अक्षर सुधार अभियानमा जुट्नेहरू - Pahilo Online

अक्षर सुधार अभियानमा जुट्नेहरू

writer

केशव निरौला

क्रमशःशम्भुराज घिमिरे, सुमन राई र अष्टमान राई

देशमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को सरगर्मी बढिरहेको अवस्थामा शम्भुराज घिमिरे र सुमन राईलाई भने विभिन्न विद्यालयका विद्यार्थीलाई सुन्दर अक्षर सिकाउन भ्याइनभ्याइ छ । मोरङको पथरीशनिश्चरे–१ निवासी घिमिरे र पथरीशनिश्चरे–१० निवासी राईको दैनिकी अहिले झापाका विभिन्न विद्यालयमा सुन्दर अक्षर सिकाउनमा व्यस्त बनेको पाइन्छ ।

रेडस्टार आवासीय माध्यमिक विद्यालयका शिक्षक शम्भुराज र सिंहवाहिनी माध्यमिक विद्यालयका शिक्षक सुमनले बिदाको समय मिलाएर अन्य विद्यालयमा समेत सुन्दर अक्षर लेख्न सिकाउने गरेको चार वर्ष भइसक्यो । सुरुवाती चरणमा आफ्नै नगर भित्रका विद्यार्थीको अक्षर सुन्दर बनाउन जुट्नुभएका उहाँहरू पछिल्लो समय छिमेकी पालिका र जिल्लाहरूमा समेत पुग्न थाल्नु भएको छ ।

सुरुमा स्थानीय अन्नपूर्ण आवासीय अङ्ग्रेजी माविमा कार्यरत शम्भुराज घिमिरेले सोही विद्यालयका विद्यार्थीलाई राम्रा अक्षर लेख्न सिकाउनु भयो । त्यसैको परिणाम स्वरूप विभिन्न समयमा आयोजित हस्तलेखन प्रतियोगितामा उक्त विद्यालयका विद्यार्थी उत्कृष्ट हुँदै गए । त्यति बेला उहाँमा आफूले सिकाएका विद्यार्थी पटकपटक प्रथम हुँदाको खुसीसँगै नगर भित्रका समग्र विद्यार्थीका अक्षर कसरी सुधार गर्ने भन्ने चिन्तन जागृत भयो । यही चिन्तनलाई साथ दिन सुमन राईसँगै सिंहवाहिनी माविकै शिक्षक अष्टमान राई पनि सामेल हुनुभयो । त्यसपछि भने सामूहिक प्रयत्नमा तीनै जना शिक्षक मिलेर १ हप्ते अक्षर सुधार तालिम सञ्चालन गर्नुभयो । विभिन्न विद्यालयका ३३ जना विद्यार्थीलाई दिइएको उक्त प्रशिक्षणमा सहभागी विद्यार्थी नै हस्तलेखन प्रतियोगितामा उत्कृष्ट हुँदै गए ।

पूर्वशिक्षक भुवनेश्वर पोखरेलको अगुवाइमा स्थानीय उत्साही साना किसान सहकारी संस्थाले नगर भित्रै पटकपटक हस्तलेखन प्रतियोगिता आयोजना गरी निरन्तरता दिँदा विद्यार्थीमाझ स्पर्धा गर्ने धेरै अवसरहरू बनाइरह्यो । त्यसपछि स्थानीय कीर्तिपुर एकेडेमी र सुपब् मोडल एकेडेमीका विद्यार्थी एवम् शिक्षकलाई सुन्दर अक्षर बनाउन सिकाउने काम भयो । अन्य शैक्षिक संस्थामा पनि उक्त कार्यको प्रसार हुँदै विस्तार भयो । विभिन्न शैक्षिक संस्थाको बढ्दो मागले गर्दा अहिले भने उक्त कार्य अभियान कै रूपमा अगाडि बढिरहेको छ । यस अभियानमा सुरुवाती चरणका शम्भुराज घिमिरे, सुमन राई र अष्टमान राई मात्र होइन, अहिले पेगोडा मोडल इङ्लिस स्कुलका शिक्षक कमल रिजाल र कीर्तिपुर एकेडेमीका शिक्षक दीपेन्द्र बस्नेत पनि जोडिनु भएको छ ।

पछिल्लो समयमा सिंहवाहिनी मावि कै सह–प्रधानाध्यापक भएपछि कार्य व्यस्तता बढ्दा अष्टमान राईले भने सबै जसो सहजीकरण कार्यक्रममा उपस्थिति जनाउन सक्नु भएन ।

