धरान । आफ्नो मोवाईल चोरेको झोंकमा आवेग थाम्न नसक्दा धरान ११ का ५२ वर्षीय ज्योती गुरुङको कुटाईबाट एक स्थानीय युवाको मृत्यु भएको छ ।
गुरुङको आक्रमणबाट घाइते भएका ३१ वर्षीय नविन तामाङको उपचारको क्रममा बीपी प्रतिष्ठानमा मृत्यु भएको परिवारले जनाएको छ ।
तामाङलाई गुरुङले फागुन १८ गते खाँबामा वाँधेर सिस्नो पानी हाली निर्घात कुटपिट गरेका थिए । धरान ११ को सयपत्री चौकमा गुरुङले छोरामाथि कुटपीट गरेको पीडित परिवारको भनाइ छ । मोवाइल चोरी गरेको भन्दै घरै अगाडिको खाँबा वाँधेर मरणासन्न हुनेगरी कुटपिट भएको बताइएको छ ।
कुटाई खाएका तामाङ फागुन १९ गतेदेखि सिकिस्त विरामी परेका थिए । विरामी भएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । मृत्यु हुने तामाङले गुरुङको मोवाइल चोरी गरेर साथीलाई बिक्री गरेका थिए ।
तामाङको परिवारले आइतबार अपरान्ह इलाका प्रहरी कार्यालय धरानमा गुरुङ विरुद्ध उजुरी दिएका थिए । प्रहरी नायब उपरिक्षक रामेश्वर पौडेलले उजुरीपछि गुरुङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।