सामुदायिक वनको सुविधा सम्पन्न सभाहल निर्माण गर्दै छौं - Pahilo Online

सामुदायिक वनको सुविधा सम्पन्न सभाहल निर्माण गर्दै छौं

writer

पहिलो अनलाइन

होमनाथ सुबेदी (अध्यक्ष) बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह, लेटाङ–९ जाँते मोरङ

दिनचर्या कसरी विताई रहनु भएको छ ?
समूहको अध्यक्षको नाताले वनको विकास, संरक्षण र चोरी तस्करीबाट कसरी जोगाउन बेला बेला छड्के गस्ती गर्ने र बचेको समय खेतीपाती, घरपरिवारलाई दिइरहेको छु ।

बसन्त हरियाली सामुदायिक वन कहिले स्थापना भयो, यसको वन क्षेत्र कति हो र उपभोक्ता संख्या कति छन् ? बताइदिनोस् न ।
यो बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह वि.सं. २०५६ सालमा स्थापना भएर वन विकास, संरक्षण र सदुपयोग गर्दै आएको छ । स्थापना कालदेखि हालसम्म यस समूहको नेतृत्व चार जनाले लिइसक्नु भएको छ । हाम्रो वन क्षेत्र भनेको ३३८ दशमलब १६ हेक्टरमा फैलिएको छ । यसका उपभोक्ताहरु ५१० घरपरिवार रहेका छन् ।

वन पैदावर विक्रीबाट आएको आम्दानी कुन कुन क्षेत्रमा खर्च गर्दै हुनुहुन्छ ?
यस समूहले आम्दानीको २५ प्रतिशत वन विकासमा खर्च गर्दै आएको छ भने बाँकी रहेको ७५ प्रतिशतलाई १०० प्रतिशत मानि ५० प्रतिशत विकास निर्माण सहितको सामाजिक काममा र ५० प्रतिशत महिला शशक्तिकरण र गरिवी निवारणमा खर्च गर्नुपर्ने प्रावधानलाई अंगिकार गर्दै आएको छ ।

वन विकासको क्षेत्रमा के के गर्नु भएको छ ?
यस अन्तरगत खालीखाल्सा क्षेत्रमा विरुवा रोपण गर्ने, हाँगाविंगा छाँटकाँट गर्ने, थिनिङ गर्ने काम गरिरहेका छौं । चार वर्षअघि वैज्ञानिक व्यवस्थापन गरिएका कुपहरुभित्र खाली रहेको स्थानमा विरुवा रोप्ने, त्यसलाई हुर्काउने कार्य गर्दै आएका छौं । भर्खरै मात्र हामीले कुपभित्र तिते घारी, काँडा घारी सरसफाई गरेर सालका विरुवा ५५०, जामुनका विरुवा १५० रोपेका छौं । सुख्खा मौशममा लाग्ने डढेलो नियन्त्रण गर्ने, चरिचरण नियन्त्रणका लागि दैनिक रुपमा वन हेरालु मार्फत र कहिले काहीं कार्यसमितिले छड्के गस्ती समेत गर्ने गरेका छौं । वन क्षेत्रमा भएको खाली जग्गालाई हराभरा बनाउ भन्ने पट्टि लागियो । सडकका छेउछेउमा सुपाडी लगाउने, तेजपत्ताका विरुवा लगाउने कार्य भइरहेका छन् ।

विपन्नमुखी कार्यक्रम अन्तरगत के के गर्नु भएको छ ?
यसमा जो हाम्रा उपभोक्ता श्रम गरेर आफ्नो जिविका चलाउन सकेको छैन, त्यस्तालाई खाद्यान्न सहयोग गरेका छौं । विपन्न परिवारको उपभोक्ता उपचार नपाएर छटपटाई रहेको छ भनें त्यस्ता विरामीलाई उपचार वापत केही आर्थिक सहयोग गर्ने गरेका छौं । कतिपय विपन्न परिवारका सदस्यहरुलाई वनमै रोजगारी दिएका छौं । घर नहुनेलाई घर निर्माण, घर मर्मत, सुत्नका लागि खाट र आवश्यकता हेरी निःशुल्क काठ समेत वितरण गर्ने गरेका छौं । आगामी दिनमा सिपमुलक तालिम दिएर स्वरोजगार बनाउने हाम्रो योजना रहेको छ ।

सामाजिक कार्यहरुमा के के गर्नु भएको छ ?
सामाजिक काममा वडासंग समन्वय गरेर बाटो, कल्भर्ट, विजुलीलगायतका विकास निर्माणका कार्यहरु गरिरहेका छौं । त्यसैगरी, भर्खरै मात्र हामीले वडासंगको साझेदारीमा मलामी खाजा घर निर्माण गरेका छौं । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा पनि बेला बेला सहयोग गर्दै आएका छौं ।

वन पैदावर चोरी तस्करी कत्तिको हुने गरेको छ ?
पहिलोको जस्तो काठ चारी तस्करी भएको छैन । बेलाबेला वन्यजन्तु चोरी शिकारी गर्नेहरु चाहीं गस्ती गर्ने क्रममा फेला पर्ने गरेका छन् । त्यस्ता व्यक्तिहरुलाई पहिचान गरी वन कार्यालय र प्रहरीको सहयोगमा कारवाहीको दायरामा ल्याउने गरेका छौं ।

वन संरक्षणमा चुनौति के रहेछन् ?
वन संरक्षणमा मुख्य चुनौति त डढेलो नै हो । त्यसैगरी, खुल्ला चरिचरणले पनि विरुवा हुर्किन दिंदैन । खुल्ला चरिचरणको पनि विकल्प के हुन सक्छ उपायहरुको खोजीमा छौं ।

आगामी दिनका योजना के छन् ?
हामीलाई अहिलेसम्म एउटा बैठक बस्ने फराकीलो कोठा समेत छैन । अरु बाहिरी कामहरु गर्दा गर्दै हामी एउटा सभाहल सहितको कार्यालय बनाउन पछि परिरहेका रहेछौं । साधारणसभा गर्दा पनि खुला आकाशमुनि गर्नु पर्ने अवस्था छ । त्यसैले यसपालि सबै पक्षसंग समन्वय गरेर एउटा भवन निर्माण गर्ने तयारीमा छौं । यसैगरी, हामी पर्यापर्यटनको क्षेत्रमा पनि केही गरौं भन्ने सोंचमा छौं ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes