कलाकारको पारिश्रमिकको कारण चलचित्र निर्माण महङ्गो बन्दै - Pahilo Online

कलाकारको पारिश्रमिकको कारण चलचित्र निर्माण महङ्गो बन्दै

writer

कोरोना पछि भर्खर चलायमान् हुदै गरेको चलचित्र जगतमा कलाकारकारको पारीश्रमिकले निर्माताको ढाड सेक्ने गरेको छ । केही बर्षअघिको समयमा नायकले ४–५ लाखमा काम गरिरहेका थिए भने, नायिकाको पारिश्रमिक निकै कम थियो । त्यहि समयमा निर्माता सुवास गिरीले नायक अनमोल केसीलाई चलचित्र ‘कृ’मा २० लाख पारिश्रमिक दिए । अनमोलले यो चलचित्रका लागि २० लाख पारिश्रमिक वुझ्दा चलचित्र क्षेत्रमा नै हंगामा मच्चियो ।

तर, ४–५ बर्षको अन्तरमा नै माहोल पुरा रुपमा बदलिएको छ । आज बजारमा चलेका कलाकारलाई लिएर चलचित्र बनाउन सहज छैन । किनकी, निर्माणका अरु पक्षमा भन्दा कलाकारको पारिश्रमिकमा नै बजेट चर्को पर्न थालेको निर्माताहरु बताउँछन् । निर्माता सुवास थापा चलचित्र ‘प्रसाद २’ बनाउँदैछन् । यो चलचित्रका लागि उनको कलाकारको पारिश्रमिकमा मात्र ९० लाख रकम खर्च भएको छ । सुवासका अनुसार, अब चलचित्रको बजेट साढे २ करोड रुपैयाँ हाराहारीमा पुग्ने देखिएको छ । यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । यी तीन जना कलाकारको लागि नै सुवासले ५० लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छन् ।

हालै मात्र एक चलचित्रमा २ दिनको अतिथि भूमिका निर्वाह गरेकी एक नायिकाले २ लाख रुपैयाँ पारिश्रमिक मागेको चर्चा भयो । कारण, उनले म्यूजिक भिडियोमा आफूले दैनिक १ लाख लिएर काम गरेको बताइन् । निर्माताले उनलाई दिनको ८० हजार रुपैयाँ तिरेर २ दिन काम गराए । चलचित्रका लागि प्रि–पोडक्सन र मेकिङमा महंगो खर्च गर्नुपर्ने हुन्छ । तर, नेपालमा कलाकारको पारिश्रमिकमै करोड खर्च हुन थालेपछि लगानी गर्ने वातावरण हराउँदै गएको निर्माताहरु बताउँछन् ।

एक त चलचित्रका लागि कलाकार नै पाउन गाह्रो, अर्कोतिर कलाकार छनोट भइसकेपछि पारिश्रमिक निकै महंगो । निर्माताका लागि चलचित्र निर्माण फलामको चिउरासरह भएको छ । लकडाउनपछि निर्माण हुन लागेका धेरै चलचित्र निर्माताले नयाँ कलाकार खोज्नुको एउटा कारण यो पनि हो । म्यूजिक भिडियोमा काम गर्न थालेपछि चलचित्रका कलाकारले महंगो पारिश्रमिक माग गर्न थालेको गुनासो निर्माताहरुको छ ।

चलचित्र ‘नाई नभन्नु ल ६’का लागि एक जना नायिकालाई अफर गयो । तर, उनको कुरा सुनेपछि निर्देशक विकासराज आचार्य नयाँ अनुहार नै खोज्ने मुडमा पुगेका छन् । म्यूजिक भिडियोमा पनि भर्खरै चल्दै गरेकी नायिकाले हिट सिरिजका लागि थुप्रै प्रश्न गरेपछि विकास अचम्ममा परेका हुन् । चलचित्र निर्माण सहज छैन । दीपकराज गिरी र उनको टिम बाहेक अरु कलाकारहरु नाफाको शेयरमा काम गर्दैनन् । यसैले, पनि चलचित्र घाटामा गएपनि निर्माताले नै टाउको समात्नुपर्ने अवस्था छ ।

दुखको कुरा त के छ भने, नेपालका अधिकांश कलाकारमा हलसम्म दर्शक तान्ने स्टारडम छैन । केही अनुहारलाई छाड्ने हो भने, अधिकांश कलाकार हलमा बिक्दैनन् । तर, म्यूजिक भिडियोमा आउने भ्यूज र चर्चाको आधारमा नै उनीहरु चलचित्रको पारिश्रमिक तय गर्छन् र बार्गेनिङ गर्न थालेका छन् । चलचित्र ‘सेल्फी किङ’मा एउटा संवाद छ, ‘स्टारडम भनेको मुतको न्यानो मात्र हो ।’ कलाकारले यो कुरा नबुझ्ने हो भने अहिले त निर्मातालाई चलचित्र बनाउन समस्या पर्न सक्छ, तर यसले कलाकारलाई नै दिर्घकालीन रुपमा असर पु¥याउँछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes