पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिको बैठकले विपद् जोखिम न्यूनीकरण, सुरक्षा व्यवस्थापन तथा जनस्वास्थ्य संरक्षणसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ ।
शुक्रबार नगरपालिकाको सभाहलमा बसेको समितिको बैठकले वडा नं. ६ मा रहेको साविक हसन्दह गाविस कार्यालयको नाममा रहेको करिब ५ कट्ठा जग्गा हाल अस्थायी रूपमा सञ्चालन हुँदै आएको प्रहरी चौकीको स्थायी भवन निर्माणका लागि उपलब्ध गराउन सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले प्रहरी चौकी स्थापना भएपछि विपद्का समयमा उद्धार तथा राहत कार्य प्रभावकारी बन्दै गएको निष्कर्षसमेत निकालेको छ ।
यसैगरी वडा नं. १ स्थित तमु बौद्ध गुम्बा परिसरमा रहेका दुईवटा सखुवाका रुख हावाहुरीका समयमा ढल्न सक्ने जोखिम रहेको भन्दै गुम्बा व्यवस्थापन समितिको अनुरोधअनुसार कानुनी प्रक्रिया पूरा गरी ती रुख हटाउन जिल्ला विपद् व्यवस्थापन समिति समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले डेंगु तथा स्क्रब टाइफस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शंकास्पद बिरामीको परीक्षणका लागि आवश्यक आरडीटी किट तथा पीसीआर किट खरिद र व्यवस्थापन गर्न नगरपालिकामा प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच आर्थिक वर्ष २०८२/०८३ मा नगर विपद् व्यवस्थापन समितिको सिफारिसमा विभिन्न व्यक्ति तथा संस्थालाई उपलब्ध गराइएको राहत रकम अनुमोदन गरिएको छ । बैठकले विपद् व्यवस्थापन कोषबाट भएको चालु तथा पुँजीगत खर्चको समेत समीक्षा गरेको छ ।
वडा नं. ९ निवासी सोमबहादुर थापाको घर तथा गोठमा आगलागीबाट पूर्ण क्षति पुगेको घटनामा नगरपालिकाले उपलब्ध गराएको ४० हजार रुपैयाँ नगद राहत तथा राहत सामग्री वितरणसम्बन्धी निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालयबाट विपद् उद्धारका लागि आवश्यक सामग्री माग भएको सन्दर्भमा नगरपालिकासँग तत्काल उद्धार सामग्रीको अभाव रहेकाले आवश्यक सामग्री व्यवस्थापनका लागि नगर कार्यपालिकासमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।
नगर विपद् व्यवस्थापन समितिका यी निर्णयले विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरण, सुरक्षा व्यवस्थापन, जनस्वास्थ्य संरक्षण र विपद्बाट प्रभावित नागरिकलाई राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


