ललितपुरलाई ३–० गोलअन्तरले हराउँदै काठमाडौं फाइनलमा - Pahilo Online

ललितपुरलाई ३–० गोलअन्तरले हराउँदै काठमाडौं फाइनलमा

writer

काठमाडौं । ललितपुर सिटी एफसीमाथि सहज जित निकाल्दै काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले ललितपुरलाई ३–० ले पराजित गर्दै फाइनलमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो । धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । लिगमा काठमाडौंले ललितपुरलाई लगातार दोस्रो पटक पराजित गरेको हो । यसअघि लिगको उद्घाटन खेलमा काठमाडौंले १–० को जित दर्ता गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको एलिमिनेटर खेलमा काठमाडौंको जितमा मेसौको ओलुमोउले दुई तथा स्टेफन विनोङ समिरले एक गोल गरे ।

पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । आठौं मिनेटमा नुर्लान नोभ्रुजोभको पासमा भिलिम पोसिन्कोभिकले गोलरक्षक विकेश कुथु बिट भइसकेको अवस्थामा गरेको प्रहार बाहिरिदा ललितपुर अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा मेसौके ओलुमोउका पासमा स्टेफन विनोङ समिरको प्रहार क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा आशिष राईको प्रहार दोस्रो बारबाट बाहिरिदा काठमाडौं अग्रता लिनबाट चुक्यो । १४औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । कमल श्रेष्ठले पेनाल्टी बक्समा मेसौके ओलुमोउलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा उनी चुकेनन् । गोलरक्षक अर्पण कार्कीले सही दिशामा डाइभ दिदै बचाउने प्रयास गरेपनि हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

२२औं मिनेटमा मेसौके ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । तेज तामाङको पासमा उनले पेनाल्टी बक्सभित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अर्पण कार्कीको हातमा लाग्दै गोलमा परिणत भएको थियो । २८औं मिनेटमा अन्जन विष्टको पासमा गौरव बुढाथोकीको प्रहार बाहिरिदा ललितपुरले गोलअन्तर घटाउन सकेन । २–० ले पछि परेकोको ललितपुरले दोस्रो हाफमा बल पोसेसनमा पकड बनाएपनि काठमाडौंको बलियो रक्षापङ्ति तोड्न सकेन । ५९औं मिनेटमा तेज तामाङको क्रसलाई स्टेफन विनोङ समिरले अफसाइड बिट ट्याप गर्दै चेस्टले नियन्त्रणमा लिदै गरेको प्रहार गोलमा परिणत हुदा काठमाडौंले खेलमा ३–० को अग्रता लियो ।

७१औं मिनेटमा डोना थापाको पेनालटी बक्सबाहिरको फ्रिकिक पोस्टबाट थोरै बाहिरिद ललितपुर अग्रता कम गर्नबाट चुक्यो । ७४औं मिनेटमा स्टेफन विनोङ समिरको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले पञ्च गर्दै बचाए । ७९औं मिनेटमा प्रवेश दनुवारको क्रसलाई गोलरक्षक विकेश कुथुले सहजै बचाए । ८८औं मिनेटमा डोना थापाको कर्नरलाई विकेशले सहजै नियन्त्रण्मा लिए । काठमाडौंका आशिष गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै मेसौके ओलमोउखेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसहित ट्रफी हात पारे ।

काठमाडौंले प्ले अफको पहिलो खेलमा धनगढीसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल खेल्ने अर्काे अवसर पाएको हो । यस्तै ललितपुरले प्ले अफको दोस्रो खेलमा बुटवल लुम्विनीलाई १–० ले हराउँदै एलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो । फाइनल १ जेठमा हुनेछ । (खेलपाटी)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes