काठमाडौं । म्यानमारको पछिल्लो राजनितिक घटनाक्रमका विषयमा सुरक्षा परिषद् बैठक बसेको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीसहित पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले माग गरेको छ ।
परिषद्का सबै सदस्य मुलुकहरु म्यानमारमा प्रजातान्त्रिक परिवर्तनको पक्षमा रहेको विज्ञप्तिमा जनाइएको छ । यसका साथै प्रजातान्त्रिक संस्थाहरु पुनःस्थापना गर्र्न, हिंसालाई प्रश्रय नदिन र पूर्णरुपमा मानव अधिकारको सम्मान गर्न परिषद्का सदस्यहरुले माग गरेका छन् ।
यसअघि मंगलबार भएको बैठकमा चीनले परिषद्ले जारी गर्न लागेको वक्तव्य रोकेको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यसअघि नै म्यानमारको सेनाले गरेको कू पूर्णरुपमा अस्वीकार्य रहेको बताइसक्नुभएको छ । उनले राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर म्यानमारको कू असफल गराउन सहयोग गर्ने बताउनु भएको थियो । गत सोमबार म्यानमारको सेनाले शक्ति आफ्नो हातमा लिँदै प्रजातन्त्र पक्षधर नेताहरुलाई पक्राउ गरेको थियो । (एजेन्सी)