त्रिविको रोकिएको परीक्षा छठपछि सञ्चालन गरीने, अवस्था जटिल भएमा परीक्षा नहुन पनि सक्ने - Pahilo Online

त्रिविको रोकिएको परीक्षा छठपछि सञ्चालन गरीने, अवस्था जटिल भएमा परीक्षा नहुन पनि सक्ने

writer

मोरङ । कोरोना भाइरस(कोभिड–१९) का कारण रोकिएको त्रिभुवन विश्वविद्यालको परीक्षाहरु छठपछि सञ्चालन गर्ने निर्णय भएको छ । परीक्षा सञ्चालनका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय पनि भइसकेको त्रिविले जनाएको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोनाका कारण त्रिविले पूर्व निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सकेको थिएन ।

पछिल्लो समय भदौको दोस्रो हप्तादेखि परीक्षा सुरु गरी दशैँअघि नै स्थगित सबै सेमेस्टरको परीक्षा गर्ने तयारी थियो । तर हुन सकेन । त्रिविका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा गएको चैत ७ गतेदेखि स्थगित छन् ।

फारम भरिसकेकाको परीक्षा पहिले हुने 

छठपछि परीक्षा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउनुहुन्छ । छठलगत्तै परीक्षा गर्नका लागि दशैँअघि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्राचार गरिसकेको उनले बताए । सम्बन्धित कार्यालयले पनि आवश्यक तयारी थालिसकेको उनको भनाइ छ । घर पायक पर्ने ठाउँमा नै परीक्षा दिन पाउने व्यवस्था गरिएकाले भर्चुअल माध्यमबाट परीक्षा नहुने भएको छ । परीक्षा नियन्त्रक जोशी भन्नुहुन्छ, ‘भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिन भनेको छौँ ।’

आवश्यक सुरक्षा सावधानी अपनाएर परीक्षा लिने तयारी भएको उनको भनाइ छ । उनले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अरु परीक्षा सञ्चालन गरिने बताए । कोरोनाका कारण कतिपय विश्वविद्यालयले भने खुला किताब अर्थात् ओपन बुक गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन् । आउँदो माघ महिनासम्म सबै परीक्षा सकेर फागुन र चैतमहिनादेखि पढाइ सुरु गर्ने तयारी भएको छ ।

अवस्था जटिल भएमा परीक्षा नहुन पनि सक्छ
बजारमा चहलपहल बढे पनि कोरोनाको जोखिम कम हुन सकेको छैन । दशैँ तिहार जस्ता चाडपर्व नजिकिएको बेला झनै मानिसको जमघट धेरै हुने भएकाले कोरोनाको जोखिम बढ्न सक्छ । अथवा अवस्था जटिल हुन पनि सक्छ । अवस्था एकदमै जटिल भयो भने परीक्षा गर्नका लागि सोच्नु पर्ने अवस्था आउनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितको संख्या भएमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

फेरि पनि लकडाउन भयो भने भने विज्ञसँग छलफल गरेर कसरी परीक्षा सञ्चालन गर्ने, कुन विधि अपनाउने भनेर निर्णय हुने कार्यालयका नियन्त्रक जोशीले बताए। तर स्थिति अहिलेको जस्तै भएमा भने परीक्षा सञ्चालन हुनेछन् । यस्तै अवस्थामा भने विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा अर्थात् सबैभन्दा नजिकको केन्द्रबाट परीक्षा दिन पाउने भएकाले भौतिक दूरी कायम गरेर, मास्क लगाएर, स्यानिटाइजरको प्रयोग गरेर सावधानीपूर्वक परीक्षा दिन सक्नेछन् ।

