पत्रकारिता अध्ययनमा युवापुस्ताको आकर्षण बढ्दो - Pahilo Online

पत्रकारिता अध्ययनमा युवापुस्ताको आकर्षण बढ्दो

writer

केशव निरौला

केशव निरौला
केशव निरौला

अघिल्लो शैक्षिक सत्रबाट मात्रै आमसञ्चार तथा पत्रकारिता विषय पठनपाठन सुरु गरेका पूर्वोत्तर मोरङका शैक्षिक संस्थाहरूमा उक्त विषय पढ्ने विद्यार्थीको संख्या बढ्दो अवस्थामा छ ।

प्रायोगिक एवम् व्यवसायिक विषय मानिने आमसञ्चार तथा पत्रकारिताको पढाइ सुरु गरेका पूर्वोत्तर मोरङका उर्लाबारी बहुमुखी क्याम्पस (उर्लाबारी) र पञ्चायत माध्यमिक विद्यालय (पथरीशनिश्चरे)मा विद्यार्थीको आकर्षण बढिरहेको सम्बद्ध शैक्षिक संस्थाहरूले जानकारी दिएका छन् । उर्लाबारी बहुमुखी क्याम्पसमा सञ्चालित चार वर्षे स्नातक तह (बि.ए.)मा पत्रकारिता विषय पढ्ने विद्यार्थीको संख्या सुरुवाती वर्षमै ३६ जना रहेको क्याम्पस प्रमुख बेधराज भट्टराईले जानकारी दिएका छन् ।


क्याम्पस प्रमुख भट्टराईका अनुसार चालु शैक्षिक सत्र २०७९ मा पनि उक्त विषयमा उल्लेखनीय संख्यामा विद्यार्थीले भर्ना गरिरहेका छन् । मोरङमा विराटनगरबाहिर पहिलो पटक उर्लाबारी क्याम्पसले चार वर्षे स्नातक तह (बि.ए.) कक्षा सञ्चालन गरेको आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गर्नका लागि मूलतः पश्चिमी झापा र पूर्वी मोरङका अधिकांश पालिकाबाट विद्यार्थी आउने गरेका छन् । यी क्षेत्रका अलावा कयौँ विद्यार्थी इलाम, पाँचथर, धनकुटालगायतका पहाडी जिल्लाबाट समेत आएर पत्रकारिता विषय पढ्ने गरेको सोही विषयका सहायक प्राध्यापक डिकेश लामाले जानकारी दिए । सहायक प्राध्यापक लामाका अनुसार विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी एवम् मासमिडिया र नवीनतम् प्रविधिप्रति झुकाव राख्ने विद्यार्थीको पहिलो रोजाइमा उक्त विषय पर्ने गरेको छ ।

क्याम्पसले २०७८ सालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र सामाजिक कार्य (बिएसडब्ल्यु) विषयसमेत थप गरी पढाउन सुरु गरेपछि मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ नै विद्यार्थीको आकर्षण बढ्न थालेको विभागीय प्रमुख अम्विका गौतम बताउँछन् । विभागीय प्रमुख गौतमका अनुसार क्याम्पसमा मानविकी संकायतर्फ विद्यार्थीको आकर्षण बढ्नुको प्रमुख कारण भनेकै चारवर्षे स्नातक तहको नयाँ पाठ्यक्रमले व्यावहारिक एवम् प्रयोगात्मक विषयसन्दर्भलाई बढी समेट्नु हो । त्रिविले तीनवर्षे बिएको सट्टा अहिले चारवर्षे बिएको कोर्ष लागू गर्दा सबैजसो विषयका पाठ्यक्रमलाई अद्यावधिक एवम् प्रयोगमूलक बनाई प्रत्येक विषयमा अनिवार्यरूपमा ३० प्रतिशत प्रयोगात्मक र ७० प्रतिशतमात्रै सैद्धान्तिक वार्षिक परीक्षा हुने व्यवस्था मिलाएको कारण पनि पत्रकारिता, सामाजिक कार्यजस्ता विषयसँगै समग्र मानविकी संकायमा विद्यार्थीको संख्या बढ्न थालेको बुझाइ छ, सहायक क्याम्पस प्रमुख खेमराज कार्कीको ।

२०४३ सालमा स्थापना भएको यस क्याम्पसले सुरुवाती वर्षदेखि नै सञ्चालन गरेको मानविकी तथा सामाजिक शास्त्र संकायका कक्षालाई प्रमुखताका साथ निरन्तर सञ्चालन गरिरहेको छ । व्यवसायिक एवम् व्यवहारिक विषयको बढ्दो माग, पढाउनेभन्दा पनि सिकाउने परिपाटीको कार्यान्वयन र गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्तिको अन्तिम अवस्थामा रहेको क्याम्पसको प्रगतियात्राले पनि उच्च शिक्षातर्फ पूर्वी मोरङमै विद्यार्थीको पहिलो रोजाइमा उर्लाबारी क्याम्पस रहेको बताउँछन् क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुष्पलाल ढकाल ।

पत्रकारिता विषयमा स्नातक गरेको व्यक्ति सरकारी तथा निजी सञ्चार माध्यममा संवाददाताहुँदै प्रधान सम्पादक, विदेशी सञ्चारमाध्यम÷संस्थाका प्रतिनिधि, मिडियाका कानूनी सल्लाहकार, स्थानीय तहमा सूचना संयोजक, विज्ञापन एजेन्सीसहित प्रकाशन गृहमा सम्पादक र सोही विषयको प्रशिक्षकसमेत बन्न पाउने हुँदा यस विषयको अध्ययनमा विद्यार्थीको रुचि बढ्नु स्वभाविक रहेको बुझाइ छ, सञ्चार क्लब नेपाल, उर्लाबारीका अध्यक्ष नवराज भट्टराईको । सञ्चार क्लबले उर्लाबारी क्याम्पसमा पत्रकारिता विषय पढाइ सुरु भएदेखि नै विद्यार्थीको परियोजना कार्य र प्रयोगात्मक कार्यमा सक्दो सहयोग गरी पत्रकारको पेसागत क्षमता विकासमा सहजीकरण गर्दै आएको छ ।

यसैगरी पञ्चायत माध्यमिक विद्यालय (पथरीशनिश्चरे–१) मा पनि आमसञ्चार तथा पत्रकारितामा विद्यार्थीको आकर्षण बढ्दो छ । पञ्चायत माविमा पहिलो वर्ष (२०७८ मा) नै कक्षा ११ मा ४८ जना विद्यार्थीले ऐच्छिक विषयको रूपमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गरेको शिक्षक अर्जुन जम्नेली राईले जानकारी दिए । शिक्षक राईका अनुसार यस वर्ष (२०७९ मा) कक्षा ११ मा उक्त संख्या बढेर ५६ जना विद्यार्थीले आमसञ्चार विषय अध्ययन गरिरहेका छन् । पूर्वी मोरङमा पहिलोपटक पञ्चायत माविले कक्षा ११ र १२ मा आमसञ्चार विषय थप गरी पढाउन थालेपछि क्रियाशील सञ्चारकर्मीसँगै मिडियाप्रति झुकाव राख्ने विद्यार्थीको समेत अध्ययनप्रति लगाव बढ्न थालेको बताउँछन्, प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी ।


प्रअ बुढाथोकीका अनुसार समयको मागअनुरूप पत्रकारिता पेसामा प्रवेश गरेका र गर्न चाहने सबैका लागि पत्रकारिता शिक्षा अनिवार्यजत्तिकै भइसकेको सन्दर्भमा पनि विद्यार्थीको आकर्षण बढ्दो छ । कक्षा ११ मा बर्सेनि नयाँनयाँ व्यवहारिक एवम् व्यवसायिक विषय थप गर्दै जाने कार्ययोजनाअनुरूप यस विद्यालयले पछिल्लो समयमा आमसञ्चार तथा पत्रकारिता विषय पठनपाठन सुरु गरेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आइताकुमारी तुम्बापोले बताइन् । सरकारको नमुना विद्यालय कार्यक्रममा समेत समाविष्ट पञ्चायत माविले कक्षा ११ र १२ मा आमसञ्चार तथा पत्रकारिता विषयका अलावा विज्ञान, सिभिल इन्जिनियरिङ, कानून, ललितकला (फाइन आर्ट्स), व्यवस्थापन, मानविकी र शिक्षा समूहका विषय पढाइ गर्दै आएको छ ।

नेपाल पत्रकार महासंघ, मोरङले क्रियाशील एवम् नवप्रवेशी पत्रकारको पेसागत क्षमता विकासलाई ध्यान दिँदै स्थानीयस्तरमै पत्रकारिता शिक्षा आर्जन गर्ने व्यवस्था मिलाइदिन माग राखी ज्ञापनपत्र बुझाएपछि यी दुवै शैक्षिक संस्थाले एकैपटक आमसञ्चार तथा पत्रकारिता विषयको पठन–पाठन सुरु गरेका हुन् । गतवर्ष महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईको अगुवाइमा पत्रकारहरू अर्जुन जम्नेली राई, केदार चौहान, प्रशान्त निरौला, नवराज भट्टराई, केशव निरौला, तेजन खड्का, सुरेश अधिकारी, ज्योति चौहान, सुमन घिमिरेलगायतको टोलीले यी शैक्षिक संस्थाहरूमा आमसञ्चार तथा पत्रकारिता विषय पठन–पाठन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । पूर्वी मोरङका कुनै पनि शैक्षिक संस्थामा पत्रकारिता विषय पढाइ नभएको कारण जिल्लामा कार्यरत अधिकांश पत्रकार तालिम र अभ्यासको भरमा मात्रै पत्रकारिता गरिरहेको सन्दर्भमा पनि पत्रकारिता शिक्षाको आवश्यकता बढेको ठहरसहित महासंघले ज्ञापनपत्र बुझाएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes