मोरङ । गत वर्ष कोरोनाका कारण संचालन हुन नसकेको सहिद स्मारक ‘सी’ डिभिजन लिग चैत १ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैतको सुरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने सहमति गरेको हो। गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन कोरोनाका कारण स्थगित भएको थियो।
एन्फाले सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउने भएको छ। तयारी खर्चबाट ७ लाख रुपैया पाउँदै आएका क्लबले अब ९ लाख रुपैयाँ पाउने भएका छन्। छलफलको दौरान एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमा समेत जानकारी गराएको थियो। छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर, लिग कमिटी संयोजक विज्ञानराज शर्मा र एन्फाका अधिकारीहरु उपस्थित थिए।
एन्फाले बुधबार मात्र सहिद स्मारक ‘बी’ डिभिजन लिग फागुन ११ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले अंक कटौती प्रणालीलाई जारी राख्ने निर्णय गरेको छ।