पथरी । पथरी शनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारलाई सफा, व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले प्रयोगविहीन इन्टरनेट तथा केबलका तार हटाउने अभियान सुरु गरिएको छ।
वडा नं. १ कार्यालयको पहलमा बुधबारदेखि सुरु भएको अभियानअन्तर्गत बजार क्षेत्रमा पोलमा अव्यवस्थित रूपमा झुण्डिएका तथा लामो समयदेखि प्रयोगमा नरहेका इन्टरनेटका तार हटाउन थालिएको हो।
लामो समयदेखि प्रयोगविहीन तारहरू पोलमा झुण्डिरहँदा बजार क्षेत्र अव्यवस्थित देखिनुका साथै बजारको सौन्दर्यमा समेत असर परेको भन्दै वडा कार्यालयले तार व्यवस्थापन अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानलाई प्रभावकारी बनाउन वडा नं. १ का वडाध्यक्ष भीम राईले बजार क्षेत्रमा सेवा सञ्चालन गरिरहेका इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीहरूलाई आफ्ना प्रयोगविहीन तार आफैं हटाएर व्यवस्थापन गर्न आग्रह गरेका छन्।
वडाध्यक्ष राईका अनुसार सम्बन्धित सेवा प्रदायक कम्पनीहरूले सोमबारसम्म आफ्ना प्रयोगविहीन तार नहटाए वडा कार्यालयले आफैं तार काटेर व्यवस्थापन गर्नेछ। बजार क्षेत्रलाई व्यवस्थित बनाउने अभियानमा वडा कार्यालयले कडाइ गर्ने उनको भनाइ छ।
उनले बजारको सौन्दर्य र स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएकाले व्यवसायी, इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी र स्थानीयवासीलाई अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।
वडा कार्यालयले प्रयोगमा रहेका तारलाई भने सम्बन्धित सेवा प्रदायकसँग समन्वय गरी व्यवस्थित गर्ने जनाएको छ। बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका तार हटाएपछि सडक तथा पोल क्षेत्र सफा र व्यवस्थित देखिने अपेक्षा गरिएको छ।

