विराटचोकमा ज्ञानु राणा पलेँटी साँझ २०७८ आयोजना हुँदै - Pahilo Online

विराटचोकमा ज्ञानु राणा पलेँटी साँझ २०७८ आयोजना हुँदै

नझरेका फूलहरूको २७ औँ श्रृङखलामा ज्ञानु राणा पलेँटी साँझ !

writer

पहिलो अनलाइन

विपुल सुवेदी ~ सुन्दरहरैँचा सुन्दरहरैँचाको विराटचोकमा ‘ज्ञानु राणा पलेँटी साँझ २०७८’ को आयोजना हुने भएको छ । आगामी पौष १७ गते शनिवार सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रमको आयोजना गरिने भएको हो ।

नेपाली गीत सङ्गीतको क्षेत्रमा ख्यातिप्राप्त सर्जकहरूलाई जीवित रहँदा नै सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ नझरेका फूलहरूले आयोजना गरेकोे नझरेका फूलहरूको यो २७ औँ संस्करण हो । कार्यक्रम बेलुकी ७ बजेबाट सुरु हुने नझरेका फूलहरु पलेँटी साँझका प्रस्तोता केपी घिमिरेले जानकारी दिनुभएको छ । स्वर, सङ्गीत,गायन सँगसँगै भाषा,कला र साहित्यमार्फत राष्ट्रमा अतुलनीय ओगदान पुर्याउनु हुने स्रष्टालाई सम्मान गर्ने कार्यक्रम नझरेका फूलहरूले सर्जकलाई नीधि,गरिमा र पहिचानका रूपमा निरन्तर सम्मान गर्दै आएको समेत प्रस्तोता केपी घिमिरेले जानकारी दिनुभयो ।

यस पटक नझरेका फूलहरूमा वरिष्ठ गायिका तथा सङ्गीतकार ज्ञानु राणालाई सम्मान गरिने र उहाँकै कालजयी सिर्जना उहाँकै आवाजमा वाद्यवादनसहित प्रस्तुत गरिने घिमिरेले बताउनु भएको छ।सर्जक राणाको जन्म वि.सं. २००६ सालमा जनकवि केशरी धर्मराज थापाकी सन्तानका रूपमा कास्कीमा भएको हो। उनलाई इन्द्रराज्यलक्ष्मी पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, सङ्गीत महाविद्यालय प्रथम पुरस्कार लगायत दर्जनौं पुरस्कार र सम्मानले विभूषित गरिएको छ।

स्वरसम्राट नारायणगोपालसँग ज्ञानु राणाको युगल आवाजले सजिएका ‘मान्छेको माया यहाँ’ र ‘सिरिमा सिरि नि कान्छा बतासै चल्यो’ सर्वाधिक लोकप्रिय गीतहरू हुन् । त्यस्तै राणाले गोपाल योन्जनसँग युगल गाएको ‘च्याङबा है च्याङबा सुन सुन है च्याङबा’ गीत पनि उत्तिकै चर्चित छ । राणाको स्वरमा सजिएका ‘कसैले बुझेन मेरो मनको बहलाई, चौतारीमा मै बसेँ होला कि, भिज्यो तिम्रो रातो पछ्यौरी, धानको बाला, राम साइँला’लगायत सयौं कालजयी गीतहरु आज पनि नेपाली जनजिब्रोमा सदैव ताजा छन् । गायिका राणाले नेपाली लोकगीत,आधुनिक गीत,चलचित्रका गीत, स्वदेशगान तथा हिन्दी गीतहरू गरि करिब २ हजार भन्दा बढी गीतहरुमा आवाज दिएकी छिन् ।उनले ४ सय भन्दा धेरै नेपाली भजन तथा आध्यात्मिक गीत र एक दर्जन बढी बालगीतहरु गाएकी छिन्।

यस पटको पलेँटी साँझमा राणालाई युगल गीत गायनमा गायक तथा सङ्गीतकार दुर्गा पराजुलीले साथ दिनेछन् भने गायिका पम्फा चाहारले पनि केही गीतहरू पस्किने छिन् । वाद्यवादनमा ख्यातिप्राप्त वाद्यवादक विपी सिंह, दीपेन थापा लगायत आधा दर्जन सङ्गीतकर्मी रहने बताइएको छ। यसअघिका श्रृङ्खलामा वरिष्ठ गायक रामकृष्ण ढकाल, दीप श्रेष्ठ, यम बराल, गणेश रसिक, मीरा राणा, हेमन्त शर्मा, लेखु विवश, राजु सिंह, सत्यकला राई, एल पि जोशी, कर्ण दास,शिशिर योगी, सीताराम ताजपुरिया, कुबेर नेपाली,

अजर जङ्गम, नवराज लम्साल, तुलसी पराजुली, तृष्णा गुरुङ, रेखा शाह, लाक्पा शेर्पा, राज सिग्देल,यमुना पराजुली, प्राश्ना शाक्य, सुरेश गन्धर्व,मनु मन्जिल, रमेश कार्की, जेबि थुलुङ, अमृत आचार्य, छवि वैरागी घिमिरे ,श्रीकृष्ण लुइँटेल, तारा पराजुली , गणेश लामा आँसु ,भीम बस्नेत, बादलदेवी चाम्लिङ, रेखा सुवेदी, तीला लेकाली,भूमा अधिकारी, हेमन यात्री, मीनकुमार नवोदीत श्रेष्ठ, मोहनप्रसाद काफ्ले, मेदीनीप्रसाद बराललगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूको सहभागिता भइसकेको छ। कार्यक्रमको व्यवस्थापनमा लामिछाने थापा कुल प्रतिष्ठान नेपाल सुन्दरहरैँचा मोरङ, लामिछाने क्षत्री समाज नेपाल क्षेत्रीय

समिति पूर्व क्षेत्र र लामिछाने क्षत्री कुल पूजा समिति सुन्दरहरैँचा रहेको छ भने सह–आयोजकमा एकता युवा क्लब रहेको छ।अफिसियल मिडियाका रूपमा सुन्दरहरैँचा पत्रकार समूह र निष्पक्ष खबर अनलाइन रहेको बताइएको छ। कार्यक्रममा प्रवेश नि:शल्क रहेको कार्यक्रम आयोजकका तर्फबाट प्रस्तोता तथा गीतकार केपी घिमिरेले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes