विराटनगर । नेकपा माओवादी केन्द्रले मन्त्री भएका पार्टी नेताहरुलाई प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरेको छ । शनिबार बसेको माओवादी केन्द्र हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो ।
प्रदेश न नंं. २ का इञ्चार्ज मात्रिका यादव, ५ का इञ्चार्ज वर्षमान पुन र ६ का इञ्चार्ज शक्ति बस्नेतको पार्टी जिम्मेवारी खोसिएको हो । उनीहरु सबै वर्तमान सरकारमा मत्री छन् । यस्तै पार्टी संसदीय दलको प्रमुख सचेतक देव गुरुङलाई पनि ४ नम्बर प्रदेशको इन्चार्जबाट हटाइएको छ ।
प्रदेश १ का इन्चार्ज रहेका गोपाल किरातीलाई यसअघि नै पार्टीले कार्वाही गरेर निश्कासन गरिसकेको छ । अब प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मा इन्चार्ज बनेका छन् । प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट भने पुरानै जिम्मेवारीमा कायम छन् ।
कार्यालयको बिस्तारिक बैठकले पार्टी एकता सम्बन्धी भएकाा कामबारे छलफल गरेको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । पार्टी एकताका लागि आन्तरिक तयारी पुरा गर्ने र सकेसम्म छिटो एकता गर्नेबारे बैठकमा छलफल भएको थियो ।
माओवादी केन्द्र र नेकपा एमालेबीच वैशाख दोस्रो साताभित्र पार्टी एकताको घोषणा गर्नेगरी २ वटा कार्यदलले तयारी गरिरहेका छन् । तर, कार्यदलमा रहेका धेरै सदस्यहरु मन्त्री भएको कारण तयारीको काम प्रभावित भएको बताइएको छ ।