शनिश्चरे । आफूले अध्ययन गरेको विद्यालयप्रतिको माया र दिवंगत आमाबुवाको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिका–४ स्थित भागिरथ माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वार निर्माण गरिएको छ। विद्यालयका पूर्वविद्यार्थी विष्णुकुमार कुरुङ्बाङ लिम्बू, उनकी धर्मपत्नी भूमिका राई सुब्बा तथा कुरुङ्बाङ परिवारले आफ्ना स्वर्गीय बुबा डगल सिंह कुरुङ्बाङ र आमा सनकुमारी कुरुङ्बाङको स्मृतिमा करिब ७ देखि ८ लाख रुपैयाँको लागतमा आकर्षक प्रवेशद्वार निर्माण गरिदिएका हुन्।
बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच निर्माण गरिएको नवनिर्मित मुख्य प्रवेशद्वार विद्यालयलाई हस्तान्तरण तथा उद्घाटन गरिएको हो। पूर्वविद्यार्थी परिवारले आफ्नो पारिवारिक स्मृतिलाई सामाजिक सेवासँग जोड्दै विद्यालयलाई महत्वपूर्ण सहयोग प्रदान गरेका हुन्।
प्रवेशद्वार निर्माणकर्ता विष्णुकुमार कुरुङ्बाङले आफूले अध्ययन गरेको विद्यालयका लागि केही योगदान गर्न पाउँदा खुसी लागेको बताए। लामो समयपछि विद्यालयको कार्यक्रममा रोस्ट्रममा उभिन पाएको उल्लेख गर्दै उनले यो अवसर आफ्ना लागि विशेष रहेको बताए।
प्रवेशद्वार निर्माणको लागतबारे उनले प्रारम्भिक अनुमानभन्दा केही बढी खर्च भएको जानकारी दिए। निर्माणको अन्तिम हिसाबकिताब तयार भइनसकेको बताउँदै उनले करिब ७ देखि ८ लाख रुपैयाँ खर्च भएको अनुमान सुनाए। अन्तिम हिसाब सार्वजनिक गर्न सकिने उनको भनाइ थियो।
विद्यालयका पूर्वप्रधानाध्यापक डिल्लीराज दाहालले विद्यालयको प्रगतिलाई भौतिक संरचनाको विकाससँग मात्र जोडेर हेर्न नहुने बताए। भौतिक प्रगतिसँगै शैक्षिक गुणस्तर र विद्यार्थीको संख्यात्मक वृद्धिलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनको भनाइ थियो।
उनले विद्यालयको गुणस्तर अभिवृद्धिका लागि गुणात्मक र परिमाणात्मक दुवै पक्षमा सुधार आवश्यक रहेको उल्लेख गरे। आफूले अध्ययन गरेको विद्यालयलाई माया गरेर पूर्वविद्यार्थीले गरेको सहयोगले विद्यालय परिवारसँगै आफूलाई समेत सम्मानित महसुस गराएको उनले बताए। पूर्वविद्यार्थीले विद्यालयप्रतिको जिम्मेवारी र आत्मीयता प्रस्तुत गर्नु प्रशंसनीय कार्य भएको उनको भनाइ थियो।
कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोकनाथ (लोककिरण) न्यौपानेले विष्णुकुमार र भूमिका राई सुब्बाको परिवारले उदाहरणीय सामाजिक कार्य गरेको बताए। पैसा हुनु मात्रै ठूलो कुरा नभई त्यसको सदुपयोग कहाँ र कसरी गरिन्छ भन्ने महत्वपूर्ण हुने उनले उल्लेख गरे।
आफूले अध्ययन गरेको विद्यालयमा भव्य र सुन्दर प्रवेशद्वार निर्माण गरेर कुरुङ्बाङ परिवारले सामाजिक उत्तरदायित्व निर्वाह गरेको वडाध्यक्ष न्यौपानेको भनाइ थियो। स्वर्गीय आमाबुवाको सम्झनामा गरिएको यस कार्यले विद्यालय र स्थानीय क्षेत्रलाई दीर्घकालीन योगदान पुर्याउने उनले बताए।
उनले विद्यालयको भौतिक संरचनासँगै शैक्षिक गुणस्तर सुधारमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। विद्यालयको शैक्षिक प्रगतिसँगै अघि बढ्न सके यस्ता समाजसेवी मनहरूलाई थप सहयोग गर्न प्रेरणा मिल्ने उनको विश्वास थियो।
वडाध्यक्ष न्यौपानेले आफू विष्णुकुमार र भूमिका राई सुब्बासँगै कक्षा ११ र १२ मा अध्ययन गरेको सहपाठीसमेत रहेको स्मरण गरे। उनीहरूको परिवारलाई नजिकबाट चिनेको उल्लेख गर्दै उनले परिवारमा पहिलेदेखि नै सामाजिक कार्यप्रतिको रुचि र सक्रियता रहेको बताए। सामाजिक सेवाको भावना अझ विस्तार हुँदै जाओस् भन्दै उनले परिवारप्रति आभार व्यक्त गरे।
कार्यक्रममा प्रधानाध्यापक जानकी चेम्जोङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयको मूल प्रवेशद्वार निर्माणले भौतिक सौन्दर्य र पहिचानमा थप आकर्षण ल्याउनुका साथै पूर्वविद्यार्थी र विद्यालयबीचको सम्बन्धलाई समेत थप प्रगाढ बनाएको बताइन् । ‘स्वर्गीय आमाबुवाको स्मृतिमा गरिएको यो सहयोगले आगामी पुस्तालाई पनि शिक्षा, सामाजिक उत्तरदायित्व र अभिभावकप्रतिको सम्मानको सन्देश दिने अपेक्षा गरेका छौं’– उनले भनिन् ।
उनले प्रवेशद्वार निर्माणमा सहयोग पुर्याउने विष्णुकुमार कुरुङ्बाङ लिम्बू, भूमिका राई सुब्बा तथा सम्पूर्ण कुरुङ्बाङ परिवारप्रति हार्दिक धन्यवाद र उच्च सम्मान व्यक्त गरिन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रप्रसाद मिश्र (केदार) को अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक चेतनाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक शैलेन्द्र बस्नेतले गरेका थिए।