‘रोकिएका परीक्षा सञ्चालन हुनु राम्रो, तर परीक्षा लिने तरिका गलत’
रोकिएका परीक्षा छठपछि सञ्चालनको तयारी हुनु सकारात्मक भएको शिक्षाविद् डाक्टर विद्यानाथ कोइराला बताउछन्। परीक्षा लिने प्रणाली जीवनमुखी भन्दा पनि किताबमुखी भएकाले यति लामो समयसम्म विद्यार्थी अन्योलमा बस्नुपरेको उनको भनाइ छ । उनी भन्छन् ‘हामीले जीवनमुखी परीक्षा प्रणाली अपनाएको भए योभन्दा अगाडि नै परीक्षाहरु सञ्चालन गर्न सकिन्थ्यो ।’ त्रिभुवन विश्वविद्यालय परम्परागत सोचभन्दा बाहिर जान नसकेकाले समस्या भएको उहाँको भनाइ छ । डाक्टर कोइरालाका अनुसार अहिलेको परिस्थिति अनुसारकै प्रश्नपत्र बनाएर परीक्षा लिनुपर्थ्यो ।

उदाहरणका लागि अनलाइनबाट कक्षा लिएकाहरुलाई त्यही खालका प्रश्न, अफलाइनमा बसेर पढेकालाई त्यही खालको प्रश्न सोध्न सकिन्थ्यो । अर्को उपाय भनेको एउटै विषयको प्रश्न सोध्ने तर केही दिनको समय दिने, अनि विद्यार्थीलाई उत्तर जसरी खोजे पनि हुन्छ भनेर खोज्न लगाउने, पढ्न लगाउने र विश्लेषण गरेर लेख्न लगाएर पनि मूल्याङकन गर्न सकिने उनले बताए। ‘परीक्षा लिने हजारौँ विकल्प हुन सक्थे, तर परीक्षालाई विश्वविद्यालयले जीवन उपयोगी बनाउन सकेन’ उनी भन्छन् । परीक्षा लिने काम परीक्षा नियन्त्रण कार्यालयको मात्रै हो भन्ने सोचले समस्या निम्तिएको डाक्टर कोइराला बताए ।

‘परीक्षा लिने जिम्मा क्याम्पसका प्राध्यापकलाई दिनुपथ्र्यो । त्यसो गरिएको भए विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था आउने थिएन ।’ कोरोनाले दिएको अवसर र चुनौती दुबैको सामना गर्दै वैकल्पिक माध्यमबाट परीक्षा गर्नु नै उपयुक्त हुने उनको भनाइ छ । विश्वविद्यालय अनुदान आयोगको निर्देशिकामा विश्वविद्यालयले कोरोनाका कारण सिर्जना भएको परिस्थितिलाई सम्बोधन गर्न गरेको तयारी स्तर, परीक्षार्थीको आवासीय स्थिति र स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने भन्ने उल्लेख छ । यस्तै सुरक्षा मापदण्ड अनुसरण गरी भौतिक दूरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने, अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भएसम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षाहरू सञ्चालन गर्नु पर्ने भनिएको छ ।

प्रचलित परम्परागत परीक्षा प्रणाली सम्भव नभए विश्वविद्यालयको सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा मापदण्ड अपनाएर सम्बन्धित उच्च शैक्षिक संस्थामा नै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा अनुसरण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने, विश्वविद्यालयले स्तर, डिग्री र सञ्चालित कोर्सको प्रकृतिका आधारमा विभिन्न विधिहरूका लागि उपयुक्त भार सहितको परीक्षा व्यवस्था गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यसरी परीक्षाको व्यवस्था गर्दा खुला पुस्तक परीक्षा, खुल्ला विकल्प, गृहकार्य वा कक्षा कार्य, प्रस्तुतिकरणहरू, अनलाइन लिन मिल्ने परीक्षाहरू समयसीमा दिएर घरमै उत्तर लेख्ने, अनलाइन आदिलाई विकल्पहरूको रुपमा लिएर परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ ।  त्रिभुवन विश्वविद्यालयले गठन गरेको विज्ञ समितिले पनि त्यही व्यवस्था अनुसार परीक्षा सञ्चालन गर्न सुझाव दिएको थियो । (उज्यालो अनलाइनबाट)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes