थ्री नेसन्स कपको पहिलो खेलमा बंगलादेशको विजयी - Pahilo Online

थ्री नेसन्स कपको पहिलो खेलमा बंगलादेशको विजयी

writer

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू–२३ टिमलाई १–० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । किर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल गरे । खेलको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे । खेलको इन्जुरी समयमा किर्गिस्तानले गोलको अवसर पाएको थियो । तर, टासेभ कामुलिद्दीनले पोस्ट नजिकबाट फ्री हेडमा गोल गर्न सकेनन् । उनको प्रहार आकाशिएको थियो ।

खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच चुनिए । यससँगै बंगलादेशले पहिलो पटक किर्गिस्तानको उमेर समूहको टिमलाई हराउँन सफल भएको छ । यस अघि दुई देशको राष्ट्रिय टिमबीच भएको चार भेटमा भने किर्गिस्तानले जित हासिल गरेको थियो । जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ । र, फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

बंगलादेशका मुख्य प्रशिक्षक जेमी डेले यस जित खेलाडीको लागि महत्वपूर्ण भएको बताए । ‘हामीले राम्रो खेल्यौं र जित हासिल गर्यौं । खेलाडीका लागि पहिलो जित महत्वपूर्ण हुन्छ,’ जेमीले भने, ’नयाँ खेलाडीको परिक्षण पनि राम्रो भयो । हामीले नयाँ खेलाडीलाई विश्वकपका लागि हेरेका थियौं ।’

यस्तै म्यान अफ दि म्याच बनेका सोहेल रानाले यस जितले अर्को खेलका लागि आत्मबल बढेको बताए । ‘हामीले पहिलो खेल जित्यौं । यस जितले अर्को खेलका लागि थप बिश्वास बढाएको छ,’ उनले भने । किर्गिस्तानका मुख्य प्रशिक्षक झोल्डोसोभ नुर्बेकले पहिलो हाफमा खेलाडीबीच तालमेल नमिलेको बताए । ‘मेरा खेलाडीले अनुभवी खेलाडीसँग खेले । तर, पहिलो हाफमा खेलाडीमा केही कन्फ्युजन देखियो । दोस्रो हाफमा राम्रो खेल्यौं,’ उनले भने, ’हामीले गोलको अवसर सिर्जना गर्न सकेनौं । खेलाडीमा आत्मविश्वासको कमी देखियो ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । नेपालले पहिलो खेलमा बिहीबार किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes