शेयर लाभांशमा समेत प्रभाव पारेको उनले उल्लेख गरे। त्यस्ता ऋणीबाट ऋण असुलीका लागि आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।
संस्थाको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ऋण लगानी ४ करोड ३४ लाख १० हजार ८३० रुपैयाँ भएको छ। सो अवधिमा ३ करोड ७७ लाख ७८ हजार १७१ रुपैयाँ ८९ पैसा ऋण असुली भएको र असार मसान्तसम्म बाँकी ऋण ९ करोड ९३ लाख ४७ हजार २७ रुपैयाँ २० पैसा रहेको जनाइएको छ।
संस्थामा भाखा नाघेको ऋण १८ लाख ३३ हजार ३४८ रुपैयाँ ५० पैसा रहेको छ। कुल ऋण लगानीमा भाखा नाघेको ऋण २ दशमलव ६४ प्रतिशतमा झार्न सफल भएको संस्थाले जनाएको छ। ऋण सुरक्षणसम्बन्धी व्यवस्था पनि पूर्ण गरिएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल आम्दानी ७७ लाख ८६ हजार ९६७ रुपैयाँ ८९ पैसा रहेको छ भने कुल खर्च ६६ लाख ९५ हजार ६८ रुपैयाँ ९७ पैसा रहेको छ। आम्दानी र खर्चपछि संस्थाले १० लाख ९१ हजार ८९८ रुपैयाँ ९२ पैसा बचत गरेको जनाएको छ। उक्त बचतबाट आयकरको व्यवस्था गरी बाँकी रकम सहकारी नियमावली तथा संस्थाको विनियमअनुसार विभिन्न कोषमा बाँडफाँड गरिएको छ।
साधारणसभामा संस्थाको चारवर्षे रणनीतिक योजनाअनुसार आगामी कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। संस्थाको ध्येय “सन्तुष्ट सदस्य, सक्षम साकोस” रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संस्थाका सबै गतिविधि सोही ध्येय पूरा गर्ने दिशामा केन्द्रित गरिने बताए। आवश्यक कार्यविधि निर्माण तथा विद्यमान कार्यविधिलाई समयानुकूल परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए।
साधारणसभामा उत्कृष्ट विद्यार्थी, ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा कर्मचारीलाई सम्मान गरिएको थियो। उत्कृष्ट विद्यार्थीअन्तर्गत छात्रतर्फ साइमन दुलाल र छात्रातर्फ भावना राईलाई सम्मान गरिएको थियो। कर्मचारीतर्फ बचत परिचालक मंगली लिम्बूलाई पुरस्कार प्रदान गरिएको जनाइएको छ। त्यस्तै, ज्येष्ठ नागरिकतर्फ ओलबहादुर खड्का, अच्युतप्रसाद घिमिरे, धनाङ्गे लिम्बू, दिलबहादुर कटुवाल, शिरोमणि अधिकारी, देवीमाया तिम्सिनालगायतलाई सम्मान गरिएको थियो।
सभामा आर्थिक प्रतिवेदन तथा आगामी बजेट कोषाध्यक्ष महेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए भने लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक मानबहादुर गुरुङले प्रस्तुत गरेका थिए। साधारणसभाको कार्यसूचीमा सहकारी एकीकरण, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम तथा कार्यविधि संशोधन र निर्माण तथा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनसम्बन्धी विषयसमेत समावेश थिए।
साधारणसभा संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। सचिव थानेश्वर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा ऋषिराज पौडेलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सल्लाहकार एकराज निरौलासहित अतिथि, लेखा संयोजक, सञ्चालक समिति सदस्य, लेखा समितिका सदस्य, सल्लाहकार तथा ज्येष्ठ सदस्यहरूको सहभागिता थियो।
साधारणसभाको बन्दसत्रमा नव निर्वाचित सञ्चालक समिति तथा उपसमितिका सदस्यलाई निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो।
शनिश्चरे साकोसको सञ्चालक समिति सर्वसम्मत निर्वाचित
यसैबीच, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको छ।
निर्वाचनअन्तर्गत विभिन्न पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन उपसमितिका अनुसार सञ्चालक समितिको अध्यक्षमा खगेन्द्रप्रसाद दाहाल, उपाध्यक्षमा राजकुमारी चेम्जोङ, सचिवमा ज्ञानेन्द्र दाहाल र कोषाध्यक्षमा महेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, खुला सदस्यतर्फ मुकेश पौडेल र अर्जुनकुमार तामाङ तथा महिला सदस्यतर्फ मञ्जु फुयल, कमला निरौला र पवित्रा ओडारी निर्विरोध निर्वाचित भएका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा टीकाराम काफ्ले तथा सदस्यमा पवित्रा पौडेल ढुङ्गाना र रामप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन उपसमिति संयोजक चेतनाथ पौडेलका अनुसार संस्थाको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सबै पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि निर्वाचन प्रतिस्पर्धाविहीन रूपमा सम्पन्न भएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles