गाइभैँसीमा लम्पी स्किनको महामारी - Pahilo Online

गाइभैँसीमा लम्पी स्किनको महामारी

लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने

writer

काठमाण्डौ । मान्छेमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला गाईभैँसीमा लम्पी स्किन महामारीको देखिएको छ । यो रोग नेपालमा पहिलो पटक देखिएको हो । पूर्वी जिल्लामा देखिएको लम्पी स्किनका बारेमा सम्बन्धित मन्त्रालय र पशुसेवा विभागले चासो देखाएर सजग रहन आग्रह गरेका छन् । यो रोग लागेको दुधालु पशुहरुको ८० प्रतिशत दूध नष्ट हुने भएकाले दूध उत्पादनमा लागेका किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने सम्भावना भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । विशेषगरी गाईहरुमा र कहिलेकाँही भैँसीमासमेत देखिने यो रोग अहिलेसम्म मोरङ, चितवन र मकवानपुरका ३४ वटा नमुना परीक्षण गर्दा सबैमा पोजेटिभ भएको पाइएको छ ।

ती ठाउँका १ हजार ५ सय गाईहरुमा यो रोग भेटिएको छ । अहिलेसम्म १२ वटा गाईहरु यो रोगबाट मरेका पुष्टि भएको छ । देशका अरु ठाउँमा पनि यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका खबर आएको कृषि विभागका महानिर्देशक डा वंशी शर्माले जानकारी दिनुभयो । घाँटी, पुच्छर वरिपरिको भाग, पेट थुन लगायतका शरीरका विभिन्न भागहरुमा गिर्खा देखिने, कचेरा आउने, सिँगान बग्ने, मुखबाट धेरै फिँज निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने यो रोगका लक्ष्यण हुन् ।

यो रोग लागेपछि ४५ प्रतिशत गाइभैँसी बिरामी पर्ने हुन्छन् भने मृत्युदर १० प्रतिशत हुने गरेको छ । यो रोग मुख्यतया लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्छ । योबाहेक गाइभैँसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाइभैँसीको उपचारका क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्छ ।

यस्तै संक्रमित गाईभैँसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमासमेत सर्ने गर्छ । यो रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहअनुसार लक्षण अनुसारको उपचार गर्नुपर्छ । यो रोग विरुद्ध नेपालमा अहिलेसम्म खोप उपलब्ध छैन । रोग देखिएको ठाउँबाट गाईभैँसी ओसारपसार नियन्त्रण गर्नु, गोठ वरिपरिको वातावरण सफा राख्नु, नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डा शर्माले बताउनुभयो । विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ मा दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्तिमतिर भारतमा समेत देखापरेको थियो । तर नेपालमा भने असारको अन्तिमतिरबाट देखिन थालेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes