विश्वकप तथा एसियन कप छनोट अन्तर्गत ताइपेमाथि नेपालको सहज जित - Pahilo Online

विश्वकप तथा एसियन कप छनोट अन्तर्गत ताइपेमाथि नेपालको सहज जित

writer

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २–० को जित दर्ता गरेको हो । नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । अन्जनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो ।

खेलको ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने अवसर पाएको थियो । लामो फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट वु चुन चिङले प्रहार गरेको हेडरलाई कप्तान किरण चेम्जोङले सहजै बचाए । १६ औं मिनेटमा सन्तोषको लामो पासलाई सुनिल बलले लखेटेपनि गोलरक्षक शिह शिनले अगाडी आएर बचाए । २२ औं मिनेटमा सुनिलले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रयास निकै फितलो रहयो । २४ औं मिनेटमा अन्जनले लेफ्ट विंगमा दुई डिफेन्सलाई बिट गर्दै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक शिनले बचाए । ३२ औं मिनेटमा कर्नरमा आएको रिबाउन्डलाई सुनिलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आशिष लामाको स्थानमा मनिष डाँगीलाई मैदान प्रवेश गराएका थिए । ५२ औं मिनेटमा मनिष नै अबध भएको आक्रमणमा सन्तोषले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ६६ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर ताइपेइले प्राप्त फ्रिकिक वालमा लाग्दा नेपालको अग्रता कायम रहयो । खेलको ८० औं मिनेटमा मनिष डाँगीले एकल प्रयासमा बल अघि बढाएर गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २–० ले अघि बढाएका थिए ।

८६ औं मिनेटमा नेपाल अग्रता बढाउनबाट थोरैले चुक्यो । सन्तोषको फ्रिकिकमा नवयुगको हेडर पोस्टभन्दा थोरैले बाहिरिएको थियो । ८९ औं मिनेटमा विशाल राईले मैदान छिरेको एक मिनेट नबित्दै ३० यार्ड टाढाबाट गरेको प्रयास गोलरक्षक शिनले सहजै बचाए । यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes