नवौं राष्ट्रिय खेलकुद अन्योलमा - Pahilo Online

नवौं राष्ट्रिय खेलकुद अन्योलमा

‘पर्ख र हेर’को अवस्थामा सरकार

writer

काठमाडौं । पूर्व निर्धारित घोषणा अनुसार घरेलु खेलकुद नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्नुपर्ने हो । तर मंसिरको दोस्रो साता बितिसक्दा समेत राष्ट्रिय खेलकुदको कुनै सुरसार छैन । कोभिड–१९ (कोरोना महामारी)का कारण चैतदेखि घरेलु खेलकुद ठप्प हुन पुग्यो । मंसिर दोस्रो सातासम्म आईपुग्दा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान)ले मात्र राष्ट्रिय टिमलाई चलायमान गराउन पहल गरेका छन् । अन्य अधिकांश खेलकुद संघ कोरोनालाई कारण देखाउँदै गतिहिन छन् ।

सरकारले खेलकुदका प्रशिक्षण र प्रतियोगितालाई अघि बढाउन अनुमती प्रदान गरिसकेको छ । तर खेलकुद संघहरु खेलाडीको सामान्य प्रशिक्षण समेत अघि बढाउन सकेका छैनन् । खेलकुद मन्त्रालय र राखेपले समेत यसमा आवश्यक पहलकदमी लिएको छैन ।

दुई वर्ष अघि नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापन समारोह अघि नवौंको विषयमा निर्णय गरिएको थियो । कार्यवहाक अध्यक्षको हैसियतमा उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।

बैठकले प्रतियोगिताको मिति समेत टुङ्गो लगाएको थियो, २०७७ फागुन २१ देखि २८ सम्म । प्रतियोगिताको निर्धारित मिति आउन झण्डै तीन महिना मात्र बाँकी छ । तर कोरोनाको कारण देखाउँदै खेलकुद संघले खेलाडीको सामान्य प्रशिक्षण समेत अघि बढाउन सकेका छैनन् ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल नवौं राष्ट्रिय खेलकुदको विषयमा आफुहरु पर्ख र हेरको रणनीतिमा रहेको बताए । उनले राष्ट्रिय प्रतियोगिताको तयारीका लागि कम्तिमा तीन महिना आवश्यक पर्ने बताए ।

‘सुरुवाती १५ दिन स्थानीय तहमा प्रशिक्षण गर्ने र छनोट गर्ने, एक महिना जिल्ला तहमा प्रशिक्षण गर्ने र छनोट गर्ने, कम्तीमा एक महिना प्रदेश स्तरमा प्रशिक्षण गर्ने र त्यसपछि मात्र राष्ट्रिय खेलकुद आयोजना गर्ने हामीले भनेका छौ ।’ आईतबार एक पत्रकार सम्मेलनमा उनले भने ।

उनले खेलाउन र खेले भन्नका लागि मात्र राष्ट्रिय खेलकुद गर्न नहुनेमा जोड दिए । सदस्य सचिव सिलवालले पूर्वाधारका कारण नवौं नरोकिने स्पष्ट पार्दै स्विमिङ र सुटिङको समेत वैकल्पिक व्यवस्था गर्न सकिने उल्लेख गरे । ‘पूर्वाधारणले नवौं रोकिदैन । पोखरामा दुई पूर्वाधारको मात्र अभाव छ । स्विमिङ पुल टेन्डर गर्ने प्रक्रियामा छौ । तर पोखरामा अन्तराष्ट्रिय स्तरको स्विमिङ पुलको समस्या छैन ।’ सदस्य सचिव सिलवालले भने, ‘सुटिङ रेन्ज पोखरामा छ । तर त्यहाँ गर्ने कि नगर्ने भन्ने प्रश्न छ । प्राविधिक टोलीको सुझाव अनुसार अघि बढ्न पर्छ ।’

सिलवालले नवौं राष्ट्रिय खेलकुद सरकारका कारण नरोकिने प्रष्ट पार्दै कोभिडले मात्र यसलाई प्रभावित पार्न सक्ने बताए । ‘अब साता, १० दिनमा कोभिडको अवस्था सहज स्थितीमा गयो भने तोकिएको मितिमा गर्छौ । सहज अवस्थामा गएन भने कोभिडका कारण सर्न सक्छ ।’ उनले भने ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद २०७७ सालसम्म आईपुग्दा आठौं संस्करणमात्र सम्पन्न भएको छ । कोभिडका कारण यस वर्षसमेत राष्ट्रिय खेलकुद नहुने सम्भावना बढेको देखिन्छ ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालमा दुई राष्ट्रिय खेलकुद नियमित रुपमा आयोजना गर्न सफल भए । उनले ७३ सालमा पुर्वाञ्चल र ७५ सालमा मध्यपश्चिमाञ्चल (हालको लुम्बिनी प्रदेश) मा क्रमश राष्ट्रिय प्रतियोगिता नियमित गरेर प्रशंसा कमाएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes