सन्तोष कठायतः आर्मी अनुभवदेखि सामाजिक सेवासम्म - Pahilo Online

सन्तोष कठायतः आर्मी अनुभवदेखि सामाजिक सेवासम्म

writer

मोहन भट्टराई

शनिश्चरे । उमेरले ७६ वर्ष पार गरिसकेका सन्तोष कठायतको जीवनलाई केवल एउटा पेशा, एउटा राजनीतिक दल वा एउटा सामाजिक परिचयले मात्रै चिनाउन सकिँदैन । खोटाङमा जन्मिएर भारतीय सेनामा लामो समय बिताएका उनी अवकाशपछि राजनीतिमा होमिए । राजनीतिक उतारचढावसँगै सामाजिक काममा सक्रिय हुँदै आएका कठायत अहिले मोरङको पथरीशनिश्चरे–९ मा सामाजिक सेवामार्फत आफ्नो परिचय स्थापित गरिरहेका छन् ।

२०१० साल जेठ २३ गते खोटाङमा लालबहादुर कठायत र मचिन्द्रकुमारी कठायतका छोराका रूपमा जन्मिएका सन्तोषको जीवनको प्रारम्भिक चरण संघर्षपूर्ण थियो । रोजगारीका क्रममा उनी भारतीय आर्मीमा आबद्ध भए । सैन्य सेवाका क्रममा भारत र नेपाल आउजाउ गरिरहँदा उनको राजनीतिक झुकाव भने नेपाली कांग्रेसतर्फ थियो ।

समयक्रममा उनको जीवनमा अर्को महत्वपूर्ण मोड आयो । २०५३ सालमा भारतीय आर्मीबाट अवकाश लिएपछि उनी माओवादी राजनीतिमा आबद्ध भए । त्यो समय नेपालमा माओवादी आन्दोलन विस्तार हुँदै थियो । नयाँ राजनीतिक शक्तिले मुलुकमा परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासले आफू माओवादीमा जोडिएको उनी बताउँछन् । ‘पहिले त म भारतीय आर्मीबाट नेपाल आउँदै–जाँदै गर्थें । त्यतिबेला म नेपाली कांग्रेसमा थिएँ । २०५३ सालदेखि चाहिँ म आर्मीबाट रिटायर्ड भएपछि माओवादी पार्टीमा आबद्ध भएको हो’– कठायत आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै भन्छन् ।

पारिवारिक सम्बन्धले पनि उनको राजनीतिक यात्रालाई प्रभावित गरेको थियो । उनका ससुरालीतर्फका सालो दिलकाजी कार्की माओवादीमा सक्रिय थिए । उनी जिल्ला इञ्चार्जको भूमिकामा समेत थिए । कठायतका अनुसार द्वन्द्वकालमा खोटाङको चिसापानीमा सेनाले दिलकाजी कार्की र उनकी श्रीमतीको हत्या गरेको थियो । उनकी साली अस्मिता कार्की पछि खोटाङबाट सांसदसमेत बनिन् ।

माओवादीमा प्रवेश गर्दाको समयलाई सम्झँदा कठायतको स्वरमा अहिले पनि अपेक्षा र निराशा दुवै मिसिएको सुनिन्छ । नयाँ पार्टी भएकाले त्यसले परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासमा आफू जोडिएको उनको भनाइ छ । ‘त्यतिबेला माओवादी पार्टी नयाँ थियो, यसले केही गर्न सक्छ कि भन्ने विश्वासले पार्टीमा आबद्ध भएँ’– उनी भन्छन्, ‘तर अहिले हिसाब र चालचलन हेर्दा पार्टीले ल्याएको नयाँ संरचना, सबैकुरो ल्याए पनि यसको भ्यालु केही भएन । पार्टीले हिजो ल्याएअनुसारको काम भएन ।’

राजनीतिमा सक्रिय रहँदा देखेका परिवर्तन र त्यसबाट बनेका धारणाले कठायतलाई अहिले सामाजिक सेवातर्फ अझ नजिक ल्याएको छ । उनले सामाजिक कामलाई आफ्नो जीवनको महत्वपूर्ण जिम्मेवारीका रूपमा अघि बढाउँदै आएका छन् ।

पथरीशनिश्चरे–९ मा बसोबास गर्दै आएका कठायतले शिक्षा, धार्मिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले आदर्श सीता आधारभूत विद्यालयका लागि जग्गा दान गरेका छन् । पथरीशनिश्चरे–१० मा शिवालय मन्दिर निर्माणमा सहयोग गरेका छन् । स्थानीय कीर्तन मण्डलीका लागि भवन निर्माण, चेनगेट निर्माण तथा सिंहवाहिनी माध्यमिक विद्यालयलाई आर्थिक सहयोगलगायतका काममा पनि उनको संलग्नता छ ।

शिक्षाप्रतिको उनको लगाव केवल सहयोगमा सीमित छैन । आदर्श सीता आधारभूत विद्यालयमा उनी विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष तथा जग्गादाताका रूपमा जोडिएका छन् । विद्यालयमा उनलाई सम्मान गर्ने कार्यक्रमसमेत आयोजना भएको छ ।
यस्तै, सिंहवाहिनी माध्यमिक विद्यालयसँग पनि कठायतको सम्बन्ध उत्तिकै गहिरो छ । उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत बनेका छन् ।

सामाजिक काममा कठायतको सक्रियता व्यक्तिगत सहयोगमा मात्रै सीमित छैन । अरूलाई समेत सामाजिक काममा जोड्ने र सहयोगको वातावरण बनाउने प्रयासमा उनी सहभागी हुँदै आएका छन् । पथरीशनिश्चरे–१० स्थित जालपादेवी आधारभूत विद्यालयका १२० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रममा पनि उनको सहयोग थियो । विभिन्न सहयोगदाताबाट जुटाइएको एक लाख ६२ हजार रुपैयाँबाट कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई ट्र्याकसुट र भेस्ट वितरण गरिएको थियो ।

सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा गरेको योगदानकै कारण कठायत विभिन्न सार्वजनिक कार्यक्रममा सम्मानितसमेत भएका छन् । पथरीशनिश्चरे–१० स्थित बाल नमुना विद्या मन्दिरको २७औँ अभिभावक दिवसका अवसरमा उनलाई सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।

उनको अर्को महत्वपूर्ण योजना पथरी बहुमुखी क्याम्पससँग जोडिएको छ । कठायत परिवारले क्याम्पस परिसरमा ८ लाख लागतमा सरस्वती मन्दिर निर्माण गरिदिएको छ ।

भारतीय आर्मीको अनुशासन, कांग्रेससँग जोडिएको प्रारम्भिक राजनीतिक चेतना, माओवादी आन्दोलनप्रतिको आकर्षण र त्यसप्रतिको पछिल्लो मूल्यांकन हुँदै कठायत अहिले सामाजिक सेवाको बाटोमा छन् । उनको जीवनमा राजनीतिको एउटा अध्याय अझै स्मृतिका रूपमा छ भने सामाजिक सेवा वर्तमानको प्राथमिकता बनेको छ ।

जीवनको उत्तरार्धमा आइपुग्दा कठायतले रोजेको बाटो अब पद र राजनीतिक शक्तिभन्दा फरक छ । सामाजिक काममार्फत आफ्नो गाउँ–ठाउँमा केही योगदान छोड्ने उनको चाहना छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles