काठमाण्डौ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउन लागेकाले शुक्रबार रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्दा खण्ड वृष्टि सक्ने महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए । उनका अनुसार अहिले देशका केही ठाउँको मौसम खुलेको भए पनि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । अहिले खुलेको ठाउँको मौसम पनि बिस्तारै बादल लागेर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनले बताए ।
वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पनि पर्ने सम्भावना रहेको उनको भनाइ छ । यस्तै राति प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् अर्यालले बताए । उनका अनुसार आजको भन्दा भोलि देशका धेरै ठाउँमा पानी पर्ने संभावना छ । केही दिनयता कम पानी पर्दा गर्मी भने बढेको छ । काठमाण्डौमा हिजोको तापक्रम ३१ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । यसैबीच कास्कीको लुम्ले ठूलो पानी परेको र अझै पानी परिरहेकाले एक्कासी बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले कमजोर र भिरालो जमिन आसपास पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म नै सावधानी अपनाउन आग्रह पनि गरेको छ । यसैगरी आज बर्दिया, कैलाली, कन्चनपुरका केही ठाउँमा राति ठूलो पानी परेको र अझै पानी पर्ने भएकाले कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र साना खोलामा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुनसक्ने भएकाले सतर्क हुन महाशाखाले अनुरोध गरेको छ ।