१६ वर्षदेखि निरन्तर शिक्षण पेसामा संलग्न रहेर सुन्दर हस्तलेखन अभियानको कुशल संयोजन गर्नुभएका शम्भुराज घिमिरेले भन्नुभयो– ‘सम्पूर्ण विद्यार्थीको सुन्दर अक्षर बनाउने हाम्रो सामूहिक प्रयत्न हो । सुन्दर अक्षरबाट व्यक्तिको सुन्दर पहिचान कायम हुन्छ । यसैले पनि नयाँनयाँ शिक्षक साथीहरू जोडिएर हामीलाई साथ दिइ रहनु भएको छ ।’ अहिले विराटचौकदेखि कन्काईसम्मका विभिन्न शैक्षिक संस्थामा व्यस्त रहेको टोलीलाई विराटनगरबाट पनि धेरै बोलावट आइरहेको छ । सुमन राईले थप्नुभयो– ‘विद्यालय विदा भएको समय पारेर भए पनि आउनुहोस् भनी निमन्त्रणा आइरहेको छ, तर खै कताजाने जाने ? टाढा जान आउन मै बढी समय जान्छ ।’ सुन्दर हस्तलेखन अभियानको टोलीले अहिलेसम्ममा २० भन्दा बढी शैक्षिक संस्थामा गएर विद्यार्थी तथा इच्छुक शिक्षक एवम् कर्मचारीलाई समेत सुन्दर अक्षर लेखनकार्यमा सहजीकरण गरिसकेको छ । अन्य क्षेत्रमा गएर सिकाउनु भन्दा पनि आफ्नै नगरलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै शम्भुराज घिमिरेले थप्नुभयो– ‘हामीले पथरीशनिश्चरे नगरलाई नै केन्द्रमा राखेका छौँ । हाम्रो पहिलो उद्देश्य भनेकै यहाँका सम्पूर्ण विद्यार्थीको अक्षर सुन्दर बनाएर हेन्डराइटिङको सुन्दर नगरी भनी पहिचान दिलाउनु हो ।’


अक्षर सुधार अभियानमा जुटेको यो टोलीले कुनै पनि प्रकारको यकिन पारिश्रमिक माग गर्दैन । यस सन्दर्भमा सुमन राई भन्नुहुन्छ– ‘नगर भित्रका सामुदायिक विद्यालयमा त निःशुल्क सेवा दिइरहेका छौँ । नगर बाहिर भने खाजा तथा इन्धन खर्च भनेर सामान्य शुल्क लिने गरेका छौँ । यति नै रेट भन्ने चाहिँ छैन । पारिश्रमिकभन्दा पनि हामीले अभियानलाई सेवाभाव बुझेका छौँ ।’ यस अभियानको प्रमुख चुनौती भनेकै अभियान्तालाई समय व्यवस्थापन गर्नु मानिन्छ । त्यससँगै कतिपय सिकाइ कार्यकलापमा विद्यार्थीलाई मात्र छोडेर कक्षा शिक्षक बाहिर जाँदा पनि समस्या आउन सक्ने घिमिरेले बताउनुभयो । उहाँका अनुसार तुलनात्मक रूपमाभन्दा तल्ला कक्षाका विद्यार्थीलाई भन्दा माथिल्ला कक्षाका विद्यार्थीलाई सिकाउन अलि कठिन हुन्छ ।
त्यसो त यही अभियानमा सहयोग पुग्ने गरी आउँदो पुस २ गते फाइनल कार्यक्रम राखी स्थानीय ग्रेटग्रेस एकेडेमीले अन्तर विद्यालयस्तरीय हस्तलेखन प्रतियोगिता आयोजना गर्दै छ । खास गरी शम्भुराज घिमिरे र सुमन राईको समन्वयमा विद्यालयका संस्थापक प्रिन्सिपल टीकाराम श्रेष्ठको स्मृतिमा विभिन्न कक्षाबीच आधारभूत तहसम्मको प्रतियोगिता हुन लागेको प्रिन्सिपल गीता श्रेष्ठले जानकारी दिनुभयो । प्रिन्सिपल श्रेष्ठका अनुसार विभिन्न कक्षाबिच हुने प्रतियोगितामा नगद राशिसहितउत्कृष्ट १७ जना सहभागीलाई पुरस्कृत गरिनेछ ।

सुन्दर अक्षर बनाउने अचुक उपाय चाहिँ के छ ? भन्ने जिज्ञासामा घिमिरेले भन्नुभयो– ‘राम्रा अक्षर बनाउनका लागि देवनागरी लिपिमा अक्षरको उचाइ र चौडाइलाई समान पार्नुपर्छ भने रोमन लिपिमा उचाइ मिलाएर हल्का स्टाइलिस बनाउनु पर्छ । यसमा हामीले अक्षरको बनोटलाई नै बढी ख्याल गर्नुपर्ने हुन्छ ।’

अतः स्थानीय स्तरमा अभियानको रूपमा सञ्चालन भएको यस्तो सुन्दर हस्तलेखनजस्ता कार्यक्रमहरूको दीर्घकालीन निरन्तरा र श्रीवृद्धिका लागि सरोकारित सबै पक्षले उत्तिकै चासो दिन सके सम्पूर्ण विद्यार्थीको सर्वाङ्गीण विकासमा थप टेवा पुग्ने निश्चित देखिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes