काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे । सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो । बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्दा निशान सुनारले एक गोल फर्काए । एन्फा कम्प्लेक्स सातदोबाटोमा १९ औं मिनेटमा अशिमको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा अमृतले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सातदोबाटोले २–० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोको अग्रता तेब्बर बनाए । खेलको ६३ औं मिनेटमा दिनेशले गोल गर्दा सातदोबाटो ४–० ले अघि रह्यो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा बाँसबारीका निशानले एक गोल फर्काएपनि सातदोबाटोले ४–१ को सहज जित निकाल्यो । जितसँगै सातदोबाटोले उपाधि होड बलियो बनाएको छ । सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ । बाँसबारीले ९ खेलमा १८ अंक जोडेको छ । बाँसबारी तेस्रो स्थानमा रहेको छ ।.



