एसियन च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय महिला भलिबल टोलीमा ३० खेलाडी छनोट - Pahilo Online

एसियन च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय महिला भलिबल टोलीमा ३० खेलाडी छनोट

writer

काठमाडौं । नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि लक्षित गर्दै राष्ट्रिय नेपाली महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । चैत्र तेस्रो अट आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै तीन सदस्यीय समितिले टोली छनोट गरेको हो । छनोट समितिमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेका थिए ।

समितिले उक्त प्रतियोगिता दौरान गरेको प्रदर्शन र प्रतिभावान खेलाडीको उचाई र उमेरलाई मध्यनजर गर्दै छनोट गरेको बताएको छ । भविष्यमा राम्रो प्रदर्शन गर्न सक्ने खेलाडीलाई समेत आधार मानिएको समितिले जनाएको छ । टोलीमा उक्त प्रतियोगितामा च्याम्पियन बन्न सफल होंगान्जी न्यू डायमन्डबाट ७ खेलाडी टोलीमा परेका छन् । यस्तै विभागीय टोलीको वर्चस्व विगतमा झै कायम नै छ । एपिएफ र पुलिसबाट ७–७ तथा आर्मीबाट ८ खेलाडी टोलीमा परेका छन् । भरतपुर मेट्रोबाट सरस्वती कट्टेल पुनः बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन् ।

यसपटक घोषणा गरिएको टोलीमा ९ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका छन् । सरस्वती जैसी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, रिमा कुँवर, कामना विष्ट, पुजा चौधरी, झरना श्रेष्ठ र वाल्मिका आचार्य पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइएका हुन् । शुक्रबार कार्यवाहक यामबहादुर गुरुङको अध्यक्षतामा बसेको संघको भर्चुअल बैठकले २१ गतेबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ । संघले राखेपबाट प्रशिक्षण संचालन तथा कभर्ड हल प्रयोगका लागि आवश्यक स्वीकृति लिइसकेको कार्यवाहक अध्यक्ष गुरुङले जानकरी दिए ।

यस्तै बैठकले जगदीश भट्टलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने निर्णय गरेको छ । उनकै नेतृत्वमा नेपालले एभिसी सेन्ट्रल जोनमा स्वर्ण तथा १३ औं सागमा रजत पदक जितेपछि बैठकले भट्टलाई नै जिम्मेवारी सुम्पने निर्णय गरेको गुरुङले बताए । टोली व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्के तथा ट्रेनरमा पूर्व खेलाडी अन्जु श्रेष्ठ रहनेछिन् । सहायक प्रशिक्षकको निर्णय पछि लिइनेछ । खेलाडीहरुको पिसिआर परिक्षण र विमाको जिम्मेवारी इन्दिरा निरौलालाई दिइएको छ । त्यस्तै तयारी र सहभागिताको आर्थिक पक्ष बारे तयारी गर्न कोषाध्यक्ष सुनकेशरी मालीलाई जिम्मेवारी दिइएको छ । (स्रोतः हाम्रो खेलकुद)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes