काठमाडौं । उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
प्रतियोगिताकै कमजोर टिम चौदण्डीविरुद्ध आर्मीले १९ औं मिनेटमा रश्मीको गोलबाट अग्रता बनाएको थियो । रश्मीले चौदण्डीकी गोलरक्षक दिलशिखा विश्वकर्मासँगको वान भर्सेस वानमा गोल गरिन् । खेलको २३ औं मिनेटमा शर्मिलाको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । शर्मिलाले बिमला चौधरीको पास सदुपयोग गरिन् । ४० औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी पहिलो हाफमा ३–० ले अघि रह्यो । शर्मिलाले चौदण्डीको डिफेण्डर र गोलरक्षकबीचको तालमेल नमिलेको फाईदा उठाईन् ।
दोस्रो हाफमा आर्मीले थप ६ गोल गर्यो । खेलको ५२ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गर्दै आर्मीलाई ४–० को अग्रता दिलाईन् । खेलको ६० औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गर्दा आर्मी ५–० ले अघि रह्यो ।रश्मीले खेलको ६३ औं व्यक्तिगत चौंथो गोल गर्दा आर्मीको अग्रता ६–० को बन्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी भुजुङ्गाले फ्रिकिकबाट ७८ औं मिनेटमा गोल गर्दै आर्मीलाई ७–० को अग्रता दिलाईन् । खेलको ८८ औं मिनेटमा अन्जलीले गोल गर्दा आर्मी ८–० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा चौदण्डीकी विदेशी खेलाडी एमित लेप्चाले आत्मघाती गोल गरेपछि आर्मीले ९–० को सहज जित निकालेको हो । आर्मीविरुद्ध चौदण्डीले ४ विदेशी खेलाडीलाई मैदान उतारेको थियो । चौदण्डीले भारत सिक्किमका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो । जितसंगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ । चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।