नेपाल त्रिकोणात्मक सिरिजमा शानदार जितको साथ च्याम्पियन - Pahilo Online

नेपाल त्रिकोणात्मक सिरिजमा शानदार जितको साथ च्याम्पियन

writer

काठमाडौं । शनिबार नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जितेको छ । शनिवार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै शानदार जितको साथ च्याम्पियन बनेको छ । नेपालले घरेलु मैदान टियुमा ११ वर्षपछि उपाधि जितेको हो । जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६, ओपनर म्याक्स ओडाउडले सर्वाधिक २० र कप्तान पिटर शिलार १३ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालले यो टि२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो योगफल हो । नेपालले लगातार तेस्रो पटक २ सय भन्दामाथिको योगफल बनाएको हो । नेपालले नेदरल्यान्ड्सँग दोस्रो खेलमा २ सय ६ र मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो । समग्रमा चौथो पटक नेपालले २ सयमाथि योगफल बनाएको हो । पहिलो पटक सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

 जुन नेपालको टि२० क्रिकेटमा सर्वाधिक योगफल हुँदै आएको थियो । कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्का सहित ५० रनमा अविजित रहे । कुशलले २४ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । उप कप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनमा अविजित रहे ।नेपालका ओपनर कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । कुशल भुर्तेल नेपालबाट एकै सिरिजमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । कुशलले १३ औैं ओभरको चौथो बलमा छक्का साथ ४३ बलमा अर्धशतक पूरा गरेका थिए । कुशल भुर्तेलले क्याच ड्रपको कारण ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए ।

पहिलो विकेटका लागि आसिफ र कुशलले २.२ ओभरमा ३० रनको साझेदारी गरेका थिए । स्पिनर फिलिपे बोइससेवेनको बलमा ठूलो सट खेलेका आसिफ लङअफमा पाउल भान मिकेरेनले उत्कृष्ट क्याच लिएपछि नेपालले पहिलो विकेट गुमाएको थियो । आसिफले ८ बलमा २ छक्का र १ चौका सहित १६ रन बनाए । दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ५७ रनको अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । ज्ञानेन्द्र बोइससेवेनको १० औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा कभरमा पिटर शिलारबाट क्याच आउट हुन पुगे । ज्ञानेन्द्र ठूलो सट खेल्न खोजेपनि लिडिङ एजको कारण सफल हुन सकेनन् । ज्ञानेन्द्र १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनमा आउट भए ।

तेस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले ७६ रनको साझेदारी गरेका थिए । कुशल र दीपेन्द्रले ७५ रनको अविजित साझेदारी गरेका थिए । नेदरल्यान्ड्सका फिलिपे बोइससेवेनले २ विकेट लिए । नेपालले टि२० आई इतिहासकै सर्वाधिक ठूलो अन्तरको जितको हो । यसअघि रनको आधारमा नेपालले २०१९ मा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले सन् २०१८ अक्टोबरमा मलेसियामा भएको आइसिसी वल्र्ड टि२० एसिया क्वालिफायर बी को उपाधि जितेको थियो । नेपालले सन् २०१९ जुलाईमा मलेसियासँग दुई टि२० सिरिजमा क्लिनस्विप गरेको थियो । २०१९ को सुरुवातमै यूएईसँगको तीन टि२० आई सिरिज २–१ ले जितेको हो । नेपालले त्रिकोणात्मक सिरिज भने पहिलो पटक जितेको हो ।

नेपालले ११ वर्षपछि घरेलु मैदान टियुमा उपाधि जितेको हो । पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो । (हाम्रो खेलकुद)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes