लकडाउन हटेपछि धरहरा पुनर्निर्माणको काम धमाधम, ११ औँ तलाको ढलान हुँदै - Pahilo Online

लकडाउन हटेपछि धरहरा पुनर्निर्माणको काम धमाधम, ११ औँ तलाको ढलान हुँदै

writer

काठमाण्डौ । लकडाउन हटेपछि धरहरा पुनर्निर्माणको काम धमाधम भइरहेको छ । धरहराको ११ औँ तलाको काम बुधबार सकिने भएको छ । अघिल्लो हप्तादेखि सुरु भएको ११ औँ तलाको बुधबार ढलानको काम हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरकाअनुसार धरहरामा टावर निर्माणको काममध्ये आधा सकिएको छ । ‘धरहराको टावरमा अब आधा काम सकियो’ उनले भने, ‘धरहरा पुनर्निर्माणको समग्र कामको अहिलेसम्मको प्रगति भने ४० प्रतिशत भएको छ ।’

अहिले झण्डै २ सय ६० जना कामदार खटिएका छन् । सरकारले गएको ६ गते रातिदेखि लकडाउन हटाएसँगै धरहराको काम लकडाउनअघिकै अवस्थामा सुरु भएको हो । सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरेसँगै धरहराको पुनर्निर्माणमा खटिएका कामदार पनि घर गएका थिए ।

तर काठमाण्डौ उपत्यकामा लकडाउन खुकुलो भएपछि असार ३० गते कामदारलाई ल्याइएको थियो । उनीहरुलाई एक हप्ता क्वरेण्टीनमा राखेर कोरोना परीक्षण गरी फेरि काममा खटाइएको हो । पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि काममा लगाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहराको पुनर्निर्माण हेर्दै आएका सम्पदा विज्ञ मानन्धरले बताए ।

‘लकडाउनपछि धरहराको धमाधम काम भैरहेको छ’ उनले भने ‘२२ तले धरहरामा ११ तला सकिएसँगै टावरमा आधा काम सकियो ।’ उनका अनुसार टावर पुनर्निर्माणले गति लिएसँगै भूकम्प सङ्ग्रहालयको काम पनि सुरु हुनेछ । भित्रबाट २२ तला हुने धरहरा बाहिरबाट भने बेसमेन्टसहित ११ तलाको हुनेछ ।

धरहराको विगत अवस्था

भूकम्प गएको तीन वर्षेपछि धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो । धरहरामा झण्डै तीन अर्ब ४८ करोड रुपैयाँ खर्च हुनेछ । झण्डै ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको नयाँ धरहरा पहिलाको धरहराभन्दा चौडा हुनेछ । पुरानो धरहरा झण्डै साढे ४ रोपनी क्षेत्रफलमा थियो । धरहरामा दुई वटा लिफ्ट पनि हुनेछ ।

एउटा भ¥याङ पनि रहनेछ । लिफ्ट र भ¥याङबाट धरहरा चढ्न सकिनेछ । नयाँ धरहरामा पार्किङ, बगैँचा, सङ्ग्रहालय, प्रदर्शनी हललगायत बनाइनेछ । १८ औं तलामा सानो हल हुनेछ । यो हलमा भूकम्पसम्बन्धी सामग्रीको भिडियो हेर्न पाइनेछ । यी सबै काम पुनर्निर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्म सक्ने लक्ष्य राखेको छ । ऐतिहासिक धरहरा भीमसेन थापाले निर्माण गरेका थिए । पुरानो धरहराको ठुटोलाई नचलाइकन संरक्षण गरिएको छ । धरहरा क्षेत्रमा पर्ने टक्सार तथा गोश्वारा हुलाकलाई हटाइसकिएको छ ।

सफल हुन नसकेको ‘म बनाउँछु मेरो धरहरा अभियान’
पहिलोपटक सरकारको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बनाउँछु मेरो धरहरा अभियान’ सुरु गरे पनि अभियान सफल हुन सकेन । २०७२ सालमा भूकम्पले ढलेको धरहरा बनाउन १० महिनापछि अभियान सुरु गरिएको थियो ।
त्यसपछि २०७३ पुस २१ गते सरकारले धरहरा बनाउन नेपाल टेलिकमलाई जिम्मा दिने निर्णय गर्यो । तर टेलिकमले पनि झण्डै १० महिनापछि २०७४ असोजमा धरहराबाट हात झिक्यो । अनि पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कसले नेतृत्व लिने भन्ने निर्णय गर्न नै समय लाग्यो ।

विवादपछि अघिल्लो वर्षको असोजमा प्राधिकरण आफैँले काम सुरु गरी ठेक्का लगाएको हो । अघिल्लो वर्ष पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास गर्नुभएको थियो । बन्दै गरेको धरहरामा इँट्टा थपेर प्रधानमन्त्री ओलीले शिलान्यास गरेपछि धरहराको काम अगाडि बढेको हो ।

प्रधानमन्त्रीको घोषणा र निर्देशनअनुसार नै अहिले धरहरा बनिरहेको सम्पदा विज्ञ मानन्धरले बताए । धरहराको टुप्पोबाट पुरै काठमाण्डौ उपत्यकाको अवलोकन गर्न सकिनेछ । जमिनमूनी तीनवटा तलामा पार्किङको व्यवस्था हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes