गोलविहिन हुदै नेपाल थ्री नेसन्स कपको फाइनल - Pahilo Online

गोलविहिन हुदै नेपाल थ्री नेसन्स कपको फाइनल

writer

नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कप अन्तर्गत लगातार दोस्रो खेल गोलरहित बराबरीमा रोकिँदै फाइनलमा स्थान पक्का गर्यो । पहिलो खेलमा किर्गिस्तानको यू–२३ टोलीसँग रोकिएको नेपाल दोस्रो खेलमा पनि गोल गर्न असफल भयो ।

नेपालले पहिलो खेलकै सुरुवाती एघारलाई बंगलादेशविरुद्ध निरन्तरता दिएको थियो । तर पहिलो खेलजस्तै दोस्रो खेलमा पनि नेपालले अवसर सिर्जना त गर्यो तर गोल गर्न सकेन । बंगलादेशले अघिल्लो खेलबाट आफ्नो सुरुवाती रोजाइका एघार जना खेलाडी नै परिवर्तन गरेको थियो । फाइनल पुगिसकेको बंगलादेशले दोस्रो हाफमा आफ्ना मुख्य खेलाडीलाई विश्राम दिँदै फाइनलका लागि समेत तयारी गरेको देखियो ।

यता नेपालले भने एक पछि अर्को आक्रामक परिवर्तन गरेपनि गोल गर्न भने सकेन । लिगमा थ्री स्टारको फरवार्डका रुपमा खेलेका सन्जोग राईलाई प्रशिक्षक महर्जनले फेरी एकपटक सेन्टर मिडफिल्डको जिम्मेवारी थमाए । तर मिडफिल्डमा लगातार मिसपास खेलेका उनी दोस्रो हाफमा लामो समय टिक्न सकेनन् । बल टच राम्रो भएपनि मैदानमा बलको पछि कुद्दै मिहिनेत गरेको देखिएका उनले आफ्नो स्वभाविक प्रदर्शन गर्न भने चुके । रक्षात्मक रणनीतिमा लगभग शून्य उपस्थिति रहेको उनले डेन्जर जोनमा अनावश्यक फल गर्दै टोलीलाई दबाबमा राखेका थिए ।

त्यस्तै लगातार दोस्रो खेल फरवार्डको भूमिकामा देखिएका विंगरद्वय अन्जन विष्ट र अभिषेक रिजालमा पनि सोहि समस्या प्रष्ट देखिन्थ्यो । फरवार्डमा पोस्टको अघि हुनुपर्ने इन्स्टिङक्टको कमी महसुस भएको थियो । मैदानको आक्रामक थर्डमा पुगेपछि निर्णय लिन नेपाली खेलाडी बारम्बार चुकेका थिए । कहिले हतारो त कहिले क्रस गर्न नै समस्या देखिएको थियो । अभिषेक र अन्जनले बल पाएपछि आफ्नो निर्णय लिँदा बिरलै डिफेन्सलाई छक्याउन सके । विंगबाट खेल्दा निकै प्रभावकारी देखिएका यी दुई आक्रमणमा भने हराएका देखिन्थे ।

हुन त नेपालका लागि पछिल्लो पटक गोल गर्ने खेलाडी यिनै दुई हुन्, तर दुवैले एकल फरवार्डका रुपमा भने गोल गरेका थिएनन् । अभिषेकले सेट पिसमा चाइनिज ताइपेइविरुद्ध मैत्रीपूर्ण खेलमा हेडरमार्फत गोल गरेका थिए । अन्जनले पनि विश्वकप छनोट अन्तर्गत २–० को जितमा दुई गोल गर्दा मुख्य फरवार्डको रुपमा खेलेका थिएनन् । एक गोल सेट पिसमा हेडरमार्फत गरेका उनले अर्को गोल पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेका थिए ।

प्रशिक्षक बालगोपाल महर्जन भने खेलाडीलाई राष्ट्रिय टोलीमा आएपछि आफ्नो प्राकृतिक पोजिसन बाहिर खेलाउनुलाई बचाउमा लागे । ‘खेलाडी भएपछि एकै पोजिसनमा मात्र खेल्ने भन्ने हुँदैन । मिडफिल्डरले आक्रमण र आक्रमणले मिडफिल्डमा पनि खेल्नुपर्छ । रोहितलाई हेर्नुस, उसले डिफेन्समा पनि उत्तिकै राम्रो खेल्न सक्छ र आक्रमणमा पनि । एउटा राम्रो खेलाडीले फरक पोजिसनमा खेल्ने क्षमता राख्नुपर्छ,’ उनले भने ।

यता नेपालले फाइनलमा भने गोल गर्न सक्नेमा महर्जन आशावादी देखिए । ‘पहिलो खेल जस्तै आज पनि अवसर सिर्जना गरेको हो, तर गोल हुन सकेन । सायद फाइनलमा गोल हुनको लागि होला अहिले गोल नभएको,’ उनले भने, ‘ नेपाल मात्र होइन, बंगलादेश र किर्गिस्तानको पनि त्यस्तै अवस्था छ । रक्षात्मक रुपमा हाम्रो प्रदर्शन राम्रो छ । आशा गरौँ फाइनलमा हाम्रो समस्या सुल्झनेछ र उपाधि जित्नका लागि गोल गर्न सफल हुनेछौं ।’

बंगलादेशविरुद्ध म्यान अफ द म्याच चुनिएका डिफेन्डर रोहित चन्दले पनि आक्रमण केहि कमजोर रहेको स्वीकारे । ‘हामीले योजना अनुसार नै खेलेका हौं । स्कोरिङ निस्कन नसक्दा नतिजा हाम्रो पक्षमा आएन । फाइनलमा पुग्नुलाई सकारात्मक रुपमा लिएका छौं,’ उनले थपे, ‘अहिले म आफैं डिफेन्समा खेल्न नै प्रशिक्षण गरिरहेको थिएँ । त्यसैले खेलमा सहज नै भयो । अब फाइनलमा गोल निस्कन्छ भन्ने अपेक्षा छ ।’

बंगलादेशका प्रशिक्षक जेम्स डेले पनि एसियाली फुटबलमा नै आक्रमणमा समस्या रहेको स्वीकारे । ‘ आक्रमणमा समस्या बंगलादेश वा नेपाल मात्र होइन, समग्र एसियाली फुटबलमा नै छ । विशेषगरी घरेलु फुटबलमा क्लबहरुले विदेशी फरवार्डलाई नै अनुबन्ध गरिन्छ त्यसैले राम्रो खेलाडी उत्पादन हुँदैनन् । यो समस्याबारे हामीले केहि योजना ल्याउने तयारीमा छौं,’ बेलायती प्रशिक्षक डेले भने ।

प्रतियोगितामा तीन खेल हुँदा मात्र एक गोल भएको छ, त्यो पनि आत्मघाती गोलको रुपमा । दशरथ रंगशालामा सोमबार नेपाल र बंगलादेश उत्रँदा नेपाल ७ खेलको गोलको खडेरी तोड्ने सुरमा हुनेछ । पछिल्लो पटक विश्वकप छनोटमा अन्जन विष्टले ताइपेइविरुद्ध गोल गरेपछि नेपालले गोल गर्न सकेको छैन । अन्जन आफैं त्यसपछि अनुशासनको कारवाहीमा पर्दै राष्ट्रिय टोलीबाट बाहिर रहेर अहिले आक्रमण सम्हालिरहेका छन् । यसबीचमा दर्जन खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरिसके, तर गोल अझै निस्केको छैन ।

प्रशिक्षक महर्जनको भनाइ मान्ने हो भने नेपालले फाइनलमा गोल गर्नेछ । त्यसो त उनै महर्जनले प्रतियोगिता अघि किर्गिस्तान सोचेभन्दा कमजोर रहेकाले एक खेल अघिनै फाइनल पुग्ने योजना बनाएका थिए । अझ बंगलादेशविरुद्ध पछिल्लो खेलको कमजोरी सच्याउने योजना पनि उनले सुनाएका थिए । एक पछि अर्को योजना सफल हुन नसकेको महर्जनको अब फाइनलमा गोल गरेर उपाधि जित्ने योजना कति सफल होला, सोमबारको खेलले बताउने नै छ । (हाम्रो खेलकुद)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes