विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा घोषणा - Pahilo Online

विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा घोषणा

writer

काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । थ्री नेसन्स कप उपाधि जित्न सफल टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक अलमुताइरीले टोली घोषणा गरेका हुन् । थ्री नेसन्स कप जित्दाका १० खेलाडीले मात्र राष्ट्रिय टोलीमा स्थान बनाउन सके । फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ जना नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

मिडफिल्डर कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन् । प्रारम्भिक टोलीबाट प्रशिक्षक अलमुताइरीले ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ घोषणा गरेका हुन् । थ्री नेसन्स कपको टोलीबाट फरवार्डद्वय भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रन्जित धिमाल र निशान खड्काले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

यस्तै थ्री नेसन्स कप जित्दाका सदस्य रवी पासवान पनि अन्तिम २३ मा परेका छैनन् । यसबाहेक पहिलो पटक बन्द प्रशिक्षणमा परेका विवेक बस्नेत पनि टोलीबाट बाहिरिएका छन् । नितिन थापा, सेसेहाङ आङदेम्बे र अमित तामाङले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । यसअघि प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा ३२ खेलाडीको नाम सार्वजनिक गर्दा नेपाल सुपर लिग (एनएसएल) विजेता काठमाडौं रेजर्सका कुनैपनि खेलाडी सुचिमा समावेश गरेका थिएनन् । थ्री नेसन्स कपका दौरान रेजर्समा आबद्ध ५ खेलाडी राष्ट्रिय टोलीमा थिए । एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ, संजोक राई, छिरिङ गुरुङ र त्रिदेव गुरुङ प्रारम्भिक छनोटमै नपरेका हुन् ।

नेपाल थ्री नेसन्स च्याम्पियन बन्दा रेजर्सकै प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । त्रिदेवले भने चोटका कारण एनएसएल गुमाएपछि उनको स्थानमा छिरिङ टोलीमा आएका थिए । थ्री नेसन्स खेल्ने टोलीबाट सुजल श्रेष्ठ र अजित भण्डारी पनि प्रारम्भीक छनोटमा परेका थिएनन् । प्रशिक्षक अलमुताइरीले प्रशिक्षण सुरु भएपछि एनएसएलका प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको बताएका थिए । ‘यो टोली अब साफ च्याम्पियनसिपको तयारीलाई ध्यानमा राख्दै घोषणा गरिएको हो । केहि खेलाडी अहिलेको खेलमा पर्लान्, केहि अर्को खेलमा । हामी दिर्घकालिन योजनासहित टोली निर्माणमा लागेका छौं । को खेलाडी पर्यो भनेर हेर्नभन्दा टोली कति राम्रो बन्यो भन्नेमा ध्यान दिन जरुरि छ,’ अलमुताइरीले भनेका थिए ।

राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोली :

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

 (स्रोतः हाम्रो खेलकुद)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes