पथरीशनिश्चरे । पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयका ३० जना एनसीसी क्याडेट विद्यार्थीले खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा ड्रिल प्रदर्शन गरेका छन् । विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रसेवाको भावना विकास गर्ने उद्देश्यले रेडस्टार माध्यमिक विद्यालयमा सञ्चालित एनसीसी तालिमको शुक्रबार निरीक्षण गरिएको छ ।
शुक्रबार राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठले तालिमको अनुगमन तथा निरीक्षण गर्नुभएको हो।
निरीक्षणका क्रममा प्रमुख सेनानी श्रेष्ठले एनसीसी तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, कार्यदक्षता तथा राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्नुका साथै अनुशासित, जिम्मेवार र सक्षम नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी विरदत्त पन्तले यस्ता तालिमले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारीबोध, आत्मविश्वास र राष्ट्रसेवाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले खेलकुद तथा शारीरिक व्यायामले विद्यार्थीहरूलाई भावी जीवनमा समाजसेवा र राष्ट्रसेवामा समर्पित हुन प्रेरित गर्ने उल्लेख गर्दै सहभागी सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभयो।

सोही अवसरमा विद्यालयका प्राचार्य टि.एन. तिम्सिनाले एनसीसी तालिमले विद्यार्थीहरूको कार्यक्षमता, नेतृत्व क्षमता, राष्ट्रप्रेम तथा विपद् व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यस्ता तालिमलाई निरन्तरता दिन सके समाज र राष्ट्रलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय मोरङ याङशिलाका प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठ,सिनियर सुवेदार मिगेन्द्र प्रसाद दाहाल लगायत प्रतिनिधिहरू, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख वीरदत् पन्त तथा प्रतिनिधहरू, पथरीशनिश्चरे–२ का जनप्रतिनिधिहरु चन्द्रकुमार राई, खिलनाथ घिमिरे ,क्याडेट छात्र छात्राका अभिभावकहरु, विद्यालयका शिक्षक,विद्यालय सञ्चालक समितिका तर्फबाट बुद्वीनाथ अधिकारी, राजु तिम्सिना तथा पदाधिकारीहरु तथा एनसीसी क्याडेट विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सोही अवसरमा रेडस्टार माध्यमिक विद्यालयका १५ छात्रा र १५ छात्र गरी ३० जना एनसीसी क्याडेटहरूले खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा ड्रिल प्रदर्शन गरेका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रममा उपस्थित अतिथिहरू तथा अभिभावकहरूको विशेष ध्यान आकर्षित गरेको थियो।

