काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल माघ ७ गतेबाट सुरुहुनेभएको हो । उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा आर्मी र पुलिस भिड्ने भएका हुन् ।
उद्घाटन खेल माघ ७ गते दशरथ रंगशालामा हुनेछ । अन्य खेलहरु भने एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । माघ ७ गतेबाट सुरु हुने महिला लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्न पाउने भएका छन् । महिला लिगमा तीन विभागीय सहित जिल्ला तथा नगरबाट छनोट भएका ४ टिम गरि ७ टिमले प्रतिस्पर्धा गर्ने छन् । लिगमा आर्मी, पुलिस र एपीएफसहित चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगर नगरपालिकाले प्रतिस्पर्धा गर्ने छन् ।
यस पटक सहभागी हरेक टिमले चार विदेशी खेलाडी टिममा राख्न र खेलाउन पाउने छन् । एन्फाले पहिलो पटक महिला लिगमा समेत विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेको हो । प्रतियोगिताको विजेताले नगद १५ लाख सहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक टोलीले तयारी स्वरुप १ लाख र कोभिडको राहत स्वरुप ५० हजार गरि डेढ लाख रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।