ठूला दलहरू भ्रष्टाचारमै केन्द्रित देखिए त्यसैले पार्टी परित्याग गरेंः काबुल - Pahilo Online

ठूला दलहरू भ्रष्टाचारमै केन्द्रित देखिए त्यसैले पार्टी परित्याग गरेंः काबुल

writer

मोहन भट्टराई

काबुलबहादुर मगर विकास

काबुलबहादुर मगर विकास मोरङ पथरीशनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुन् । मगरको नेतृत्वमा हरियाली सामुदायिक वनले वन संरक्षण, सुशासन, र पारदर्शिता कायम गर्दै उत्कृष्ट उपलब्धिहरू हासिल गरेको छ । वैज्ञानिक वन व्यवस्थापन अपनाउँदै वनलाई दिगो आम्दानीको स्रोत बनाउने योजना सफल बन्दै गएको छ । यस्ता उदाहरणीय कार्यहरूले अन्य सामुदायिक वनहरूलाई पनि प्रेरणा दिनेछन् ।
प्रस्तुत छ, यसै सन्दर्भमा, हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर विकाससँग गरिएको कुराकानीको संपादित अंशः

हरियाली सामुदायिक वनले गणेशमान सिंह राष्ट्रिय वन पुरस्कार जित्न सफल भएको आधार के के हुन् ?
हाम्रो सामुदायिक वनले वन संरक्षण, सुशासन, पारदर्शिता, चोरी तस्करी नियन्त्रण, तथा वनको दिगो व्यवस्थापनका कारण यो पुरस्कार जित्न सफल भएको हो । हामीले वन अतिक्रमण हुन नदिने, वन पैदावार न्यायोचित तरिकाले वितरण गर्ने तथा वैज्ञानिक वन व्यवस्थापनलाई प्राथमिकता दिने कार्य ग¥यौं ।

तपाईंको नेतृत्वमा हरियाली सामुदायिक वनले के के महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ ?
म अध्यक्ष निर्वाचित भएपछि, केही महत्वपूर्ण कामहरू गर्न सफल भयौं । सुरुमा उपभोक्ताहरूले वन पैदावार उपभोग गर्न पाएका थिएनन् । मैले कार्ययोजना स्वीकृत गराएर ३,१०० क्युफिट काठ कटान आदेश प्राप्त गर्र्यौं । त्यसपछि उपभोक्ताहरूलाई पारदर्शी रूपमा काठ वितरण गरियो ।


हामीले चोरी तस्करी र खुला चरिचरण रोक्यौं, डढेलो नियन्त्रण गर्दै पुनः उत्पादन भएका विरुवाहरू संरक्षण गर्र्यौं । यसको परिणामस्वरूप, मोरङ जिल्लाको सान्त्वना पुरस्कार, दोस्रो स्थानको पुरस्कार र अन्ततः राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भयौं ।
त्यसैगरी, विपन्न परिवारलाई घर निर्माणका लागि सहयोग, छात्रवृत्ति वितरण, शौचालय निर्माण, दीर्घरोगीलाई आर्थिक सहायता, सडक, पैनी, मन्दिर, गुम्बा, कल्भर्ट निर्माणजस्ता कार्यहरू सम्पन्न गर्र्यौं ।

वैज्ञानिक वन व्यवस्थापनतर्फ लाग्दा कस्तो अनुभव रह्यो ?
सुरुमा वैज्ञानिक वन व्यवस्थापनबारे अलि अनभिज्ञ थियौं । अन्य सामुदायिक वनहरू वैज्ञानिक व्यवस्थापनमा गइसकेपछि हामी पनि लाग्यौं । पहिले ३,००० क्युफिट काठ मात्र निकाल्न पाउँथ्यौं, तर वैज्ञानिक वन व्यवस्थापनमा गएपछि ८,००० क्युफिटसम्म निकाल्न पाइयो । घर बनाउने उपभोक्ताहरूलाई १०० क्युफिटसम्म काठ उपलब्ध गराउन सकियो, जसले गर्दा उनीहरू अझै वन संरक्षणतर्फ लाग्न प्रेरित भए ।

सामुदायिक वन व्यवस्थापनमा अहिले मुख्य चुनौतीहरू के के छन् ?
हाल ठूला चुनौतीहरू छैनन् । मुख्य चुनौती भनेको सुख्खा मौसममा लाग्ने डढेलो हो । यसलाई नियन्त्रण गर्न उपभोक्ता तथा स्थानीयबासीलाई सचेत गराउने, सूचना प्रवाह गर्ने तथा अन्य आवश्यक उपायहरू अपनाइरहेका छौं । चोरी तस्करी ९५ प्रतिशतसम्म नियन्त्रण भइसकेको छ भने वन्यजन्तु चोरी तस्करी पनि न्यून भएको छ ।

हरियाली सामुदायिक वन लिमिटेड अन्तर्गत विकास भइरहेका पर्यटकीय संरचनाहरू के के हुन् ?
अहिले सुविधा सम्पन्न पौडी पोखरी निर्माण गरी सञ्चालनमा ल्याएका छौं । पर्यापर्यटन प्रवद्र्धन गर्न चारवटा अन्य पोखरी तयार पारिएका छन् । पानी तथा बिजुली जडान, बाटो निर्माण, शौचालय व्यवस्था, क्यान्टिन, पार्किङस्थल, सामुदायिक हल निर्माण भइसकेको छ । साथै, चौतारा, पिकनिक स्पट निर्माणको काम जारी छ ।

तपाईं संघीय लिम्बुवान पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो, तर अहिले स्वतन्त्र नागरिक हुनुहुन्छ, किन ?
ठूला दलहरूले केही गर्छन् भन्ने आशा थियो, तर सरकारमा पुगेपछि सबै उस्तै देखिए । देशको विकास गर्नुभन्दा भ्रष्टाचारमै केन्द्रित देखिए । त्यसैले कुनै पार्टीमा आवद्ध हुनुभन्दा स्वतन्त्र रूपमा राम्रो काम गर्नु उचित लाग्यो ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित हुनुभएको अनुभव कस्तो रह्यो ?
मैले जितेमा प्रभावकारी काम गर्न सक्ने सोच थियो । तर, जनताले पार्टीभन्दा बाहिर नसोच्ने प्रवृत्तिले चुनाव हारियो । ठूला दलहरूले राम्रो गरेका भए नयाँ पार्टीहरू जन्मनै पर्ने थिएनन् । अब परिवर्तन चाहिएको जस्तो लाग्दैन, देशको विकास सम्भव छ भन्ने विश्वास घट्दै गएको छ ।

भविष्यमा कुनै राजनीतिक पदमा उम्मेदवारी दिने योजना छ ?
समयले माग गरे भने नगर, प्रदेश वा देश विकासका लागि जिम्मेवारी लिन सकिन्छ ।

तपाईंलाई सफल नेतृत्वकर्ता बनाउन सहयोग गर्ने प्रेरणाका स्रोतहरू को को हुन् ?
राजनीतिमा हुँदा मेरा साथीहरू प्रेरणाका स्रोत थिए । सामुदायिक वनमा काम गर्दा पथरीशनिश्चरे–२ का रबिन्द्र राई दाइ र तत्कालीन जिल्ला वन अधिकृत दीपक ज्ञवाली सरले धेरै कुरा सिकाउनुभयो । पत्रकार साथीहरू, कार्यसमितिका सदस्यहरू र उपभोक्ता महानुभावहरू सबै मेरो प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes